जिरोपोइन्ट । सिङ्गिङ प्रतियोगिताको भीडमा ‘स्टेट वान सिङ्गिङ आइडल’ पनि थपिएको छ ।

डमुन इन्टरटेन्मेन्ट धरानले जेठ १८ गतेबाट आइडल शुरु गर्दै छ । प्रतियोगितामा १६ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरूले सहभागिता जनाउन पाउने बिहीबार धरानमा पत्रकार सम्मेलन गरी जनाइयो ।

प्रतियोगिताको धरान, इटहरी, विराटनगर, दमक, विर्तामोड, इलाम, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, खाँदबारी, भोजपुर, खोटाङ र गाईघाट गरी प्रदेश नम्बर १ को १३ वटा स्थानमा अडिसन हुनेछ । अन्तिम अडिसन भने धरानमा असार १४ गते हुने बताइएको छ ।

अडिसनपश्चात् ओपन, रिदम, मेगा, सेमिफाइनल र फाइनल गरी ५ वटा राउण्ड हुने रेडमुन इन्टरटेन्मेन्टका अध्यक्ष रोशन प्रधानले बताए । पहिलो अडिसनबाट १ सय जना ओपन राउन्डका लागि छनौट हुने छन् । ओपनबाट ५० जना रिदमको लागि, रिदमबाट २५ जना मेगाको लागि, मेगाबाट १० जना सेमिफाइनलको लागि र सेमिफाइनलबाट ५ जना फाइनलको लागि छनौट हुनेछन् ।

फाइनल भदौ १४ गते धरानको सभागृहमा हुनेछ । फाइनलबाट विजेताले ४ लाख बराबरको भेस्पा स्कुटर, म्युजिक भिडियो, दोश्रो हुनेले ७० हजारसहित एउटा गीत रेकर्डिङ र तेश्रोले ५० हजारसहित एउटा गीत रेकर्डिङलगायतको सुविधा प्राप्त गर्दै छ ।