धरान । माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका छात्राहरूको व्यक्तित्व विकास गर्ने उद्देश्यले सन् २०१४ देखि प्रारम्भ भएको टेष्टी–टेष्टी मिस एसईईको छैठौं संस्करण शुरु हुँदै छ ।

आयोजक धरान जेसीजले छैठौं संस्करणका लागि बैसाख ८ गते अडिसन लिँदै छ । अडिसनबाट ३० जनालाई अन्तिम छनौट गरी उनीहरूलाई विभिन्न प्रकारका तालिम प्रदान गर्ने बिहीबार धरानको पत्रकार सम्मेलनमा जनाइयो । अन्तिम छनौटमा परेकाहरूलाई ¥यामवक÷क्याटवक, उद्घोषणकला, प्रभावकारी भाषणकला, लाइफस्किल, बेसिक मेकअप, डाइनिङ इटिकेट, विपद् व्यवस्थापन, प्राथमिक उपचार कोर्ष, आधारभूत पत्रकारिता तालिम, उत्प्रेरणा, महिला अधिकार, महिला स्वास्थ्य चेतनालगायतका तालिम प्रदान गरिने मिडिया संयोजक सञ्जु राईले बताइन् ।

त्यसबाहेक फोटोसेसन, औद्योगिक क्षेत्र भ्रमण, शैक्षिक प्रतिष्ठान भ्रमण, पर्यटन प्रवद्र्धनलगायतका कार्यक्रम छन् । विजेताले नगद ४० हजार रुपैयासहित प्लस टुसम्मको पूर्ण छात्रवृति प्राप्त गर्ने छ । त्यस्तै फस्ट रनरअपले नगद ३५ हजार रुपैयाँ र सेकेण्ड रनरअपले नगद ३० हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गर्ने छन् ।

व्यक्तिगत तर्फ मिस ट्यालेन्ट, मिस व्युटिफूल, मिस फ्रेण्डसिप, मिस क्याटवक, मिस फोटोजेनिक, मिस डिसिप्लिन, मिस वेष्ट ड्रेसअप, मिस पर्सनालिटी, मिस पपुलर, मिस एक्टिभ प्रदान गरिँदै छ । टप १० मा पर्न सफल सहभागीले ५० प्रतिशत छुटमा प्लस टु अध्ययन गर्न पाउने छन् । विजेताले नेपाल जेसीजको आयोजनामा हुने ‘मिस टिन’ मा सहभागी हुन पाउने क्रिएटिभ डाइरेक्टर मानभगत चाम्लिङले बताए ।

सहभागीलाई बैसाख १२ गतेबाट तालिम प्रदान गरिँदै छ भने जेठ ४ गते फाइलन गरिने अध्यक्ष मनिष शाहीले बताए । कार्यक्रमको मुख्य प्रायोजकका रूपमा क्वालिटी फुड्स एण्ड डाइट प्रालिद्वारा उत्पादित ‘टेष्टी–टेष्टी बिस्कुट’ रहेको छ । सन् २०१४ मा रिया बजाजले पहिलो पटक मिस एसईईको ताज पहिरिएकी थिइन् । त्यसयता एलिसा राई, प्रमु गुरुङ, निसाम लिम्बू र नवीना मगरातीले ताज जितेका थिए ।