दमक/ दमकमा बाहिरबाट कोही मान्छे आउँदा घुम्न जाने कुनै ठाउँ छैन । जताततै बाक्लो बस्ती छ । शान्त र आनन्दको ठाउँको अभाव छ दमकमा । यही कुरालाई मध्यनजर गरेर दमक–५ स्थित धनेश्वर शिव पञ्चायन मन्दिरलाई धार्मिक पर्यटकीयस्थलको रूपमा विकास गरिँदै छ ।
 
मन्दिरको उत्तरपट्टि  चारैतिर आकर्षक फूलबारीसहितको पोखरी र पोखरीको बीचमा धनेश्वर बाबाको स्वर्ण रङको मूर्ति बनाइएको छ । पोखरीमा पानीको फोहोर समेत आउने बनाइनेछ । बाबाको जट्टाबाट समेत पानीको वर्षा हुनेछ । दमकमै पहिलोपटक मन्दिरक्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने योजना बनाइएको मन्दिर व्यस्थापन समितिका अध्यक्ष रुद्र कार्कीले जानकारी दिए ।
 
स्थानीय जनप्रतिनिधि र प्रदेशका जनप्रतिनिधिले समेत मन्दिरक्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रमा विकास गर्नुपर्ने बताएपछि मन्दिर व्यवस्थापन समितिलाई थप हौसला मिलेको अध्यक्ष कार्कीले बताए । समय समयमा मन्दिरमा आयोजना गरिएका कार्यक्रममा तथा बेला–बेला स्थलगत अनुगमन नै गर्न आएका प्रदेशसभा सदस्य अर्जुन राई, दमकका नगरप्रमुख, उपप्रमुखले समेत मन्दिरको विकास गर्न सहयोग गर्ने वचन दिएको उनको भनाइ छ ।
 
परापूर्वकालमा यस ठाउँमा ठूला–ठूला बेलका रुख थिए । बेलका रुखमा यस ठाउँका आदिवासी तथा अहिलेका प्रथम नागरिकले डाङ्ग्रे बाबा भन्दै आफ्नै परम्पराअनुसार पूजा गर्ने गरेको २०२९ सालदेखि यसै क्षेत्रमा बस्दै आएका सरस्वतीप्रसाद गौतम बताउँछन् ।  
 
धनेश्वर बाबा दमकमा रहेका अन्य मन्दिरमा राखिएको मूर्ति जस्तो नभएको र आफै उत्पत्ति भएका कारण यस मन्दिरमा आएर पूजा गरे आफूले मागेका कुरा पूरा हुने जनविश्वास रहिआएको छ । झापा दमककी अम्विका अधिकारी आफ्नो मनोकांक्षा पूरा भएकै कारण आफू यस मन्दिरमा नियमितजसो आउने गरेको सुनाउँछिन् ।
 
यसरी पौराणिक र ऐतिहासिक महत्वसमेत रहेको मन्दिरलाई अहिले धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गरिँदै छ । पानीको फोहोरासहितको पोखरी, बगैंचा, सामुदायिक भवन निर्माण कार्य निर्माणाधीन अवस्थामा छन् । यिनै निर्माणाधीन  संरचना र धनेश्वर बाबाको दर्शन गराउन विगत वर्षदेखि निरन्तर पुराण लगाइएको मन्दिर व्यवस्थापन समितिका रुद्र कार्की बताउँछन् ।
 
मन्दिरलाई आवश्यक विभिन्न संरचना निर्माण सम्पन्न गराउन करिब ४ करोड रुपैयाँ आवश्यक रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । धार्मिक पर्यटनको प्रचुर सम्भावना भए पनि प्रचार–प्रसार र व्यवस्थापनको अभावमा अन्त पनि यस्ता थुप्रै मठ–मन्दिरहरू ओझेलमा पर्ने गरेका छन् । त्यस्ता ओझेलमा परेका धार्मिक सम्पदाहरूको संरक्षण गरी प्रचार गर्नसके पक्कै पनि धार्मिक पर्यटनको विकासमा टेवा पुग्ने थियो ।
 
मन्दिरमा आगामी जेठ ३ गतेदेखि नेपालकै प्रखर कथावाचक पं. दीनबन्धु पोखरलेकोले मुखराविन्दबाट कथा महापुराणको वाचनसमेत गराइँदै छ । धनेश्वर बाबाको दर्शन गर्न अवसर जुटाउनका लागि पनि पुराण आयोजना गरिएको सचिव एकराज लुइटेलले बताए । भक्तजनबाट सङ्कलन हुने रकम तथा अन्य सहयोगबाट मन्दिरले बनाएको योजनाहरू पूरा गर्न खर्च गरिने सचिव लुइटेलले जानकारी दिए ।