धरान, झापा । वन डढेलो नियन्त्रणमा सङ्घीय, प्रदेश र स्थानीय सरकार गम्भीर नबन्ने हो भने आउँदा दिनमा जैविक विविधतासँगै बहुमूल्य वनस्पतिहरू नष्ट भएर जाने निश्चित छ ।

झापामा चालू आर्थिक वर्षको चैत मसान्तसम्म करिब ६० हेक्टर क्षेत्रफलमा वन डढेलो लाग्यो । झापाका ५९ वटा सामुदायिक वनमध्ये ५९ दशमलव ७५ (करिब ६०) हेक्टर वनमा आगलागी भएको डिभिजन वन कार्यालय झापाको तथ्याङ्क छ । त्यसमध्ये पनि मेचीनगर, भद्रपुर नगरपालिका, हल्दीबारी, कचनकवल गाउँपालिकाका ९ वटा सामुदायिक वनमा आगलागी भएको तथ्याङ्क वन कार्यालयसँग छ । यी क्षेत्रमा वनको प्रकृति नेपालका अन्य क्षेत्रको वनभन्दा भिन्न रहेको पुष्टि वनस्पति अध्येता कमल मादेनको लेख ‘पृथक जङ्गल जलथल’ मा उल्लेख छ । उनले उक्त लेखमा थाइल्याण्ड र मलेशिया बोर्नियोका जङ्गलमा पाइने लटहरजस्ता रुखहरू पाइने भएकाले यो जङ्गल भूमध्यरेखीय क्षेत्रबाट फैलिएर आएको ट्रपिकल रेनफरेष्ट (उष्ण वर्षावन) को अवशेष पाइने उल्लेख गरेका छन् ।


फरक प्रकृतिको जङ्गलमा हुने डढेलोले कालान्तरमा त्यस्ता रुखहरूको अस्तित्व सङ्कटमा पर्ने देखिएको छ । नरेश थापा, गङ््गादत्त भट्ट र सुवास खत्रीले ‘जल–थल फरेष्टः अ प्रिलिमिनरी सर्भे’ शीर्षकको लेख (सन् २००३) मा जलथल जङ्गल अर्धसदावहार भएको उल्लेख छ । जलथलमा दक्षिण–पूर्वी एशियाली मुलुकहरूमा पाइने वनस्पतिहरू रहेको मादेनले उल्लेख गरेका छन् । उनले लेखमा ‘आर्टोकार्पस चाप्लाशा’ वनस्पतीय नाम भएको रुख रहेको बताएका छन् । जुन, कटहरजस्तो तर हत्केलाभन्दा केही ठूलो फल्ने यसलाई बोलीचालीको भाषामा लटहर भनिने उनले उल्लेख गरेका छन् । नेपालमा झण्डै साढे ६ हजार वनस्पतिहरू पाइने विभिन्न तथ्याङ्कले पुष्टि गरेको छ । ५ हजार ५ सय त सूचीकृत नै भइसकेका छन् । ‘त्यसमध्ये झण्डै दुईतिहाई वनस्पति पूर्वमा मात्रै पाइन्छ’ वनस्पतिविज्ञ मादेनले फोनसम्पर्कमा भने, ‘डढेलोले जैविक विविधतामा ठूलो असर पु¥याउँछ ।’ ५ हजार ५ सय सूचीकृत नै भइसकेका छन् ।

प्रदेश १ मा ११ हजार ३ सय ३६ वर्गकिलोमिटर क्षेत्रफल वनले ढाकेको छ अर्थात् नेपालको १७ प्रतिशत र प्रदेशको कुल क्षेत्रफलको ४३ दशमलव २४ प्रतिशत भाग ओगटेको प्रदेश १ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव अनिरुद्धकुमार साहले जानकारी दिए । सुख्खा मौसमको समयमा हरेक वर्ष डढेलोले वन सखाप पार्ने गरेको छ । प्रदेश १ मा डढेलोले वार्षिक १९ हजार २ सय २३ दशमलव ८६ हेक्टर क्षेत्रलाई प्रभावित बनाइरहेको छ । आ.व. २०७४÷७५ मा सबैभन्दा बढी उदयपुरमा १५ हजार हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो भने सबैभन्दा कम सङ्खुवासभामा १ हेक्टर क्षेत्रफलमा डढेलो लागेको उपससिचव साहले जानकारी दिए । विशेषगरी चुरे क्षेत्रमा डढेलोको प्रकोप रहेको प्रदेश वन निर्देशनालयका निर्देशक यादवप्रसाद धिताल बताउँछन् ।

