बिर्तामोड ।  नागरिक उड्डयन कार्यालय भद्रपुरका प्रबन्धक पूर्णप्रसाद चुडाललाई २०७५ को उत्कृष्ट नागरिक सम्मान प्रदान गरिएको छ ।
वीरता जेसीजका पूर्वअध्यक्षहरूले २०५२ सालमा स्थापना गरेको उक्त सम्मान हरेक वर्ष सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरूलाई प्रदान गरिँदै आएको छ । सोही बमोजिम यस वर्ष चूडाललाई राष्ट्रसेवाको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै वीरता जेसीजसहित एक सय बढी सङ्घ–संस्थाले सम्मान गरेका हुन् ।

चन्द्रगढी विमानस्थलको प्रवन्धक पदमा चूडाल आएपछि विमानस्थलको भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति हुनुका साथै रात्रि उडान सेवासमेत सञ्चालन भएको छ । सम्मानित चूडाललाई स्वर्ण पदक, प्रमाण–पत्र र नगद पुरस्कार प्रदान गरिएको छ । त्यस्तै उनलाई बिर्तामोड नगर परिक्रमासमेत गराइएको छ ।

चूडाललाई उत्कृष्ट नागरिक सम्मान पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेपाल जेसीजका अध्यक्ष महेश पौडेलले संयुक्तरूपमा गरेका थिए । उत्कृष्ट नागरिक सम्मान समारोह–२०७५ का संयोजक तथा वीरता जेसीज सन् २००६ का अध्यक्ष राजेन्द्र चम्लागाईंको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वीरता जेसीजका अध्यक्ष विशाल थापाले गरेका थिए ।

वीरता जेसीजका पूर्वअध्यक्ष राजकुमार पोखरेलले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा उत्कृष्ट नागरिक छनौट र प्रक्रियासहितको जानकारी समिति संयोजक बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराईले गरेका थिए ।

सो अवसरमा उत्कृष्ट नागरिक चूडाल र उनकी पत्नी रिजु उप्रेतीलाई पञ्चकन्या र पञ्चेबाजासहित स्कटिङ गरेर कार्यक्रमस्थल पुर्याइएको थियो । उनको जीवनी, राष्ट्र सेवाको क्षेत्रमा उनले गरेका मुख्य–मुख्य काम शब्दचित्रमा प्रस्तुत गरिएको थियो । उत्कृष्ट नागरिक छनौट समितिमा संयोजकका रूपमा कुमार भट्टराई, सदस्य मोहन शिवाकोटी र मोहनकाजी रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि काङ्ग्रेस नेता सिटौला, सम्मानित व्यक्तित्व चूडाल, विशिष्ट अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष महेश पौडेललगायतले बोलेका थिए ।