पुरुषगन्ध

alt
  • बैशाख २९, २०७६
  • २१८ पटक पढिएको
  • ब्लाष्ट खबर

पेशाले इमान्दार प्राध्यापक हो ऊ । धरानको एउटा क्याम्पसमा करिब छ वर्ष अगाडिदेखि नै प्राध्यापन गरिरहेको छ । उसलाई चिन्नेले अङ्ग्रेजी विषयको प्राध्यापक भनेर चिन्छन् । प्राध्यापक भएर कलेजमा पढाए पनि उमेर भने छिप्पिहालेको छैन । म उसलाई भर्खरकै भनेर बुझ्छु । अर्थात् भनौं, जर्बजस्ती भर्खरको ठिटो मान्छु । भलै, उसको उमेर पैंतिस वर्ष किन नपुगोस् । शायद मैले यस्तो सोच्नुको पछाडि ऊ अझैसम्म अविवाहित रहेकाले पनि हुनसक्छ । हैन हैन.... त्यति मात्र कारण छैन, शायद मैले उसप्रति देखाएको अमूर्त आशा, प्रेम र झुकावले गर्दा पनि हुनसक्छ । 

हिजो आएको थियो ऊ मेरो घरमा । उसको उपस्थिति एउटा रमणीय, सुन्दर र कौतूहलको क्षण बन्छ मेरा लागि । मलाई थाहा छैन त्यस्तो किन हुन्छ । प्रायः दैनिक हाम्रो भेट हुन्छ, नियमित पनि । अरु आएको र ऊ आएको पदचापबाटै थाहा पाउँछु म । घरअगाडिको फलामे गेट खोल्दा बजेको आवाजबाटै थाहा पाउँछु । 

यो गेट पक्कै उसले नै खोलेको हो । हेर्छु नभन्दै ऊ नै रहेछ । उसको प्रवेशसँगै मभित्र नयाँ स्फूर्ति, नयाँ उत्साह र नयाँ उत्तेजना जागृत भएको महशुस हुन्छ मलाई । 

फिस्स हाँस्छ, कुनै साइनोबिना नै बोल्छ अनौपचारिक शैलीमा । 

‘आज कलेजमा केटीहरू देखेर छक्कै परें’

मलाई उसको यो एक्कासी बोलेको शब्दप्रति त्यसै जिज्ञासा पलाएर आउँछ । अनायसै प्रश्न गरिहाल्छु, ‘केटी देख्तैमा किन परियो त छक्क?’

उ एकछिन सम्म बोल्दैन । 

नबोले पनि मेरा अङ्ग–प्रत्यङ्गमा आँखा लगाइरहेको हुन्छ । शायद मेरो जिज्ञासालाई पढिरहेको हुन्छ । अस्वाभाविक थिएन मलाई हेर्नुमा । यस्तो लाग्छ उसले धित नमरुञ्जेल मेरो अङ्ग–प्रत्यङ्ग हेरिरहोस्, नियालिरहोस् र नजर लगाइरहोस् ममा । वास्तवमा त्यसरी नजर लगाएर एकोहोरो हेर्ने मन त मलाई पनि छ । मैले उसलाई कैयौं पटक धितमरुञ्जेल हेरेकी छु । तै पनि अघाएकी छैन । उसलाई कैयौं बेरसम्म मैले त्यसरी हेर्दा बरु एक प्रकारले मातेकी छु । त्यो मात मेरा लागि जीवनको मात थियो । भावनाको गहिराइमा डुबेर निर्मिमेष उसलाई हेर्दा खै कस्तो देखें कुन्नि, मातेर झण्डै म्वाई खाइदिएकी थिएँ उसका अधरमा । 

निकै बेरको मौनतापछि उसले भन्यो, ‘क्याण्टिनमा चिया पिउँदा डिप्लोमाका बैनीहरूले मलाई उनीहरूका आफना ब्वाई फ्रेण्ड देखाए र निर्धक्क प्रशंसा सुनाए आफ्ना ब्वाइफ्रेण्डका बारेमा । सम्झें, कस्तो जमाना आएछ । आफूले त कुनै ठिटीलाई यसो नजर उठाएरसम्म नहेरी डिग्री गरियो ।’ 