अधिकार प्रयोग आवश्यक

नेपाल जैविक विविधताको हिसाबले विश्वको २५ औं र एशियाको ११ औं स्थानमा पर्दछ । तराईमा प्रतिवर्ष १ दशमलव ३ प्रतिशतका दरले वन विनाश भइरहेको तथ्याङ्कले देखाउँछ । जसले गर्दा जैविक विविधतामाथि नकारात्मक असर पुग्ने निश्चित छ । संविधानले नै सङ्घीय, प्रदेश तथा स्थानीय सरकारलाई अधिकार प्रत्यायोजन गरेको छ । नेपालको संविधान अनुसूची ९ मा सङ्घ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीको ७ नम्बर बुँदामा ‘वन, जङ्गल, वन्यजन्तु, चराचुरुङ्गी, जन उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता’ संरक्षणमा ध्यान दिने भन्ने उल्लेख छ ।

तर, त्यसतर्फ प्रभावकारी कदम चालिएको पाइँदैन । त्यतिमात्रै हैन, संविधानकै भाग ४ धारा ५१ को उपधारा (छ) को खण्ड ७ मा ‘प्रकृति, वातावरण वा जैविक विविधतामाथि नकारात्मक असर परेको वा पर्न सक्ने अवस्थामा नकारात्मक वातावरणीय प्रभाव निर्मूल वा न्यून गर्न उपयुक्त उपायहरू अवलम्बन गर्ने’ भन्ने उल्लेख छ । यसतर्फ पनि स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकारको ध्यान जान सकेको छैन । वनस्पति विज्ञ मादेन भन्छन्, ‘संरक्षणका लागि सरकारले नीति, ऐन, नियम बनाउन त बनाउँछ । तर, प्रभावकारी कदम चालेको छैन । फलोअप हुँदैन । अहिले त स्थानीय तह पनि अधिकार सम्पन्न छ । वातावरणविज्ञ राखेर संरक्षणमा ध्यान दिन सक्छ ।’

सरकार, कर्मचारी वृत्तमा यो विषय प्राथमिकतामा नपरेको उनको भनाइ छ । ‘कर्मचारी वर्गले महसुस गर्नुप¥यो, खाली झारो टार्ने काम गर्छन्’ –उनी भन्छन् । प्रदेश १ वन कार्यालयले प्रमुख चुनौतीका रूपमा वन डढेलोलाई पनि राखेको छ । प्रत्येक वर्ष ‘डढेलो सप्ताह’ पनि मनाउने गरेका छन् । यो वर्ष चैत १ गतेदेखि ७ गतेसम्म डढेलो सप्ताह मनाएको थियो । तर, प्रभावकारिता शून्य छ । यसैले होला, आइयुसीएनले नेपालका ३२ प्रजातिका स्तनधारी, ३४ प्रजातिका चरा, ९ प्रजातिका सरिसृप, ३ प्रजातिका उभयचर र ७ प्रजातिका वनस्पतिहरू सङ्कटापन्न प्रजातिहरूको सूचीमा राखेको छ ।


धिताल भन्छन्, ‘डढेलोले वनस्पतिहरूलाई नोक्सान गर्छ । वनमा रहने चराचुरुङ्गी, पशुपंक्षीमा पनि ठूलो असर पुग्छ ।’ हरेक वर्ष वनमा डढेलोको प्रकोप हुने गरेको छ । वन तथा वातावरण मन्त्रालय वातावरण तथा जैविक विविधता महाशाखाका सह–सचिव यज्ञ दाहाल भन्छन्, ‘डढेलोले जैविक स्रोतउपर असर पु¥याउँछ । वनमा रहेका खास–खास प्रजाति त समाप्त नै हुनसक्छन् ।’ डढेलोलाई समयमै नियन्त्रण नगर्ने हो भने भविष्यमा जैविक विविधतामाथि दीर्घकालीन असर पुग्ने उनको दाबी छ । ‘नेचुरल साइकलमा प्रभाव पर्छ । त्यसले वन्यजन्तु, कीटपतङ्ग, सरिसृपको बासस्थानमा असर पु¥याउँछ । माटोको रासायनिक शक्ति नष्ट हुनेसम्म हुन्छ’ –उनले फोनसम्पर्कमा भने ।