जनकपुरधाम । प्रदेश २ को राजधानी जनकपुरधामको जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलमा कार्यरत एक नर्स हस्पिटलको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी छन् ।

महोत्तरीको गौशाला नगरपालिकास्थित रामनगरमा घर भई टिचिङ अस्पतालमा कार्यरत अन्दाजी २५ वर्षीया स्टाफ नर्स रक्षा आलेले आइतबार बिहान आत्महत्या गरेकी हुन् । टिचिङ अस्पतालको शौचालयमा रहेको फलामे पाइपमा सलले पासो लगाई आत्महत्या गरेकी छन् । शौचालय सानो भएको, खुट्टा तल भुइमा छोएको, भित्र छुरा र ढोका फुटाएकोले घटना रहस्यमय बनेको छ ।

अाइतबार बिहान उनका आफ्न्त पुगेपछि प्रहरीले प्रक्रिया पुर्याएर शव पोष्टमार्टमका लागि जनकपुर अंचल अस्पताल लगेको छ । तर आत्महत्या गरेको भनिएका रक्षाकी आफ्न्त रुद्र बर्जामगरले शौचालयमा झुण्डिएको अवस्था हेर्दा शंकास्पद देखिएकोले घटनाको छानबिन गर्न माग गरेका छन् ।

बुवा लालबहादुर आलेका अनुसार रक्षा विगत ६ र ७ महिनादेखि टिचिङ अस्पतालमा कार्यरत थिइन् । उनले कुनै समस्या नरहेको अवस्था छोरीले यस्तो किन गर्यो थाहा नभएको प्रतिक्रिया दिए । उनले पनि घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन् । छोरी आत्महत्या गरेपछि उनकी आमा अस्पताल पुगेर बेहोस् भएकी छन् ।

यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवम् डिएसपी रामेश्वर कार्कीका अनुसार उनले लगभग राति १ बजे शौचालय भित्रैबाट ढोका बन्द गरी पासो लगाएकी थिइन् । घटना विषयमा अनुसन्धान भइरहेको कार्कीले जनाएको छ ।