धरान । धरान उपमहानगरपालिका–४ मा पर्ने देवीथानका स्थानीयले ‘देवीथान सामुदायिक होमस्टे’ सञ्चालनमा ल्याएका छन् ।

भेडेटारनजिकै रहेको देवीथान गाउँबाट पूरै धरानको सुन्दर दृश्यसँगै चारकोसे झाडी, इटहरीलगायतका रमणीय दृश्यहरू देखिन्छ । भेडेटारनजिकै रहेर पनि ओझेलमा परेको देवीथानमा स्थानीयको सक्रियतामा शुरु भएको ‘देवीथान सामुदायिक होमस्टे’ को शुक्रबार धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीले उद्घाटन गरिन् । कार्यक्रममा बोल्दै उनले उपमहानगरले स्थानीयले सञ्चालन गरेका होमस्टेहरूलाई सहयोग गर्ने र धरानका नौ स्थानमा होमस्टे सञ्चालन गर्ने बताइन् ।

होमस्टेका सञ्चालक गोरसमान आले मगरका अनुसार देवीथान निकै पुरानो गाउँ हो । सो ठाउँमा विभिन्न देवीका थानहरू छन् । गोरसमानकै पुर्खाले पूजा गर्दै आएका देवीथानमा पहिला वरपरका विभिन्न ठाउँबाट पूजा गर्ने धेरै मान्छेहरू आउँथे । पछिल्लो समय भेडेटारको विकास भयो तर देवीथान ओझेलमा पर्दै गयो । सुन्दर र ऐतिहासिक ठाउँ भए पनि नयाँपुस्ताले बिर्सिंदै गएको देवीथानलाई चिनाउन गोरसमान, स्थानीय गणेश थापालगायतको सक्रियतामा होमस्टे शुरु भएको हो ।
होमस्टेका लागि पाँच घरमा करिब २० जनासम्मलाई बास दिनसक्ने व्यवस्था छ । होमस्टेमा आउनेहरूका लागि स्थानीयरूपमा उत्पादन भएका अग्र्यानिक तरकारी, फलफूलहरू खुवाउने होमस्टे

सञ्चालक गणेश थापाले बताए । धरानबाट भेडेटार जाँदा तीन किलोमिटर वर पर्ने देवीथानबाट भेडेटार बजार, पाथीभरा मन्दिर, साँगुरी गढीलगायतका ठाउँ पनि अवलोकन गर्न सकिन्छ । देवीथान आउने पाहुनालाई नजिकैको गुफा र शिवजट्टा झरनासम्म पु¥याउन सकिने सञ्चालक थापाले बताए । उपमहानगर पालिकाको पर्यटन विकास समितिका संयोजक किशोर थुलुङले धरानभित्र रहे पनि नचिनिएका गाउँहरूमा रहेका सम्भावनाहरूलाई प्रचार गरेर पर्यटन विकास गर्ने योजना रहेको बताए ।