सुनसरी/ व्यवसायिक प्रयोजनको लागि उपयुक्त हुने विद्युतीय टेम्पोको इटहरीमा बिक्री शुरु गरिएको छ । बुधबारदेखि इटहरीको धरानलाइनमा विनायक अटो इण्टरप्राइजेजले डेल्टा इको नामको विद्युतीय टेम्पो बिक्री गर्न शुरु गरेको हो । 
 
इन्धन टेम्पोभन्दा फराकिलो र एकै पटकमा ८ जना यात्री बस्न सक्ने गरी तयार गरिएको डेल्टा इको चारवटा रङमा उपलब्ध रहेको छ । राकेश खेतान र प्रदीपकुमार सन्थलियाले सञ्चालनमा ल्याएको सो विद्युतीय अटोको उत्पादन चीनमा भए पनि नेपालमा मोडिफाइ गरेर बिक्री वितरण गरिएको हो ।
 
दुई वर्षको ब्याट्री वारेन्टी भएको डेल्टा इकोमा ७५ प्रतिशत फाइनान्सको सुविधासमेत रहेको छ । एक पटकको फुलचार्जमा १ सय ५० किलोमिटरभन्दा बढी गुड्ने र ब्याट्री लाइफ ३–४ वर्षसम्म तथा प्रतिघण्टा ४० देखि ४५ किलोमिटरको दूरीमा गुड्न सक्ने डेल्टा इको पेट्रोलभन्दा बढी किफायती एवम् अझ धेरै विशेषता भएको इन्टरप्राइजेजकी निध खेतानले जानकारी दिइन् । उनका अनुसार टेम्पो सात लाख ९६ हजार रुपैयाँमा बिक्री गरिनेछ । 
 
इटहरीमा पछिल्लो समयमा साना सवारी साधनको चाप बढेको छ । मागअनुसार सवारी साधन भित्रिँदा चाप बढ्दै गएको हो । तर अझै पनि साना सवारी साधनको सम्भावना बढ्दै गएपछि व्यवसायीहरूले इटहरीलाई नै रोज्ने गरेका छन् ।