पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे २ स्थित लर्ड बुद्ध सहकारी संस्थाले ७० बर्ष माथिका आफ्ना ११ जना ज्येष्ठ सेयर सदस्यहरुलाई ३ महिनाको ज्येष्ठ सदस्य आजीवन भत्ता (पेन्सन) वितरण गरेको छ ।

पेन्सन वितरण कार्यक्रममा उपस्थित ८ जना सदस्यहरुलाई नगदै उपलब्ध गराइएको र विरामी तथा अन्य कारणले उपस्थित हुन नसक्नु भएका ३ जनालाई ज्येष्ठ सदस्य बचत खातामा जम्मा गरिदिएको संस्थाका अध्यक्ष धनराज राई (अमीर)ले जनाए ।

संस्थाले ०७४ बैशाखदेखि प्रारम्भ गरेको पेन्सन कार्यक्रम अन्तरगत ज्येष्ठ सदस्यहरुलाई ०७४ मा मासिक २ सय, ०७५ मा मासिक ४ सयका दरले पेन्सन उपलब्ध गराइएको थियो । ०७६ साल बैशाखदेखि मासिक ६ सयका दरले पेन्सन उपलब्ध गराइने व्यवस्थापन गणेशकुमार राईले उल्लेख गरे ।