विराटनगर /  रोजगारको लागि दुबई गएका मोरङको सुन्दरहरैचना नगरपालिका – ५ लाटीझोडाका दुई जना युवालाई नांगै बनाई त्यहाँको कम्पनीले यातना दिने गरिएको पाइएको छ ।
करिब ७ महिना अघि एजेन्ट महेन्द्र तामाङ्गमार्फत काठमाण्डौस्थित ‘बाइटपल म्यानपावर’ ले दुबई पठाएका २१ वर्षीय पुष्पमणी गौतम र २३ वर्षीय रबिन पराजुलीलाई कम्पनीका मान्छे लगाएर दिनहु कुटपिट गरेर शरिर भरि चोटपटक लागेको फोटो र भिडियो ब्लाष्ट खवरले प्राप्त गरेको छ ।
विदेश पठाउने एजेन्ट र म्यानपावरले भने अनुसारको काम र तलब नदिए पछि घर फर्किने भन्दा कम्पनीका मालिकले बन्धक बनाएर कुटपिट गर्ने गरेको पीडितहरुले बताएका छन् ।
छोरा र सालोलाई दुबईमा कम्पनीले यातना दिएको र शरिर भरी निलडाम सहितको फोटो रुदै पठाए पछि पुष्पमणीका बावु भोजराजले छोरालाई स्वदेश झिकाउन र एजेन्ट र म्यानवारलाई कारवाही गर्न माग राख्दै विराटनगरस्थित श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दिए ।
‘छोरा र सालोलाई अहिले शरिरको कपडा खोलेर नांगै बनाएर कुटुपिट गरेको रुदै फोन गरेर सुनाउने गरेको छ,’ श्रम कार्यालयमा आएका पुष्पमणीका बावु भोजराजले भने, ‘नेपालमा भनेजस्तो काम नपाएर घर फर्किने भन्दा कम्पनीको मान्छे लगाएर रात दिनहु कुटपिट गर्ने गरेको छन् । छोराले रुदै भनेका अनुसार चैत १५ गतेदेखि कोठामा बन्दक बनाएर कुटपिट गर्दै आएका छन् ।’ कसरी हुन्छ छोरालाई सकुसल स्वदेश फर्काउन उनले सार्वजानिक रुपमा अपिल पनि गरेका छन् । भोजराजले छोरा र सालोलाई स्वदेश जिकाउन विदेश पठाउने म्यानपावर र एजेन्टलाई विन्ती गर्दा पनि कुनै चासो नदेखाएपछि श्रम तथा रोजगार कार्यालयमा चैत २० गते उजुरी गरेको उनले बताए ।
गौतम र पराजुलीलाई विदेश पठाउने एजेन्टको काम गर्ने मोरङका सुन्दरहैराका घर भइ इटहरीमा बसोबास गर्दै आएका महेन्द्र तामाङ्ग पक्राउ पछि छुटेका छन् । श्रम तथा रोजगार कार्यालय विराटनगरले तामाङ्गलाई पक्राउ गर्न इटहरी प्रहरीलाई पत्रचार गरेपछि इलका प्रहरी कार्यालय इटहरीले बिहीबार पक्राउ गरेका थिए । पक्राउ पछि श्रम कार्यालयमा पीडित पक्षलाई विदेश गएको ३ लाख ४० हजार रुपैयाँ दिने सहमति पछि तामाङ छुटेका हुन् ।