किरात प्रदेशमा किन निर्णय ?

alt
  • बैशाख २४, २०७६
  • ८१ पटक पढिएको
  • नगेन चाम्लिङ

किरात प्रदेश नामाकरण गरेर राईको इतिहास बचाउने कि हिन्दूको ? प्रदेश एकको सवालमा यहाँका जनप्रतिनिधिदेखि अधिकांश नागरिकहरू दुविधामा छन् । जनप्रतिनिधिमा डर पनि छ कि आज एउटा नाम प्रस्ताव ल्याउँला भोलि जनताले तिरस्कार गर्ने पो हुन् कि ? यस्तै–यस्तै अनुत्तरित कुतूहलले भरिएर आज प्रदेश एक बेनामे भएर बसिरहेको छ । प्रदेश एकको नामाकरण गर्ने विषयमा भ्रम र यथार्थ, केही उदाहरण, असर, र विकल्पबारे यहाँ चर्चा गरौं ।

नेपालको पूर्वी भेगमा पुरानो बसोवास रहेको किरात समुदाय भनेर चिनिने विविध जातिहरू राई, लिम्बू, सुनुवार, याक्खा र अन्य छन् । यी अधिकांशले एक नम्बर प्रदेशको नाम किरात भए मेरो पहिचान र इतिहास जोगिरहने छ भन्ने विश्वास लिन्छन् । कतिपयले सोचेका छन्, नाम भएपछि सबैमा किरातीको अधिपत्य हुनेछ । त्यसैगरी किरात जातिभित्र नपरेको ठान्ने अन्य अधिकांशले किरात नाम भएपछि हाम्रो अधिकार सङ्कटमा पर्छ, त्यसैले कसैको पनि इतिहास नखुल्ने अमुक नाम दिउँ भन्ने दाउपेचमा तल्लीन छन् । इतिहास खुल्ने नाम दिँदैमा कसैको अधिकार खोसिएला त ? अमेरिकाको उदाहरण हेरौं डाकोटा, मिसौरी, मिनिसोडा, उथा र अरु धेरै राज्यहरूको नामाङ्कन त्यहाँका आदिवासीको साना–साना पुरानो देशको नामबाट समेटिएको छ । यसले अमेरिकाको इतिहासलाई बुझाउन सजिलो भएको छ । के त्यहाँ नाम राख्दैमा बाहिरबाट आएकाहरूलाई अपमान भएको छ ? उनीहरूले गोराहरूलाई लखेटे त ? अमेरिका मात्र हैन संसारको कुनै पनि प्रजातान्त्रिक मुलुकले आपसमा विभेद गर्ने भन्ने अहिलेको युगमा अकल्पनीय छ । त्यहाँ यतिमात्र हो आदिवासीहरूलाई गाँस, बास, कपास, रोजगारलगायतमा भने सहुलियत छ । त्यो त नेपालले पनि शुरु गरिसकेकै छ ।

किरातको यथार्थ के हो त ? सर्व प्रथम किरात शब्द कहाँबाट उत्पत्ति भयो ? यसबारे प्रष्ट हुन जरुरी छ । धेरै ऐतिहासिक नामहरूमा दुविधा भए पनि किरातमा समानता छ । तथापि अधिकांशलाई थाहा छैन, किराती शब्द कसरी स्थापित भयो भनेर । किरात शब्द वास्तवमा किरातीको न मुन्धुममा छ, न यो उनीहरूको इच्छा थियो । किराती भनिएको समुदायको मुन्धुममा त यलखोम छ । त्यसो भए यलखोम राज्य खोज्नु पर्ने थियो, किन किरात स्वीकार्न तम्सियो त ? यसमा प्रष्ट जवाफ एउटै मात्र छ, किरात शब्द हिन्दूकै उपज हो ।

हिन्दूको इतिहास वा शास्त्रले किरातीको देश भनेर यलाखोमलाई अर्को नाम दियो । जसरी बेलायती सरकारले भारतलाई इण्डिया नामाकरण गरेपछि कालान्तरमा उसको नाम इण्डिया भनेर चिनाउन बाध्य भयो । त्यसरी नै यलाखोमवासीले अहिले आफूलाई किरात भनेर चिनाउन बाध्य भएको हो । इण्डिया नामको इतिहास दुई सय वर्षको मात्र हो । तर हिन्दूको शास्त्रअनुसार किरातको इतिहास सत्य युगदेखिको निरन्तर छ । यति लामो इतिहास बोकेको नेपालमा किरात भन्ने प्रदेशको नामसम्म रहेन भने हिन्दूको वेद शास्त्र पनि गलत छ भन्ने आधार हुने छ । हिन्दूको गलत इतिहासको एउटा उदाहरण, राम जन्मिएको भनिएको अयोध्यामा उत्खनन् पछि पत्ता लागेको छ । उत्खनन्ले त्यहाँ सबै बौद्ध सम्बन्धीमात्र प्रमाणहरू फेला परेपछि हिन्दूहरूमा तरङ्ग छाएको छ । के हिन्दूले व्याख्या गर्ने किरात पनि यस्तै गलत हो ? होइन भने खासमा हिन्दूहरूको लागि किरात प्रदेश हुनु सुनौलो मौका हो । यहाँ कुनै प्रमाण जुटाउनु जरुरी पनि छैन ।