‘तपाईंलाई जिस्काएका होलान नि । अब तपाईंले अहिलेसम्म एउटीलाई पनि पट्याउनु भएको छैन, हुत्तिहारा ?’ प्रोफेसरप्रतिको व्यङ्ग्य थियो यो तर हल्का ।

विजयपुर डाँडो कुहिरोले डम्म ढाकिएको छ । म उसलाई टिभी रुममा बस्न आग्रह गर्छु । ऊ मेरा पछिपछि डोरीले तानिएर आएझैं आउँछ र टिभी अन गर्न हामी दुबै रिमोटतिर एकैसाथ झम्टन्छौं । उसको हातमाथि मेरो हात पर्छ । रिमोट कन्ट्रोल समाउने होडमा म उसको कसिलो हातलाई दरिलो गरी अँठ्याउन पुग्छु । मलाई एकाएक करेण्ट लागेजस्तो अनुभूति हुन्छ । शरीरभरि काउकुति लाग्छ । र लाग्छ, त्यो हात समाइरहुँ । ऊ रिमोट छोड्दैन । म उसको हात समाउन छोड्दिन । यो छिनाझपटी लगातार भइरहोस् जस्तो लाग्छ । र, म जानीजानी समाइराख्छु उसको हात । अघि नै उसको अर्को हातमा सरिसकोको हुन्छ रिमोट । तर म उसको अघिको दाहिने हात नै अँठ्याइ रहेकी हुन्छु । मैले यसरी अँठ्याउँदा कस्तो हुँदोहोला उसलाई, के सोच्दो होला, झन् अविवाहित ऊ त । शायद अझैसम्म कुनै केटीको स्पर्श समेत पाएको छैन होला, शारीरिक सम्पर्कको कुरा त परै जाओस् कुनै युवतीसँग लेपासिएको पनि छैन होला । 

यस्तो सोचिरहेकी हुन्ुछ म । 

ऊ रिमोटले टिभिअन गर्छ र रिमोट एकातिर राखेर मेरो हात फुस्काउन बल गर्छ । झन् कसिलो गरी समात्छु । ममा एक प्रकारको उत्तेजना आइसकेको छ, उसले मेरो हात फुस्काउने प्रयासमा अर्को हातले कसिलो गरी अँठ्याउँदा, हामी दुवै पौंठेजोरी खेल्न थाल्छौं । एउटा फुस्के पनि उसको अर्को हात म फेरि पक्रिन्छु । क्रमशः केही मिनेटसम्म यो क्रम जारी रहन्छ । टिभिमा अङ्ग्रेजी फिल्म आइरहेको हुन्छ, छिन् छिन्मा चुम्वनका दृश्यहरू, बेडसिन, आलिङ्नगबद्ध जोडीका हल्का रतिरागका दृश्यहरू ।

ऊ चुपचाप सेलाउन लागेको चिया पिउन थाल्छ । मेरो हातमा रिमोट भए पनि दृश्य बदल्दिन बरु ती दृश्यलाई हेरिरहन्छु । र, उसको अनुहारको भाव पढछु । चोरीचोरी हेर्छु । ऊमा कुनै परिवर्तन आएको छैन । मात्र चियाको स्वाद लिइरहेको छ । टिभीमा देखिएका प्रणयका सामान्य दृश्यहरू चाख मानेर हेर्दाहेर्दै परिवर्तन हुन्छन् । मेरो मनले भन्छ, यस्ता दृश्य फेरि दोहोरिएर आएहुन्थ्यो । 

अघि पौठेजोरी खेलेकाले हात निकै रातो भएको छ । त्यसो त उसको हात पनि निकै रातो भएको छ । म आफ्नो रातो भएर अलि अलि पिल्सिएको हात देखाउँदै भन्छु, ‘के सारो पक्रिनु भएको, पिल्सिने गरी ।’

