बिर्तामोड । मेची भन्सार कार्यालयमा चालु आर्थिक बर्षमा राजस्व संकलनको लक्ष्य पुरा नगर्ने भएको छ । चालु आर्थिक बर्षको ९ महिनामध्ये कुनै महिना पनि लक्ष्य अनुसारको राजस्व संकलन भएको छैन । भन्सारले उपलब्ध गराएको तथ्यांकमा ९ महिनाको अवधिमा ६०.५१ प्रतिशत राजस्व संकलन गरेको पाइएको छ । सरकारले मेची भन्सारलाई आर्थिक वर्ष ०७५÷०७६मा १२ अर्ब, ८२ करोड, ६१ लाख रुपैयाँ राजश्व संकलनको लक्ष्य दिइएको छ । जसमा चैतसम्मको असुली ७ अर्ब ७६ करोड, ११ लाख रुपैयाँ रहेको छ ।
भन्सारले चैत मसान्तसम्मको लक्ष्य ९ अर्ब २३ करोड ४७ लाख राखेको थियो । लक्ष्यको ८४.०४ प्रतिशत मात्र राजस्व संकलन भएको मेची भन्सार कार्यालयको तथ्यांकले देखाउँछ । भन्सार कार्यालयबाट नियमित आयात हुने वस्तुको आयत घटेकाले राजस्व संकलन लक्ष्य अनुसार हुन नसकेको मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्यालले बताए ।
सबै भन्दा बढी असोज महिनामा मात्र २ अर्ब १३ करोड ८३ लाख राजस्व असुली भएको तथ्यांकले देखाउँछ । चाडपर्वको समयमा अनुमानित भन्दा बढी सामान आयात हुँदा राजस्व संकलन बढे पनि अन्य समयमा राजस्व अपेक्षित संकलन नभएको अर्याल बताउँछन्् ।
गत वर्षको तुलनामा राजस्व बढी संकलन भए पनि राजस्वले यो बर्षको लक्ष्यलाई भेट्न नसकेको बताउँछन् । क्षमताभन्दा लक्ष्य उच्च भएकाले लक्ष्य अनुसार संकलन गर्न समस्या भएको प्रमुख अर्यालको भनाइ छ । आर्थिक वर्ष २०७४÷७५ मा मेची भन्सार कार्यालयलाई ९अर्ब २० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिइएको थियो । जसमा लक्ष्य भन्दा बढी १० अर्व १८ करोड २७ लाख राजस्व संकलन भएको थियो । यो लक्ष्यको १११ प्रतिशत हो । उक्त वर्षको आव २०७३÷७४को तुलनामा ५६ प्रतिशतले राजस्व वृद्धि भएको थियो ।
अर्थ मन्त्रालयले गत आवको तुलनामा ३९.२७ प्रतिशत लक्ष्य वृद्धि गरेर मेची भन्सारलाई जिम्मेवारी प्रदान गरेको थियो । गत वर्षको यही अवधिमा संकलित राजस्व भन्दा चालु आर्थिक वर्षमा १०.२५ प्रतिशतले वृद्धि भएको छ । यद्यपी, आगामी तीन महिनामा लक्ष्य पुरा नहुने देखिन्छ । यस आर्थिक वर्षमा राजस्वको लक्ष्य पूरा गर्न समस्या भएकाले राजस्वको लक्ष्य संसोधन गर्नुपर्ने प्रमुख अर्याल बताउँछन् ।


पछिल्लो समय झापाका छोटी भन्सार स्तरोन्नति भएको भन्सार कार्यालयका प्राविधिक किरण अर्यालले बताए । भद्रपुर छोटी भन्सार कार्यालको स्तरोन्नति, एक्सरे मेसिन जडान तथा एक्सरे भवन निर्माण, ग्यारेज निर्माण र कार्यकक्ष तथा बैठक कक्ष निर्मांण, यात्रु चेकजाँच कक्ष निर्माण, शौचालय निर्माण तथा सुधार, हावाघर निर्माण, अतिथि गृह सञ्चालन, गौरीगन्ज भंसार कार्यालय भवन निर्माण र स्तरोन्नतिको प्रक्रिया अघि बढाईएको प्राविधिक अर्यालले बताए । एक्सरे मेसिनको प्रयोगबाट १२ लाख भारतीय रुपैयाँ, ८ केजी चाँदी, मोबाईल फोन, बिस्फोटक पदार्थ समेत बरामद गरेको भन्सार स्रोतले जनाएको छ ।
मेची भन्सारले विभागको स्थलगत तथा अनलाईन अनुगमनबाट प्राप्त निर्देशन तथा सुझावलाई कार्यान्वयन गरेको जनाएको छ । यसैगरी बजार मूल्यलाई आधार मानेर बरामद भएका सामग्रीको मुल्याकंन गर्ने परिपाटी सुरु गरिएको प्रमुख अर्यालले बताए । राजस्व संकलनको लक्ष्य पुरा नहुने अवस्थामा पनि हालसम्म कै सबैभन्दा धेरै मूल्यकोे सामग्री भन्सारले लिलाम गरेको छ । चालु आवमा १ करोड ५३ लाख ४१ हजार राजस्व लिलामी प्रक्रियाबाट जम्मा गरेको जनाइएको छ ।
६० प्रतिशत भन्दा बढी राजस्व पेट्रोलियम पदार्थबाट संकलन भएको छ । गत वर्षको तुलनामा कोइलाबाट ३.५ प्रतिशत क्लिङकरमा ४६.९ प्रतिशत आयात घटेको मेची भन्सार कार्यालयले जनाएको छ । गत आर्थिक वर्षको तथ्यांकलाई हेर्दा कोइलाबाट १० प्रतिशत राजस्व संकलन हुन्छ यस वर्ष कोइलाको आयात तीन महिनादेखि पूर्ण रुपमा ठप्प भएको छ । मेची भन्सारमा सवारी साधन अभावका कारण नियमित गस्ती परिचालन गर्न नसक्दा पनि सञ्चालनमा समस्या भएको भन्सार कार्यालयले जनाएको छ ।