सिरहा । आफ्नै श्रीमानले आगो लगाएर हत्या प्रयास गरेको कञ्चनदेवी मण्डलको शुक्रबार उपचारको क्रममा मृत्यु भएको उपचारकालागी धरानबाट काठमाण्डाै पुगेका छिमेकी सन्ताेष मण्डलले बताएका छन्।

आफ्नै श्रीमानद्वारा आगो लगाएर हत्याको प्रयास गरिएकी सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर ८ बस्ने १८ वर्षीया कञ्चनदेवी मण्डलको सुस्मा कोइराला मेमोरियल अस्पताल काठमाण्डौंमा उपचारको क्रममा शुक्रबार दिउसो करिब ५ बने मृत्यु भएको हो ।

दाइजो नल्याएको भन्दै श्रीमान, श्रीमती र शाशु बिच सधै कलह भइरहने मण्डलको परिवारमा सामान्य परिवारीक विवादका कारण श्रीमान बेचन मण्डलले श्रीमती कञ्चनदेवीको शरिरमा मट्टितेल छर्केर जलाएर हत्याको प्रयास गरेका थिए ।

आगोले कञ्चन शरीरको करिब ८० प्रतिशत भाग जलेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक दिनेश गौतमले जानकारी दिए ।

जलिरहेकी कञ्चनलाई गाउँलेले तत्कालै उद्धार गरी मिर्चैया नगरपालिका वडा नम्बर(६ कटारी चौक स्थित रहेको मंगलम् हेल्थ केयर पुर्याएको थियो ।

तर त्यहाँ उपचार सम्भव भएन । त्यसपछि उनलाई थप उपचारको लागि धरान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो । तर धरानमा पनि उनको उपचार सम्भव नभएपछि काठमाडौं स्थित सुस्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो ।

कञ्चनदेवीको १५ वर्षको उमेरमा बालबिबाह भएको बताइएको छ।

२ वर्षीय छोरी राधालार्इ लिएर घटनापश्चात् श्रीमान बेचन फरार छन् ।उनको खोजी भइरहेको सिरहा प्रहरीले जनाएको छ । कञ्चनकी सासुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमूख प्रहरी उपरीक्षक ९एसपी० जिवनकुमार श्रेष्ठले जानकारी दिए ।