चैत्र ३० गतेदेखि शुरु भएको दोस्रो हिले खाना महोत्सवमा आयोजित साँस्कृतिक कार्यक्रममा पूर्वेली लोकगायक शम्भु राईले आफ्ना चर्चित गीतहरू सुनाएर स्थानीयलाई छमछमी नचाए ।
 
राईले ‘घर त हिले हो’ बोलको गीत गाउँदा उनका छिमेकी र दौंतरीहरू अगाडि सरेर छमछमी नाचे । राईको जन्मघर धनकुटाको चुङ्वाङ हो, हिले उनको बाल्यकाल र युवा अवस्थामा हटिया भर्ने ठाउँ भएर पनि होला उनले घर त हिले हो बोलको गीतबाट उनले आफ्नो साङ्गीतिक कोसेली पस्किए ।
 
हिले दोस्रो खाना महोत्सव आयोजक हिले पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास संस्थाले तोङ्वा चोक नजिकैको बसपार्कमा व्यवस्थापन गरेको महोत्सवस्थलमा हजारौं दर्शक खचाखच थिए । 
 
राईले ‘आलुदम चाना’, ‘यो माया त कहाँको’, ‘मार्यो नि मायाले’ लगायत डेढ दर्जनभन्दा बढी गीत गाउँदा हजारौं धनकुटेली दर्शकहरूले नाचेर साथ दिए । महोत्सव बुधबार सम्पन्न भएको छ ।