नेपाल कम्युनिष्ट पार्टीले लामो समयपछि एकता प्रक्रिया टुंगो लगाएको छ । नेकपाले ७७ वटै जिल्लामा अध्यक्ष तथा सचिवको टुंगो लगाएको हो । नेकपाले पूर्णता पाउनु अत्यन्त सकारात्मक कुरा हो । यो निर्णयले गर्दा नेता तथा कार्यकर्तामा उत्साह छाएको भने जनताका लागि काम गर्न थप जिम्मेवारी थपेको छ । यसैक्रममा मलाई पनि नेकपाले धनुषा जिल्लाको अध्यक्षमा तोकेको हो । यसका लागि म सम्पूर्ण पार्टी पंक्तिलाई धन्यवाद दिन चाहन्छु । यो एउटा चुनौतीको पनि घडी हो ।
नेपालका दुईटा विशाल पार्टी एकीकरण भएर पूर्णता पाएको छ । जिम्मेवारी पाएका नेताहरूले सबैलाई समेटेर अगाडि बढ्नुपर्छ । अन्य पदाधिकारीहरूलाई पनि समायोजनको दायरामा ल्याएर क्षमतावान नेताहरूलाई अगाडि ल्याउनु पर्छ । त्यसै अनुसारको जिम्मेवारी दिएर हामी तलका कमिटीहरू पनि बनाउँछौं । अबको जिम्मेवारी भनेको पार्टीलाई एक ढिक्का बनाएर आउने चुनौतीहरूलाई सामना गर्न तयार रहनुपर्छ ।
नेकपा केन्द्रीय नेतृत्वले जसरी जिल्लाहरूमा अध्यक्ष र सचिवको टुंगो लगाएको छ त्यसरी नै अब अन्य पदाधिकारीहरू पनि मनोनयन हुन्छ । जिल्लाहरूमा अब केन्द्रीय नेतृत्वले अन्य पदाधिकारीहरूलाई मनोनयन गर्दैन । त्यसका लागि हामीले सल्लाह र सुझाव दिन्छौं र त्यसको आधारमा प्रदेश कमिटीले टुंगो लाग्नेछ । जिल्लाका मुख्य पदाधिकारी अध्यक्ष र सचिव नै हो । अध्यक्ष र सचिवको टुंगो केन्द्रले लगाइसकेको छ ।
अहिले हामी प्रदेश कमिटी मातहतमा छौं । केन्द्रले अध्यक्ष र सचिव टुंगो लगाउँदा कुनै पनि विवाद छैन, सबैले स्वीकार गरेका छन् । सोही अनुरूप हामीले विवादरहित तरिकाले अन्य पदाधिकारीहरूको चयन गर्नेछौं । अब नेकपाले क्षेत्रीय इन्चार्जहरूको टुंगो लगाउँछ, त्यसका लागि हामीले प्रदेश कमिटीलाई सुझावहरू दिन्छौं । क्षेत्रीय इन्चार्जहरू हामीले सिफारिस गरेको आधारमा प्रदेश कमिटीले अनुमोदन गर्छ । सल्लाहकार समिति, प्रत्येक वडा र क्षेत्रहरूको खाका हामीले तयार गर्दैछौं । हामीले योग्य, क्षमतावान र अनुभवीहरू साथीहरूको कार्यको मूल्यांकन गरेर सोहीअनुसार जिम्मेवारी दिन्छौं । यसैगरी, हामीले युवा पुस्तालाई पनि क्षमताको आधारमा कार्यको जिम्मेवारी दिई एकताबद्ध तरिकाले अगाडि बढ्छौं ।
