तेह्रथुम ।  ग्रामीण पर्यटनको विकास र प्रर्वद्धनमा टेवा पुर्याउने उद्देस्यले तेह्रथुमको आठराई गाउँपालिका–२ खाम्लालुङमा खोरङदेन सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको छ । पर्यटकीय दृष्टीकोेणले निकै सम्भवना भएर पनि ओझेलमा रहेको यस क्षेत्रलाई नमुना स्थलको रुपमा चिनाउनका लागी जिल्लामै पहिलो पटक होमस्टेको सुरुवात गरिएको हो ।
सदरमुकाम म्याङलुङदेखी ६५ किलोमिटर उत्तरपूर्वमा रहेको यस स्थानमा सञ्चालन गरिएको होमस्टेको बिशेषता भनेको गाउँले जनजीवन, सत्कार, खानपान, घुमफिर र संस्कृतिको आनन्द बटुल्ने स्थलहरु हो । लिम्बु समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा लिम्बु जातीको साँस्कृतिक नाच तथा खाना परिकारहरु, भेषभुषा आदि र लोप हुने क्रममा रहेका संगिनी तथा बालन नाचहरु पर्यटकले देख्न पाउने खोरङदेन सामुदायिक होमस्टेकी अध्यक्ष सिर्जना लामा फोम्बोले बताइन ।

आठराई क्षेत्रमा अवस्थित ओझेलमा परेका पर्यटकीय गन्तव्यको उजागर गर्दै स्थानीय जातजातीहरुको संस्कार, सस्कृती, रितीरिवाज, भेषभुषा, खानपान आदि कुरालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्म पनि चिनाउने अभिप्रायले सञ्चालित होमस्टेमा करिब एक दर्जन घरहरुले पाहुना पर्खेर बसेका छन् । गुणस्तरीय सेवा र आतिथ्य सत्कार गरी धेरै पर्यटक भित्राउने लक्ष्यले सुरु भएको होमस्टे प्रवद्र्धनका लागी आठराई गाउँपालिका वडा नं. २ ले बार्षिक रुपमा बजेट बिनियोजन गर्ने भएको बडा अध्यक्ष दिलकुमार पाहिमले बताए ।
होमस्टेमा घरबास आउने पर्यटकलाई मौलिक कला, संस्कृति झल्कने झाँकी, गीत र नृत्य पनि देखाउने गरिएको छ । लिम्बु जातिको बाहुल्य रहेको खाम्लालुङमा च्याब्रुङ,पालाम, यालाङ जस्ता मौलिक संस्कृतिले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ । यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक तान्ने ध्येयले गाउँपालिकाले समेत पर्यटन गुरुयोजना बनाई सम्भावित क्षेत्रहरुको डिपिआर तयार गर्न लागेको आठराई गाउपालिकाका उपाध्यक्ष रुपदेवी कन्दङवाले बताइन ।
आठराई गाउँपालिका यहाँ आउने पर्यटकहरुलाई माला र स्थानिय संस्कृतीको गीत र नाचले स्वागत गरिन्छ । अर्गानिक खानाहरू आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक , याङबेन , किनेमा तथा स्थानीय परिकारहरुमा पर्यटक रमाउने गरेका छन्। पर्यटकीय क्षेत्रहरुको अवलोकन सँगसँगै पर्यटकहरुले लोप हुने क्रममा रहेको स्थानियको संस्कृतीहरु पनि देख्न पाउने स्थानिय डिल्ली प्रसाद निरौलाले बताए ।
यस क्षेत्रमा याकुम्बा गढि, झाँक्रीगुफा, मैयायक झरना, चमेरो ओढार, लिहि ढुंगा, अधेँरी खोला लयायतका पर्यटकिय क्षेत्रहरुको अवलोकन गर्न सकिन्छ भने यहाबाट कन्चनजंघा तथा कुम्भकर्ण लगायतका हिमश्रृङखलाहरुको पनि दृुष्यावलोकन गर्न पाईने होमस्टे व्यवस्थापन समितिले जनाएको छ । होमस्टे लाई निरन्तरता दिन सके यस स्थानलाई जिल्लाकै नमुना पर्यटकिय गन्तव्यको रुपमा स्थापित गर्न सकिन्छ ।