यहाँ किरातको विकल्पमा सगरमाथा वा कोशी भनेर पनि प्रचारमा ल्याइने गरेको छ । सम्भव हरेक शब्दमा हुन्छ, तर यसको ऐतिहासिक प्रमाणीकरण इतिहासलाई कसरी गराउने ? भविष्यमा इतिहास कसरी थाहा पाउने ? यसबारे राजनीति गर्नेले ध्यान दिनु पर्छकि पर्दैन ? कोशी र सगरमाथा दुवैको नामाकरण गरिएको इतिहास हेर्ने हो भने ८० देखि १०० वर्ष भन्दा पर छँदै छैन । मानौं, यीमध्ये एकको नामाकरण भयो तर नामाकरणले के अर्थ दियो त ? यसमा हामी सबै अनुत्तरित छौं । जहिल्यै कुहिरोको काग जस्तो हुने ? अब अनुत्तरित हुनु हुँदैन कोशी र सगरमाथा जति बेला नामाकरण भयो त्योभन्दा पहिले त्यहाँअर्कै नाम थियो । कोशीलाई वालाम्ता र सगरमाथालाई चोमोलुङ्मा यलखोमबासीले भन्दथे र अहिले पनि चलनमा छ र जसले अध्यायन गरिरहेका छन् उनीहरूलाई पनि थाहा छ । कोशी नामको अर्थ र सम्भावनाबारे चर्चा गरौं । कोष (सानो ईकाई) सँग ‘शी’शब्द समास गरेर कोशी शब्द हुन्छ । यसले नदीको नाम वा भूगोलको नाम भनेर खास अर्थ दिँदैन तर अङ्ग्रेजीमा (कोस्ट, कोस्टी) को अर्थ समुद्र क्षेत्रको भूभाग र ‘शी’ भनेको समुद्र हुन्छ ।

नेपालसँग अङ्ग्रेजको सम्बन्ध दुई सय वर्ष ज्यादा लामो छ । यो अवधिमा उनीहरू कोशी नदी धेरै तरेका छन् । नेपालमा समुद्री भाग नहुँदा कुनै अङ्ग्रेज कुटनीतिज्ञले कोशीलाई देखेपछि ‘कोस्ट्–शी’ भनेको हुनु पर्छ । यो नै नेपालीले पछि कोशी भनेर चिनाएको हुन सक्छ । आजकाल अधिकांश नेपालीले कोशीको अर्थ ठूला नदीहरू भन्ने बुझ्नुले पनि कोशी नामले एक नम्बर प्रदेशको नदी वा क्षेत्रलाई मात्र समेट्दैन । अर्को अर्थमा भन्नु पर्दा धेरै टाढाको ठाउँलाई इङ्गित गर्दा पनि कोश भन्ने गरिन्छ । काठमाडौं बस्ने वा सर्वसाधारणले पूर्वी भेगलाई टाढा भनेर चिन्न पनि कोशी नाम गरेको हुन सक्छन् । अर्को सम्भावित कोशीसँग मेल खाने नाम काँशी छ । यो भारतको ऐतिहासिक शहर जसलाई नेपाली हिन्दूले पनि सम्मान गर्छन् । त्यसैलाई सापटी ल्याएर नेपालमा नामाङ्कन गर्न खोजेको भए त्यो पनि प्रष्ट उल्लेख गर्नु पर्छ । मानौं भारतमा गोर्खाल्याण्ड राज्य माग भइरहेको छ । गोर्खाल्याण्ड शब्द नेपालीसँग जोडिएको भनेर उनीहरूले प्रष्ट खुलाएका छन् । फरक सत्य यति हो गोर्खाल्याण्ड माग्नेहरू त्यहाँका पहिलो बासिन्दा हुन् । तर काँशीलाई मान्नेहरू आयातित हुन् ।

