धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आवास क्षेत्रमा खानेपानीको हाहाकार भएको छ ।
विशेष गरेर नर्स, क्लर्क जुनियरर रेसिडेन्ट, सिनियर रेसिडेन्ट, विद्यार्थीहरु तथा निम्म स्तरका कर्मचारीहरु बस्ने क्षेत्रमा पानी आउन छाडेको महिनौं भएको उनीहरुले गुनासो गरेका छन् ।
भिआइपी बस्ने क्षेत्रमा २४ सै घण्टा पानी आए पनि निम्न स्तरका कर्मचारी बस्ने आवासमा धारामा पानी आउन छाडेको उनीहरुको भनाई छ ।
विशेष गरेर एफ ब्लग, जिवान जीटु ब्लगमा १५ दिनदेखि धारामा पानी आएको छैन् । सार्वजनिक धारामा पानी थापेर तीन तलामाथि पु¥याउनु परेको उनीहरुको गुनासो छ ।
लामो समयदेखि धारामा पानी नआएको कारण आफु समस्यामा परेको बालरोग विशेषज्ञ डा. अरुणकुमार सिंहले गुनासो गरे । ‘यहाँ ठूला बढा बसेका स्थानमा नियमित पानी आउछ । आवास पनि राम्रो पँहुच हुनेहरुले पाउछन् ।’–डा. सिंहले भने –‘एफ ब्लगमा बस्ने पँहुचवाला इन्जीनियरहरुको आवासमा पानीको समस्या छैन् तर जो प्शासनसँग पँहुच राख्दैंनन् उनीहरुको धारामा पानी आउदैंन् ।’
खानेपानी वितरणलाई प्रभावकारी बनाई सबै आवास क्षेत्रमा समान रुपले पानी वितरण गर्न माग गर्दै जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीले गत मंंगलबार कर्मचारी प्रशासनलाई ज्ञापन पत्रसमेत बुझाएका थिए । सोसाइटीका अध्यक्ष डा. कविराज पौडेल र सचिव डा. रौनक दाहालले विज्ञप्ति जारी गरि खानेपानी जस्तो कुरामा गम्भीर हुन चेतावनी दिएका छन् । तर पानी वितरणको ठेक्का लिएका कर्मचारीहरुले सुनुवाई गरेका छैनन् ।
प्रतिष्ठानको खानेपानी विभाग हेर्दै आएका इन्जिनियर मदन साहले तराहराबाट ल्याएको पानी तान्ने एउटा पम्प विग्रिएका कारण कम पानी वितरण भएको बताए । आइतबारसम्ममा मर्मत गरि समस्या समाधान हुने उनको भनाई छ । तर कर्मचारीहरुले लामो समयदेखि विग्रिएको पम्प मर्मत नगरेर पानी वितरणमा अनियमितता गरेको बताउदैं आएका छन् । भएको पानीलाई समानुपातिक रुपमा वितरण नगर्दा समस्या भएको उनीहरुले बताएका छन् ।
प्रतिष्ठानमा धरान–४ स्थित शिवजट्टाबाट दैनिक १० लाख लिटर पानी आउने गरेको छ । तराहराबाट दैनिक २० लाख लिटर पानी आउने क्षमता भएको ट्याङ्की छ । तर उक्त क्षेत्रबाट आउने पम्प विग्रिएर १५ लाख लिटर मात्र आउने गरेको छ । प्रतिष्ठानमा दैनिक ३० लाख लिटर पानी वितरण हुदा २४ सैं घण्टा पानी पुग्ने साहले बताए । पाइप लाईनमा समस्या भएको उनको भनाई छ ।
उनका अनुसार प्रतिष्ठानले तीन तहबाट पानी वितरण गदैं आएको छ । भिसी, रेक्टर कार्यालय, इमेरजेन्सी क्षेत्रमा पहिलो तहमा पानी जाने गर्छ । दोश्रोमा भिआईपी चिकित्सक, कर्मचारी आवास र प्रतिष्ठानको वाड, गाइनो विभागमा वितरण गरिदैं आएको छ । त्यहाँबाट उव्रिएको पानी कनिष्ट चिकित्सक, कर्मचारीहरु बस्ने आवास क्षेत्रमा जाने गरेको छ ।
प्रतिष्ठानमा २ हजार कर्मचारीहरुको परिवारसहित बस्दै आएको साहले बताए । दुई हजार कर्मचारीहरुको ५ परिवार हिसाव गर्दा १० हजार जनसंख्या हुन्छ । यो जनसंख्या भनेको एउटा सामान्य गाउँपालिकाको जनसंख्या हो ।