भद्रपुर / भारतीयलाई नागरिकता दिएको काण्डमा आरोपित नौ जनालाई प्रहरीले समाउन चासो देखाएको छैन । भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन कागजी प्रक्रिया मिलाइदिने जनप्रतिनिधि, कर्मचारीसहित स्थानीयको नाममा झापा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको दुई हप्ता पुग्न लाग्दा समेत प्रहरीले समाउन नसकेको हो ।
भारतीय नागरिक ३५ वर्षीय भुपाल गुरुङलाई नागरिकता बनाउन सहयोग पुर्याउन सर्जिमिनमा बस्ने स्थानीय, जन्मदर्ता बनाइदिने जनप्रतिनिधि र कर्मचारीको नाममा पक्राउ पुर्जी जारी भएको थियो । हालसम्म प्रहरीले एक जनालाई पक्राउ नगरेकोले प्रहरी सङ्गठनमाथि आशङ्का देखिएको छ । आरोपितहरु प्रहरीकै संरक्षणमा रहेकोले पक्राउ नपरेको श्रोतले जनाएको छ । अदालतले वैशाख १७ मा कचनकवल गाउँपालिका वडा नम्बर २ वडाध्यक्ष मेखबहादुर भट्टराई , वडा सदस्य धनबहादुर गुरुङ, वडा सचिव हरिप्रसाद गौतम, कर्मचारी खगेन्द्रप्रसाद खतिवडा, कविता गुरुङ, गङ्गाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेमप्रसाद तिम्सिना र शिवकुमार दाहालको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । पुर्जी जारी भएपछि सवै जना विभिन्न वहाना पारेर यत्रतत्र छरिएर प्रहरीको सम्पर्कमा रहेको श्रोतको दाबी छ । वडा सदस्य चन्द्रशेखर अधिकारीलाई वडा कार्यालयको सम्पूर्ण जिम्मेवारी दिएर पक्राउ पुर्जी जारी भएको दुई दिनसम्म वडामै रहेका वडाध्यक्ष भट्टराईलाई पक्राउ नगर्नुमा प्रहरीको संरक्षण रहेको पुष्टि हुन्छ ।
वडाध्यक्षसहित नौ जनालाई पक्राउ गर्न प्रहरी परिचालन गरिसकेको इलाका प्रहरी कार्यालय बनियानीका सई उदय शमशेर राणाले बताए । घटनापछि नामावली गोप्य नभएका कारण उनीहरु फरार रहेको उनको भनाइ छ । वडाध्यक्ष काम विशेषले इलाम गएकोले उनीसँग चै सम्पर्क भइरहेको उनको भनाइ छ । प्रहरीको संरक्षण नरहेको उनले दाबी गरे । यता वडाध्यक्ष भट्टराई, वडा सचिव गौतम, कर्मचारी खतिवडा फरार भएपछि वडा कार्यालयको सेवा प्रभावित बनेको पाइएको छ ।
कचनकवल गाउँपालिका २ का बमबहादुर गुरुङ् र उनका श्रीमती चन्द्रकला गुरुङले आफ्नो जेठो छोरा भन्दै भारतीय नागरिक आसाम राज्यको मणिपुर कानकोपी जिल्लाका ३५ वर्षीय भूपालाई नेपाली नागरिकता बनाई दिन आवश्यक कागजात पूरा गरी वैशाख १० गते वुधबार जिल्ला प्रशासन कार्यालय झापा लगेका थिए । भूपालको आँैलामा मतदान गरेको मसी लागेको देखेपछि उनिमाथि शङ्का लागेर प्रशासन कार्यालय झापाका अधिकृत गौरव ढुङ्गेलले सोधपुछ गर्दा स्थायी ठेगाना भारत भएको र भारतीय मतदाता परिचयपत्र देखाएपछि घटना सार्वजानिक भएको थियो । नातामा छोरा भन्दै भारतीय नागरिकलाई वंशजको आधारमा नक्कली वावु बनेर नेपाली नागरिकता लिन आएका बमबहादुर सहित भुपाललाई जिल्ला प्रशासन कार्यालय झापा परिसरबाटै अधिकृत ढुङ्गेलल प्रहरीलाइ जिम्मा लगाएका थिए ।
भुपालको स्थायी ठेगाना भारत आसाम राज्यको मणिपुर कानकोपी जिल्ला उल्लेख छ । उनको बुबाको नाम चन्द्रबहादुर गुरुङ भएको उनको मतदाता परिचयपत्रमा उल्लेख छ । अनुसन्धानको क्रममा भुपालले आफू भारतीय नागरिक भएको स्वीकार गरेको प्रहरीले जनाएको छ । बमबहादुर र भुपाललाइ प्रहरी कार्यालयमा राखिएको छ ।
प्रहरी मुचुल्कामा जिल्ला झापा कचनकवल गाउँपालिका वडा नम्बर २ बस्ने बमबहादुर गुरुङको छोरा भूपाल गुरुङको मिति २०४० साल १० महिना ७ गते यस कचनकवल गाउँपालिकापा वडा नम्बर २ मा जन्म भएको उल्लेख छ । हालसम्म जन्म दर्ता नभएकोले जन्म दर्ता गरिदिन हुन भनि निवेदन दिएका थिए ।