धरान/ कृषि, शिक्षा, पशुपालन, पर्यटन, पूर्वाधार विकासलगायतका योजनालाई प्राथमिकीकरण गर्दै बेलका नगरपालिकाले बुधबारदेखि जारी तीन दिवसीय ‘पञ्चवर्षीय आवधिक नगर विकास योजना’सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । 
 
आर्थिक वर्ष ०७५-७६ देखि ०७९-८० सम्मका लागि बेलका नगरपालिकाले आवधिक नगर विकास योजना तर्जुमा गरेको हो । ‘आर्थिक विकास, सम्मानित जीवन र समावेशी पूर्वाधार, वातावरणीय सन्तुलन र प्रविधि, समाजवाद उन्मुख समृद्ध नगर’, आर्थिक समृद्धि, सामाजिक न्याय र भौतिक पूर्वाधार, सुशासन र सामाजिक परिचालन दीगो विकासको आधार’, आर्थिक समृद्धि, सम्मानित जीवन र समावेशी पूर्वाधार, सुशासन र प्रविधि दीगो विकासको आधार’ र ‘समाजवाद उन्मुख, सभ्य समृद्ध नगर’ लगायतका नारा तय गर्दै नगर विकासका काम अघि बढाइने बेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापा (स्वस्तिक) ले बताए । 
 
प्रयास हेल्भेटास नेपाल, नेदरल्याण्ड लेप्रोसी रिलिफ, केयर नेपाललगायतका गैरसरकारी संस्थाहरूको सहयोगमा पर्यटकीय स्थल भेडेटारमा योजनाहरूको प्राथमिकीकरण गरिएको हो । बेलका नगरपालिकाको दूरदृष्टि, लक्ष्य र उद्देश्यसहितका योजना निर्माणका लागि विज्ञहरूको सहजीकरणमा आवधिक योजना तर्जुमा गरिएको बेलका नगरपालिकाका प्रवक्ता मोहन घिमिरेले जानकारी दिए । 
 
विज्ञहरू रामचन्द्र लामिछाने, नन्दलाल बास्तोला र प्रमुख प्रशासकीय अधिकृत भट्टराईले गोष्ठीको सहजीकरण गरेका थिए । बेलका नगरपालिकाले बुधार शुरु गोष्ठीको उद्घाटन भने प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवनकुमार घिमिरेले गरेका थिए ।