केही भारतका राज्यहरूसंँ तुलना गरेर पनि नेपालमा प्रदेशको नामाकरणलाई सहज बनाउन सकिन्छ । धेरै उदाहरणमध्ये केही लियौं । भारतमा आशाम राज्यको नाम ब्रम्हपुत्र किन हुन सकेन ? बिहार किन घागरा वा गङ्गा प्रदेश भएन ? वा कस्मिर किन लद्दाख हिमालको नामबाट राखिएन ? किनकि आसाममा आसामीको इतिहास राख्नु छ, बिहारमा बौद्धको इतिहास बचाउनु छ, कस्मिरमा मुस्लिमको इतिहास राख्नुछ । बिहार राज्य जहाँ भनिएको छ त्यो बुद्धको बिहारलाई संरक्षण गरेर राखेकाले बिहार नामाङ्कन भएको हो । आश्चर्य के छ भने बिहार राज्यमा एक प्रतिशत पनि बौद्ध धर्मावलम्वीहरू छैनन् । भारतको यो उदाहरणले के पुष्टि हुन्छ भने नदीको नाम नदीसँगै वा पहाडको नाम पहाडसँगै छ, राज्यको लागि अर्को नाम हुन जरुरी छ । जसले त्यहाँको इतिहासलाई बचाइराखेको होस् । सगरमाथा नाम कसरी रहयो यसको ऐतिहासिकता के हो अधिकांशलाई ज्ञान छ । ‘सगर’ को अर्थ आकाश ‘माथा’ को अर्थ शिर समास गर्दा सगरमाथा भयो ।अर्थपूर्ण नाम भए पनि यो नाम स्वीकार्य हुन्न । किन हुन्न भन्ने एउटा उदाहरण, चार्लेस बाबागेले कम्प्युटर बनाए, कम्प्युटरलाई नेपालीले स्वचालित मेसिन भनेर बुझाउन सकिन्छ तर नाम दिन मिल्दैन । तात्पर्य बाबुराम आचार्यले सगरमाथा भनेको नाम राख्न उनको कुनै योगदान छैन ।

अन्तमा, सगरमाथा वा कोशीजस्ता नाम राखिएमा यसको नकारात्मक असरहरू प्रसस्ती हुनेछन् । सर्वप्रथम कोशी वा सगरमाथा नामको अर्थ कसैले प्रष्ट बनाउन नसक्नु, दोस्रो पुरानै राजाकै प्रदेश त आयो भन्ने हिनताबोध हुनु, इतिहास तोडमोड गराएकाले आत्मग्लानी हुनुजस्ता नकारात्मक असरहरू पर्नेछन् । यस्ता कथा बिनाको प्रदेशको नामको गाथा जनताले कहिल्यै गाउने छैनन् । अर्थ बिनाको राज्यको नाम आएमा किरातजन्य सङ्गठन र पहिचानवादी सङ्गठनहरूले रुष्टता पोख्नेमा दुविधा छैन । दलभित्रैबाट समेत यस्ता अर्थन वर्थको नाम विरुद्ध आवाज उठाउने प्रस्टै देखियो । यसले प्रदेश एकमा राजनीतिमा असहज हुने निश्चित छ । असहज राजनीतिले हरेक विकासमा बाधा पुर्याउँछ ।

त्यसकारण, भ्रममा नपरी, यथार्थको पक्षमा प्रदेश संसदले निर्णय लिनुको विकल्प छैन । नेपालको सबैभन्दा पुरानो इतिहास किरात प्रदेश नामाकरण गर्नमा गर्व गरौं । यसका लागि सबै जनताले खबरदारी गर्नुको विकल्प छैन । कसैले पनि मुख्य मन्त्री वा सभामुखको मुख नताक्नुस् । उनीहरू अन्तिममा विकल्प दिने मात्र हुन् । फेरि पनि, डिजिटल जमानामा नेपालीमात्र हैन विदेशीले समेत संसारको कुना–कुनामा बसेर नेपालीबारे अध्ययन गरिरहेका छन् । किरात प्रदेश नामाकरण गर्ने अवसर पाएर पनि नामाकरण भएन भने किरात प्रदेशको माग हराउनेवाला छैन । कालान्तरले किरात प्रदेश नामाकरण गराउन सक्छ । कालान्तरसम्म तपाईं एक नम्बरको जनप्रतिनिधि साँचिकै एक नम्बरमा सम्मानित हुने कि अपमानित ? स्वतन्त्र विचार गरी निर्णय लियौं ।

भोजपुरमा विप्लव र प्

भोजपुर । भोजपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेक

धरानबाट खुकुरी र कट्

धरान  / धरानको बगरकोटबाट कट्टीसहित दुई जनालाई

नौ महीनामा छ खर्ब ५३

  काठमाडाैं /  वैदेशिक रोजगारीमा गएका

भागेर ज्यान जोगाएकी

दमक / पाचथरमा ९ जनाको हत्या हुदा भागेर ज्यान जोगाउन सफल


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved