२०६२ साल जेठ–असारतिरको कुरा हो । त्यतिबेला म भर्खर इजरायल पुगेको थिएँ । रोजगारको लागि वर्क प्रमिट भिसामा पाँच वर्षलाई म त्यहाँ गएको थिएँ । कृषि कामदारको भिसा भएकाले कृषि कम्पनीमा रहेर काम गर्नु पथ्र्यो । त्यस ठाउँको नाम मुसाभ सखार थियो । हिब्रु भासामा गाउँलाई मुसाभ भनिन्छ । कम्पनीको बोसको नाम आभि बेन्तोलिला थियो । ऊ आफैं आएर अपार्टबाट हामीलाई लिएर गएको थियो । गुलाबको फूलमा काम गर्नु पर्ने । के कारणले हो उसले एक्सपोर्ट बिजनेस बन्द गरेर लोकल बिजनेस चलाएको रहेछ । दुई जना थाइल्याण्डका रहेछन् ।
 
म र अर्को एक जना नेपाली गरी चार जनाले ढुक्कै हेर्नु पर्ने चार ओटा ठूला ग्रीन हाउस थिए । ती ग्रीन हाउसभित्र गुलाबको फूलको खेती गरिँदो रहेछ । जम्मा पाँच प्रकारका गुलाब लगाइएको रहेछ । रातो, सेतो, पहेँलो, छिर्केमिर्के र एउटा सानो सेतो तर मगमग बासना आउने जातको । वैशाख–जेठतिर गुलाबको फूलमा बढी काम हुँदो रहेछ । सिजन रहेछ गुलाबको फूलको त्यो समय । दिनमा बिहान, बेलुका र दिउँसो गरी तीन पटकसम्म काट्नु पर्ने । प्याकिङ हाउसमा ल्याएर सेमीमा साइज छुट्याएर पाँच, दश, पन्ध्र र बीस पिसका प्याक बनाएर एसी कोठामा राख्नु पर्ने । साँझ गाडी आउनुभन्दा पहिले कागजको कार्टुनमा प्याक गरेर तयार गर्नु पर्ने । त्यसपछि राति कम्पनीको गाडी आएर लिएर जाँदो रहेछ ।
 
पहिला त मलाई अचम्म लाग्यो । प्लास्टिकका घरभित्र खेती गरेको देखेर । अहिले त नेपालमै पनि यदाकदा सामान्य ग्रीन हाउस बनाएर खेती गर्न थालेको पाइन्छ । बिहान पाँच बजेतिरै उठेर खाना तयार पार्नु पर्ने । ६ बजे काममा लागि सक्नु पर्ने । बाह्रदेखि १ बजेसम्म एक घण्टा खाना खाने छुट्टी हुँदो रहेछ । त्यसबेला आएर बिहान पकाएर राखेको खाना ततायो खायो फेरि काममा गइहाल्नु पर्ने । बेलुका कामबाट फर्केर नुहाई–धुवाई, खाना पकाई, खाई सुत्नु पर्ने । काम गारो नभए पनि दिन भरि गरिरहँदा त्यही काम गारो हुँदो रहेछ । कहिले त बेलुका खानै नखाइकन सुत्नुजस्तो हुन्थ्यो । के गर्नु बिहान फेरि काममा नगई नहुने ६ बजे फेरि काममा पुग्नै पर्ने । श्रमको तालिममा एक जना व्यक्तिले भनेको कुरा म बारम्बार सम्झिरहन्थेँ, विदेशमा गाह्रो हुन्छ । गोरू जोतिएजस्तै गरी जोतिनु पर्छ आदि । अनि मन बुझाउँथेँ । खाना साथीसँग पालो गरेर पकाउँथ्यौँ ।
 