प्रदेश २ मा नेकपाका लागि धेरै ठूलो चुनौती र अवसर पनि हो । अहिले तीनै तहको सरकारको उपस्थिति रहेको छ । केन्द्रमा हाम्रै पार्टीको दुई तिहाइको सरकार छ भने प्रदेश २ मा मधेशकेन्द्रित दलहरूको सम्मिलित सरकार छ । यस्तो अवस्थामा विगतमा हामीप्रति उठेका नकारात्मक कुराहरूलाई हटाउनुपर्ने हाम्रो पहिलो दायित्व हो । विगतमा मधेशकेन्द्रित दलहरूले आफ्नो कमीकमजोरी लुकाउन हामीलाई गाली गरेर बदनाम गर्ने काम गरे । त्यो भ्रमलाई जनताबाट हटाउन हाम्रो चुनौती हो । हाम्रो विरोधमा गरिएका गलत प्रचारबाजीबारे हामीले बुझाइरहेका छौं र त्यसलाई चिरफार पनि गरिरहेका छौं । अब हामी धनुषा जिल्लाको प्रत्येक वडादेखि पालिकाहरूमा नेकपालाई बलियो बनाउँछौं । हाम्रा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सपना छ कि ‘समृद्ध नेपाल, सुखी नेपाली’, त्यसलाई साकार पार्न हामीले विकासको लहर फैलाएर जनतालाई साँच्चै नै त्यसको अनुभूति गराउँछौं ।
सबैलाई कसरी समेटेर लग्ने भन्ने बारे हामीले रणनीति बनाउँदैछौं । नेपाल कम्युनिष्ट पार्टीले प्रदेश २ लाई उपेक्षा गरेको वा हेपेको लगायतका भ्रमहरू छरिएको छ । विगतमा हामीले यस्ता आरोपहरू केही मधेशकेन्द्रित दलका नेताहरूबाट खेप्यौं । तर, नेपाल कम्युनिष्ट पार्टीले जति रचनात्मक कार्य यो प्रदेशमा गरेको छ, अहिलेसम्म प्रदेश सरकारले पनि गर्न सकेको छैन । प्रदेश २ को विकास निर्माणको कार्यमा नेकपा नेतृत्वको संघीय सरकारले विशेष प्राथमिकतामा राखेको छ । हाम्रो संघीय सरकारले प्रदेश २ का अत्यन्तै राम्रा–राम्रा योजनाहरू ल्याएको छ । त्यसैले प्रदेश २ मा परिवर्तनका वाहक नेकपा नै हो । नेपाल कम्युनिष्ट पार्टीले परिवर्तन चाहन्छ र सोही अनुसार विकासको लहर लिएर आउँदैछ । हाम्रो मुख्य उद्देश्य नै हरेक ठाउँमा विकास गर्ने, समस्याग्रस्त ठाउँको पहिचान गरेर अगाडि बढ्ने रहेको छ । सोहीअनुसार हामीलाई हाम्रो मुख्यालयबाट निर्देशन आएको छ ।
विगतमा हाम्रा पार्टी अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिहरूलाई अनावश्यक रूपमा बंग्याएर प्रचारबाजीहरू गराइयो । केपी ओली मधेश विरोधी हुन् भन्ने किसिमका नकारात्मक भ्रमहरू पनि फैलाइए । विगतमा कथित मधेशवादीहरूले मधेशमा आफ्नो वर्चस्व बढाउनका लागि हामीलाई गाली गरेका थिए । तर, जनताले अनावश्यक भ्रम फैलाउनेहरूको चरित्र पनि हेरिसकेका छन् । जनताले राम्ररी बुझिसकेका छन् कि जनपक्षीय काम गर्ने पार्टी नै नेपाल कम्युनिष्ट पार्टी हो । विगतमा हामीले जुन सोच ल्याएका थियौं जस्तै–आफ्नो गाउँ आफै बनाऊँ, वृद्ध भत्तामा वृद्धि, विधवा भत्ता, विकास निर्माण लगायतका अभियानहरू हामीले सुरू गरेका थियौं । ती सबै लोकप्रिय कामहरू गरेर जनतामा हामी स्थापित हुँदैछौं । यी कुरा हामीले मधेशका जनतालाई पनि बुझाउन सफल भएका छौं । कथित मधेशवादीहरूले मधेशलाई अधिकार दिएन, मधेशीलाई हेला ग¥यो भनेर अनावश्यकरूपमा हामीलाई आरोप लगाउने काम ग¥यो । ती सबै कुरा जनताले बुझिसकेका छन् कि ती कुराहरू कपोलकल्पित थियो ।
