यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा मङ्गलबारबाट २ महिने हाउस वायरिङ तालिम शुरु भएको छ । बेरोजगार युवाहरूलाई रोजगारीको सिर्जना गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । घरेलु तथा साना उद्योग विकास समिति पाँचथरको आयोजनामा सञ्चालन हुने तालिमको सहजीकरण सहजकर्ता अम्मर सिवाकोटीले गर्दै आएका छन् । गाउँपालिकाका ५ वडाबाट प्रतिनिधित्व हुने गरी १४ जना युवाहरू सहभागी छन् । तालिमको उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष सीता आचार्यले गाउँपालिकाको सबै वडामा विद्युतीकरणको कामले तीव्रता पाएको भन्दै तालिममा सिकेका ज्ञान र सीपले रोजगारीको सिर्जना गर्ने जनाइन् ।

त्यस्तै वडा नम्बर १ का वडाअध्यक्ष देवेन्द्रकुमार लावतीले तालिमले उद्यमशीलतातर्फ उन्मुख गर्ने भएकाले अवसरलाई खेर नफाल्न आग्रह गरे । सहभागीलाई १ महिनाको समयमा प्रयोगात्मक विधिद्वारा सीप सिकाइने सहजकर्ता अम्मर सिवाकोटीले बताए । गाउँपालिकामा १५ करोडको लागतमा विद्युतीकरणको काम हुँदै आएको छ । तालिमपछि युवाहरूले रोजगारी पाउने लक्ष्य लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भट्टराईले बताए ।