पथरीशनिश्चरे  / मोरङको पथरीशनिश्चरे १ मा रहस्यम मृत्यु वरण गरेकी व्यवसायी रिना वस्नेतलाई ९ दिनपछि दाहसंस्कार गरिएको छ ।

रिनाको रहस्यमय मृत्युका बारेमा यकिन तथ्य आइनसकेको भए पनि शव कुहिइसके पछि परिवारले आइतवार सुनसरीस्थित चतराधाममा लगेर आफ्नो परम्परागत संस्कार अनुरुप दाहसंस्कार गरेका हुन । दोषी पत्ता लगाउन माग गरेर पीडीतका आफन्त र स्थानीयले आन्दोलनकै रुपमा शवको दाहसंस्कार नगरी बसेका थिए ।

गत वैशाख ७ गते विहान आफ्नै डेरा अगाडीको सडकमा निवस्त्र भेटिएकी २९ वर्षीय रिनाको मृत्युको बारेमा सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारवाही गर्न श्रीमान सन्तोष वस्नेतसहितका पीडीत परिवारले माग गरिरहेका छन् ।

रिनाको मृत्यु प्रकरणको निश्पक्ष छानविनको माग गर्दै संघर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम समेत भएका छन् । रिनाको पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा माथिबाट बजारिएर मृत्यु भएको कुरा आएको र भिसेरा सहितको सम्पूर्ण जाँच तथा प्रहरी अनुसन्धानपछि यकिन तथ्य वाहिर आउने डीएसपी नवराज ढुंगानाले बताए ।

तर मृतकका आफन्त तथा स्थानीयवासीले भनें त्यसलाई हत्या भन्दैं आएका छन् । घटनामा रिनाका प्रेमी भनिएका कमल नेपाललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । प्रहरीले मोरङका मात्र नभई झापाका समेत दर्जनौं व्यक्तिहरुलाई कल डिजेटका आधारमा कार्यालयमा ल्याई सोधपुछ गरिरहेको छ । उनीहरुका लागि साँचो र झुटो पत्ता लगाउने पोलिग्राफ यन्त्र समेत प्रयोग गरिएको छ । स्थानीय जनप्रतिनिधि, महिला फेडरेशन, पथरी उद्योग वाणिज्य संघ, पथरी वहुमुखि क्याम्पसका महिला विद्यार्थी सहितले चाँडोभन्दा चाँडो घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरी प्रशासनमा दवाव सिर्जना गरिरहेका छन् ।