पहिला–पहिला नयाँ भएर होला । घरको याद सारै आउँथ्यो । कहिले त बेकारमा आएछु जस्तो पनि लाग्थ्यो । विस्तारै–विस्तारै बानी हुँदै गएपछि त राम्रै लाग्न थाल्यो । घरको काम भनेको त मन लागे गर्ने नलागे नगर्ने बानी वा भनौँ काम गर्ने बानी नै नभएको म । अर्काको काम त त्यसो गरेर पनि भएन । फेरि विदेशको ठाउँ काम नगरेर त धरै थिएन । त्यो मुसाभमा नेपाली पहिले त छँदै थिएनन् । थाइल्याण्ड, रूसी र अरबी मात्र थिए । पछि एक, दुई गर्दै दश–बाह्र जना नेपाली भयौँ । त्यसो त काम त्यही गुलाबको फूल गोडमेल गर्ने, काट्ने, प्याकिङ गर्ने आदि गर्नु पथ्र्यो । कम्पनीको मालिक अङ्ग्रेजी बोल्ने भएकाले भाषा चाहिँ अङ्ग्रेजी र हिब्रु मिसाएर बोल्ने गर्थ्यौँ ।
 
बिहान ६ बजे गएर काममा लाग्यो । दिउँसो १२ बजेपछि खाना खान कोठामा आयो । खाना खायो । दश–पन्ध्र मिनेट बचे आराम गर्यो फेरि एक बजे गएर काममा लाग्यो । शनिबार पनि काम नै हुन्थ्यो । त्यसो त काम गर्न गएको मान्छे काम बढी भयो भन्ने त कुरै भएन । आठ घण्टादेखि माथिको ओेटी हुन्थ्यो । यसरी काम गर्दा कहिले चारै जना ग्रीन हाउस भित्र हुन्थ्यौँ त कहिले दुई जना एउटामा, दुई जना अर्कोमा । कहिले त चारै जना एक्लाएक्लै पनि हुन्थ्यौँ ।
 
एक दिन एउटा ग्रीन हाउसमा म एक्लै थिएँ । आफनै धुनमा काम गरिरहेको थिएँ । आफ्नै संसारमा हराएछु । १२ बजेको पत्तै भएन । यसो मोबाइलमा घडी हेरेको त १ पो बजिसकेछ । झसङ्ग भएँ । १२ बजे खाना खान जानु पर्ने म त काम गरेको गरेकै भएछु । आफैं छक्क परेँ । अर्को खम्बामातिर साथीहरूलाई हेरेको साथीहरू पनि काममा घोप्टिरहेकैछन् । उनीहरू त अघि कोठामा गएर खाना खाएर फेरि काममा फर्किइसकेछन् । साथीले पनि खाना खाने बेला भयो । खाना खान जाऔँ भनेर बोलाएन । अब के गर्ने होला ! खान जाउँ भने १ बजिसकेको छ । कम्पनीको मालिक त्यति नै बेला आइपुग्यो भने के भन्ने ।
 
१ बजे पनि यो काममा जाँदो रहेनछ भनेर कामबाटै निकालिदियो भने ! कहाँ जाने ? आदि, इत्यादि सम्झेर खाना खान पनि नगई कामै गरिरहेँ । बिहानको खाना पनि एक्कैचोटि बेलुका साथीहरूसँगै गएर खाएँ । उनीहरूलाई पनि केही भनिन । आफैंलाई लाज लाग्यो । दिउँसै भोकले झण्डै खुस्केको । सम्झेँ घरमा भए त आमा वा घरका अरू कोहीले खान आइज भनेर बोलाउँथे हुन् । त्यो काम भोलि गरे पनि हुन्छ भन्थे हुन् । विदेशमा कसले देख्ने । आँखाभरि आसुँ भए । भएर के गर्नु । त्यहाँ अर्काको दुःख देख्ने कोही थिएन ।
 
अहिले पनि म त्यो दिन दिनभरि भोकै काम गरेको क्षण सम्झँदा आफैंलाई अचम्म लागेर आउँछ । मैले त्यस दिन दिनभरि भोकै काम कसरी गरेँ होला । आफ्नो काम भएको भए छोडेर आउँथेँ होला वा घरका कसैले खाना खान आइज भनेर बोलाउँदा कुदेर आउँथेँ होला तर मैले त्यहाँ त्यस दिन त्यसरी दिनभरि भोकै काम गरेँ । मेरा घरका परिवार कसैलाई थाहा भएन । मैले भनिन पनि । अहिलेसम्म पनि भनेको छैन । मलाई आजभोलि पनि त्यो दिनको घटनाको सम्झना आइरहन्छ । यो पनि मेरो जीवनको एउटा अविस्मरणीय क्षण नै हो ।