पत्रकारितास“गै विज्ञापन एजेन्सीको रूपमा व्यवसाय शुरु गरेका इटहरीका पवन अधिकारी छोटो समयमै स्थापित व्यवसायी बन्न सफल भएका छन् । समाचारमा काम गर्दै गर्दा विज्ञापन एजेन्सी सञ्चालन गरेका अधिकारी यतिबेला प्रदेन नम्बर १ मै उदीयमान व्यवसायीको रूपमा देखिएका छन् । पाथीभरा एड्भरटाइजिङ प्रालिले नै उनलाई व्यवसायीको पहिचान दिलायो । त्यति मात्र नभएर अहिले उनी समग्र विज्ञापन एजेन्सीहरूको प्रतिनिधित्व गर्दै १ नम्बर प्रदेशबाट नेपाल विज्ञापन सङ्घको प्रदेश १ को संयोजकसमेतको जिम्मेवारी निर्वाह गरिरहेका छन् । गत माघ २७ गतेदेखि उनले इटहरीमा पाथीभरा जव लिङ्क प्रालिसमेत सञ्चालन गर्दै आएका छन् । कुनैबेला पत्रिका घर–घरमा पु¥याउनेसम्म काम गरेका अधिकारीले पत्रकारितामा प्रवेश गरेको एक दशक बढी भयो । यो समयमा उनले बेरोजगार युवायुवतीहरूका लागि लक्षित गरी जव लिङ्क प्रालिमार्फत् रोजगारीको अवसर दि“दै आएका छन् । विभिन्न उद्योग, कलकारखाना, कम्पनी, सङ्घ–संस्था, सेक्युरिटी कम्पनीलगायतका क्षेत्रमा कर्मचारीको व्यवस्थापन गराउने उद्देश्यले सञ्चालनमा आएको पाथीभरा जव लिङ्कका बारेमा कार्यकारी प्रमुख अधिकारीसँग गरिएको कुराकानीको सारः–

 पत्रकारिता गर्दागर्दै विज्ञापन एजेन्सी खोल्नुभयो । फेरि जव लिङ्क प्रालि किन खोल्नुभयो ?
– मैले पत्रकारिता छाडेको भने होइन । बजारको बारेमा बुझ्दै गर्दा जो विज्ञापनको पहँुचमा पुग्न नसकेका मिडियाहरू छन् । तिनीहरूलाई पनि व्यवसायीकरण गर्ने उद्देश्यले मैले विज्ञापन एजेन्सी सञ्चालन गरेँ । नभन्दै सो व्यवसायबाट मलाई मात्र नभएर पूर्वका सञ्चारमाध्यमलाई कहीँ न कहीँबाट फाइदा पुग्ने नै काम भयो भन्ने मेरो बुझाइ छ । त्यससँगै बेरोजगारीहरूलाई रोजगार सिर्जना गर्न र रोजगारी दिने संस्था वा कम्पनीलाई पनि मेनपावरको व्यवस्थापन गर्न सहज होस् भन्ने उद्देश्यले पाथीभरा जव लिङ्क प्रा.लि. सञ्चालनमा ल्याएँ । एउटा रोजगारीको खोजीमा रहेका बेरोजगार युवायुवतीहरूलाई रोजगार दिने र रोजगारदाता कम्पनीहरूका लागि योग्य र दक्ष जनशक्ति प्रदान गर्ने संस्था हो । अहिले पनि रोजगारीको खोजीमा रहेको ठूलै समूह बजारमा भेटिन्छ । साथै योग्य र दक्ष जनशक्तिको अभाव पनि उत्तिकै मात्रामा रहेको छ । यो बीचको समस्यालाई समाधान गर्नका लागि पाथीभरा जव लिङ्क प्रालिले काम गर्दै आएको छ ।

