विराटनगर /  भ्रष्टाचार विरोधी छवि बनाएका श्रम तथा रोजगार कार्यालय विराटनगरका बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले शुक्रबार आफूविरुद्ध परेको भ्रष्टाचारको उजुरीमा अख्तियारले पत्र काटेर बोलाएपछि बयान दिने भएका छन् ।

विराटनगरमा रहेको क्षेत्रीय निर्वाचन कार्यालयको प्रमुख हुँदा २०७३ साल फागुन १७ गतेदेखि चैत २३ गतेसम्म हाजिरी नै नगरी तलब भत्ता बुझेको भन्दै संजेल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । उजुरी परे पछि तीन दिनभित्र अख्तियारको सम्पत्ति अनुसन्धान तथा मूल्यांकन महाशाखामा उपस्थित हुन पत्र संजेलले प्राप्त गरेका छन् । पत्र प्राप्त गरेपछि बिहीबार संचारकर्मीहरू कुराकानी गर्दै उनले आफू छाती ठूलो बनाएर अख्तियारमा बयान दिन जाने बताए । ‘शुक्रबार अख्यितार बयान दिन जाँदैछु,’ संजेलले भने, ‘मैले सर्वोच्च अदालतको आदेश अनुसार सो अवधीको तलबभत्ता बुझेको हुँ ।’

आफू भ्रष्टाचारी भएको ठहर भए टुँडिखेलमा झुण्ड्याएर मार्नु भन्दै संजेलले कोही कसैले उजुरी हाल्दैमा आफूलाई कुनै फरक नपर्ने बताए । आफूले बुझेको तलब भत्ताको विषयमा आन्तरिक लेखा परीक्षण र महालेखा परीक्षणमा पनि अदालतको आदेश अनुसार भएको विषय प्रमाणित भएको उनको दाबी छ ।