केही नेताहरूले आफ्नो व्यक्तिगत स्वार्थ सिद्ध गर्नका लागि हामीलाई बदनाम गर्न खोजेका थिए । तर, हामीले ती अनावश्यक आरोप र भ्रमलाई चिर्न सफल भयौं । अहिले पनि प्रदेश २ मात्रै होइन मधेशका हरेक जिल्लामा हाम्रो संगठन बलियो रूपमा उपस्थिति जनाएको छ । अहिले पनि नेकपालाई प्रदेश २ मा सबभन्दा ठूलो दलको रूपमा जनताले मत दिएर पठाएका छन् । हाम्रा नीति, कार्यक्रम र कार्य हेरेर जनताले नेपाल कम्युनिष्ट पार्टीमाथि विश्वास गरेको छ । केही फटाहा र सामन्ती प्रवृत्तिका नेताहरूले हामीलाई दबनाम गर्ने प्रयत्न गरे । गरिब, किसान, मजदूर जनता हाम्रा पक्षमा छन् ।
जनताले अब आउने दिनमा नेकपालाई बहुमत दिनेछ । नेकपाले नै विकास र समृद्धि ल्याउन सक्छ भन्ने विश्वास आम जनतामा जागेको छ । नेकपाप्रति अन्य पार्टीका नेता कार्यकर्ताहरूको विश्वास लाग्न थालेको छ र नेकपा प्रवेश गर्ने क्रम बढ्दै गएको छ । आगामी दिनमा नेकपामा प्रवेशको लहर आउँदैछ । ठाउँ–ठाउँका नेता कार्यकर्ताहरू नेकपामा प्रवेश गर्न आतुर देखिएका छन् । मधेशवादी दलहरूका धेरै वडाअध्यक्षहरू नेकपामा आइसकेका छन् । जनताका आशा र भरोसा नेकपा नै हो भनेर भनिरहेका छन् । नेकपाप्रति मधेशमा जुन नकारात्मक प्रचार गरिएको थियो त्यो सबै हटिसकेको अवस्था छ । भर्खरै रौतहटको गरूडामा सम्पन्न आमसभामा पनि अपार जनसंख्याको उपस्थिति रहेको थियो । त्यसले पनि अनुमान लगाउन सकिन्छ कि नेकपाप्रति आम जनताको विश्वास कति बढेको हो । गरूडामा हामीले कल्पना गरेभन्दा बढी जनसमुदायको उपस्थिति रहेको थियो । नेकपाप्रति बढ्दै गएको जनसमर्थनलाई हेरेर अन्य पार्टीहरूको सातोपुत्ला जान थालेको छ । मधेशमा आगामी दिनमा नेकपाले नै सरकार बनाउँछ र जनताको अपेक्षा पूरा गर्छ ।
जनताबीच ठूला–ठूला भाषण गरेर जनतालाई सपना देखाइ सरकार बनाएका राजपा र फोरमको सरकारले प्रदेश २ मा कुनै पनि उल्लेखनीय कार्य गर्न सकेको छैन । प्रदेश सरकारले संघीय सरकारलाई बदनाम गराउन मात्र लागेको देखिन्छ । विकास निर्माणका लागि आएका बजेट राम्ररी उपयोग गर्न सकिरहेको छैन । तसर्थ, हामी भन्न सक्छौं कि प्रदेश २ को सरकार पूर्ण असफल छ । जनताको पक्षमा काम गर्नका लागि हामीले पनि निरन्तर दबाब दिइरहेका छौं । प्रदेश २ को संसदमा पनि हाम्रा पार्टीका सांसदहरूले प्रदेश सरकारलाई दबाब दिइरहेका छन् ।