अहिलेसम्म रोजगारी खोज्दै कति आए र कतिलाई रोजगारी दिनुभयो ?
– हामीसँग अहिले धेरै संख्यामा बेरोजगार युवायुवतीहरू सम्पर्कमा हुनुहुन्छ । पाथीभरा जव लिङ्कले काम शुरु गरेयता धेरै कम्पनीले हामीसँग कामदारको माग गर्नुभएको छ । तर पनि उहाँहरूको योग्यता र क्षमताको आधारमा हामीले भनेजस्तो रोजगार उपलब्ध गराउन सकेका छैनौँ । सङ्ख्यात्मक भन्दा पनि निकै जनालाई रोजगारी दिन सफल भएका छौँ । यहाँ मात्र नभएर नेपालमै दक्ष जनशक्तिको ठूलो अभाव छ । अहिले पनि रोजगारदाता कम्पनीहरूले खोजेको जनशक्ति हामीले उपलब्ध गराउन सकेकै छैनौं । सामान्यखालका रोजगारी भने धेरैलाई दिँदै आएका छौं । जुन काम गर्दा सीप नसिकी हुँदैन । त्यस्ता रोजगारीमा सेवासुविधा पनि बढी हुन्छ तर, सीपको अभावमा मागअनुसारको यस्ता रोजगारी दिन सकिरहेका छैनौं ।

 रोजगारीको लागि कस्ता–कस्ता सीप आवश्यक पर्दोरहेछ ?
– कुनै यसै प्रकारको सीप भन्ने हुँदैन । कामको प्रकृतिअनुसारको सीप आवश्यक पर्छन् । रोजगारदाता कम्पनी भनेका नाफा कमाउनकै लागि खुलेका हुन् । उनीहरूको मुख्य उद्देश्य भनेकै नाफा कमाउने नै हो । जसका लागि सीपयुक्त रोजगारीको आवश्यकता बढी हुन्छ । जसले गर्दा बजारमा प्रतिस्पर्धा गर्नका लागि पनि ती कम्पनीलाई सजिलो हुन्छ । प्रतिस्पर्धामा अरुभन्दा फरक र अब्बल भएमात्र कुनै पनि कम्पनी र उत्पादन सफल हुन सक्छ । त्यसका लागि सबैले दक्ष जनशक्ति खोज्ने नै हो । तर, यहाँ दक्ष जनशक्तिको यहाँ ठूलो अभाव छ । हामीले रोजगारदाता कम्पनीहरूले खोजेको जनशक्ति दिन सकिरहेकै छैनौँ । हामीलाई अहिले पनि सानादेखि ठूला विभिन्नखाले कम्पनीहरूका लागि १ नम्बर प्रदेशमा मात्रै ३० जना बढी मार्केटिङ गर्नसक्ने व्यक्तिहरूको खाँचो छ । त्यतिमात्र नभएर लेखासम्बन्धी दक्ष भएका तथा पढाउने क्षमता भएका विभिन्न विषयका शिक्षक शिक्षिकाहरूको समेत आवश्यकता छ । कामदारको लागि कुनै न कुनै क्राइटेरिया राखेर रोजगारदाता कम्पनीले माग गरिरहेको अवस्था छ । तर हामीले माग गरेअनुसारको जनशक्ति दिन सकिरहेका छैनौं । बजारमा दक्ष जनशक्तिको माग छ । दक्ष भन्नाले जुन रोजगारदाता कम्पनी हो, उसले सोही क्षेत्रमा अनुभवी, मेहनती र योग्य मानिस खोजिरहेको हुन्छ । तर नेपालमा हेर्ने हो भने पढेका तर कुनै पनि क्षेत्रमा दक्षता हासिल नभएका व्यक्तिहरू बढी छन् । उनीहरू जागिरको खोजीमा त छन् तर आवश्यक योग्यता र दक्षताको अभाव छ । हामीसँग सम्पर्कमा जागिर खान आउनेहरूमध्ये धेरैजना भरसक कार्यालयमै बसी बसी काम गरेर तलब पाक्ने प्रकारको जागिर खोज्दै आउनुभएको छ । त्यसको लागि पनि त सीप त चाहियो नि । अहिले कामदार होइन, दक्ष कामदारको माग बढ्दो छ ।

 तपाईहरू आफै जागिर दिने हो कि खोजिदिने हो ?
– हामीकहाँ रोजगारदाताहरूले यस्ता व्यक्तिहरू आवश्यक रहेको छ भनेर जानकारी गराउनुहुन्छ । कतिपय ठाउँमा हामी आफै गएर कहाँ–कहाँ जनशक्ति अभाव छ भनेर पनि बुझ्ने गरेका छौँ । त्यसपछि हाम्रो कार्यालयमा रोजगारी गर्न चाहनेहरूले आफ्नो व्यक्तिगत डिटेलसहितको बायोडाटा पेश गर्नुहुन्छ । त्यही आधारमा हामी उहाँहरूको योग्यता र क्षमताको आधारमा बोलाएर रोजगारी उपलब्ध गराउँछौँ । बायोडाटा पठाउन कार्यालयसम्म आइराख्नु पर्दैन । घरैमा बसी बसी हाम्रो वेवसाइटबाट पनि एप्लाई गर्न सक्नु हुनेछ ।

 रोजगारीमा लगाएबापत तपाईंहरूले के पाउनु हुन्छ ?
– हामीले पनि एक प्रकारको सेवामूलक व्यवसाय नै गरेका हौं । जसले गर्दा हामीले काम गरेबापतको एक पटक सामान्य शुल्क लिन्छौँ । त्यो कार्यालय सञ्चालनको लागि पनि आवश्यक हुन्छ । तर हामीले रोजगारी दिएबापत भनेर धेरै र महिनावारी रूपमा कुनै शुल्क लिँदैनौं ।

कस्ता–कस्ता क्षेत्रमा कामदार उपलब्ध गराउनुहुन्छ ?
– विभिन्न क्षेत्रमा जस्तैः उद्योग, कलकारखाना, कम्पनी, सङ्घ–संस्था, सेक्युरिटी गार्डलगायत सबै क्षेत्रमा मागअनुसार कर्मचारी उपलब्ध गराउँछौँ । कतिपय कम्पनी र सङ्घ–संस्थासँग त हामीले टाईअप गरेरसमेत काम गरिरहेका छौँ । हामीले इटहरीमा नाम चलेको अरुण सेक्युरिटीसँग सम्झौता गरेर सेक्युरिटी गार्डहरूसमेत सप्लाई गर्न थालेका छौँ ।

 छोटो समयमै सफल व्यवसायी बन्नुभयो, कसरी यो सम्भव भयो ?
– म सफल भएको छैन । कर्म गरिहेको छु । साथै रात–दिन सङ्घर्ष पनि । विश्वास छ मलाई– एकदिन अवश्य सफल हुन्छु । आत्मविश्वास नै सबैभन्दा ठूलो सफलता हो । व्यवसायिक सफलताको लागि पनि यो जरुरी पर्दछ । निरन्तरको मेहनत र सङ्घर्षबाट प्राप्त हुने चिज नै सफलता हो । तसर्थ अविचलितरूपमा निरन्तर सत्कर्मको बाटो अपनाएर काम गरियो भने सफलता खोज्न कहीँ भौंतारिनु पर्दैन । सफलता आफै खोज्दै आउँछ भन्ने मेरो दृढ विश्वास छ, जसले गर्दा यहाँसम्म आइपुगेको छु । त्यसो त काम गर्दा धेरै चुनौती पनि छन् । चुनौती बिनाको कुनै पेशा र क्षेत्र हुँदैन । जहाँ पनि प्रतिस्पर्धाको बजार छ । एउटाको बजार बिगार्नका लागि अर्कोले काम गरिरहेको हुन्छ । अरुलाई गलत देखाएर आफू सही भन्दै गलत स्वार्थले अघि बढ्नेको जमात पनि ठूलो छ । तर, पनि आफूले आफ्नो काममा विश्वास गर्ने हो । जुन विश्वासले सफलतामा पक्कै पु¥याउँछ भन्ने आशा छ ।