प्रदेश सरकारले आफ्ना नेता कार्यकर्ताहरूलाई भर्ना मात्र गरिरहेका छन् । प्रदेश सरकारले भर्ति केन्द्र बनाएको छ । प्रदेशका मन्त्रीहरूले आफ्ना आसेपासेहरूलाई खोजी–खोजी विकास निर्माणको नाममा बजेट दिइरहेका छन् । बजेट कसरी हत्याउने त्यस्ता कार्यमा प्रदेश सरकारका मन्त्रीहरू लागेका छन् । यो कुराहरूलाई हामीले आन्दोलनको रूपमा अगाडि बढाउनेछौं र जनताको बीचमा हामी जान्छौं ।
जनताको पक्षमा वकालत गर्न हामी प्रदेश सरकारलाई घच्घचाउँछौं । प्रदेश सरकारले काम गरपछि हामीले सल्लाह र सुझाव दिन्छौं तर कामै गर्दैन भने कसरी सुझाव वा सल्लाह दिने ? हामी चाहन्छौं कि प्रदेश सरकारले आफ्ना कमी कमजोरी सच्याओस् । जनताको पक्षमा काम गर्न र भेदभाव नगर्न प्रदेश सरकारलाई हामी दबाब दिइरहन्छौं । जनताको पक्षमा काम नगरेपछि हामीले प्रदेश सरकारको विरूद्धमा आन्दोलन गर्ने बाहेक अन्य कुनै विकल्प रहँदैन । लामो समयको संघर्षपछि जनताले प्राप्त गरेका उपलब्धिहरू संस्थागत गर्न र जनता अपेक्षित काम गर्न हाम्रो दबाब निरन्तर रहन्छ । जनताको विकासको बजेटबाट आफ्नो कार्यकर्ता पाल्ने कार्य बन्द नगरिए हामी बाध्य भएर कडा कदम चाल्नेछौं । त्यसकारण, प्रदेश सरकारको गलत कामको भण्डार त हामीले गर्नैैपर्छ ।
विकास निर्माणका लागि आएका बजेटमा व्यापक आर्थिक अनियमितता भएको आम जनगुनासोहरू आइरहेका छन् । प्रदेशका मन्त्रीहरूले आफ्ना आसेपासेहरूलाई बजेट बाँड्ने तर काम कागजमा मात्र देखिने गरेको कुरा सर्बविदितै छ । विगतमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधाम आउँदा व्यापक अनियमितता भएको कुरा सत्तारूढ दलकै नेता कार्यकर्ताहरू आरोप लगाइरहेका छन् । प्रधानमन्त्री मोदीको भ्रमणमा कति खर्च भयो, के शीर्षकमा भयो भन्ने कुराको कुनै लेखाजोखा नै छैन । त्यस्तै, भारतको उत्तरप्रदेशका मुख्यमन्त्रीको भ्रमणमा पनि आर्थिक अनियमितता भएको गुनासाहरू छन् । यस्ता कुराहरूको स्पष्टिकरण अहिलेसम्म पनि प्रदेश सरकारले दिन सकेको छैन । खासगरी प्रदेश सरकारले गर्ने खर्चहरूको कहीं कतै पनि पारदर्शिता छैन भन्ने कुरा सम्बन्धित पार्टीकै सांसदहरूले पनि विरोध जनाइरहेका छन् । तसर्थ, जनताको विकासका लागि आएका बजेटमा आर्थिक अनियमितता भइरहँदा हामी चुप लागेर बस्दैनौं । (नेकपाका धनुषा जिल्ला अध्यक्ष यादवसँग गरिएको कुराकानीमा आधारित) मधेश दर्पण