ऊ हाँस्दै मेरो पिल्सिएको हात बिस्तारै छाम्छ । म यही चाहन्थें, जुन उसले गरिरहेको छ । मैले चाहँदाचाहँदै पनि उसले आफ्नो हात हटाउँछ मेरो हातमाथिबाट । हामी बाहिर निस्कन्छौं । कुहिरो अलिअलि हटेको छ । म फेरि उसको टाउकोबाट एउटा सेतो फुलेको केस उखेल्दै भन्छु, ‘लौ तपाईं त बूढो पो हुनुभएछ ।’

मेरो भनाइप्रति त्यति वास्ता गर्दैन ऊ । यति चाहिँ भन्छ, ‘खै, आजसम्म कसैले बूढो बनाएको छ जस्तो त लाग्दैन ।’ यो बोली उसका लागि सामान्य उत्तर थियो । 

म फेरि उसको टाउकोमा सेतो कपाल खोज्न थाल्छु दुबै हातले केलाउँदै तर भेट्दिनँ । तैपनि खोजिरहन्छु निकै बेरसम्म । त्यसबेलासम्म मेरो छातिमा ऊ मुख जोतेर अर्को कपाल आउँछ कि भनेर नहल्ली बसिरहन्छ । उसको तातो सासको स्पर्शले म त्यसै रोमाञ्चित हुन्छु । सेतो कपाल खोज्नु त मेरो बहाना मात्र थियो । म लगातार सेतो कपाल खोजिरहन्छु । ऊ यथावत् बसिरहन्छ । 

........................................................

सिङ्गापुरबाट उहाँले फोन गर्नुभएको थियो । दुई छोरीको हालखबर सोध्दा र आफ्नो बारेमा मात्र निकै बेर लगाएर कुरा गर्दा मप्रति चाहिँ उहाँको माया छैन कि भन्ने चिसो पस्यो मलाई । मेरो स्वास्थ्यबारे सोध्दै नसोधेको त होइन तर एकदमै थोरै सोध्नुभयो । 

तीनतीन महिनामा सिङ्गापुरबाट उहाँले पठाएका सुनका हार, औंठी, सेण्डल, ज्याकेट, साडी, स्याम्फू, ब्रा र पेन्टी तथा लेदर ब्यागहरू मलाई त्यति आकर्षक लाग्दैनन् । अर्थात् भनौं आकर्षक लाग्न छाडे ।

हप्तैपिच्छे फोन गरे पनि व्यर्थको गफ मात्र लाग्छ । उहाँ सिङ्गापुरबाट लगातार बोल्नुहुन्छ फोनमा म केवल ‘हजुर हजुर’ भनेर सुनी मात्र रहन्छु । प्रायः फोनमा उहाँसँग बोल्न झर्को लाग्न थालेको छ । बोल्दाबोल्दै समय सकिए हुन्थ्यो वा लाइन काटिए हुन्थ्यो जस्तो लाग्छ तर उहाँ भने तिमीलाई के पठाइदिउँ ? के लाउन मन लाग्छ ? भनेर केरकार गरी रहनुहुन्छ । 

उहाँसँग फोनमा लामो समयसम्म गफ गर्दा मन नपरीनपरी म जे मनमा आयो त्यही बोलिदिनु मेरो बाध्यता जस्तो भएको छ । 

............................................

उहाँ सिङ्गापुर जानुभएको झण्डै आठ वर्ष भयो । पहिले त दुई÷दुई वर्षमा आउनुहुन्थ्यो । पछि फेरि एकएक वर्षमा आउनुहुन्थ्यो । एउटी छोरी पन्ध्र र अर्की बाह्र वर्ष पुगेका छन् । दुबै दार्जिलिङको राम्रो अङ्ग्रेजी स्कुलमा क्रमशः नौ र छ कक्षामा पढिरहेका छन् । छ–छ महिनामा आउँछन्, जान्छन् । 

उहाँ सिङ्गापुर जानुभएको झण्डै  तीन वर्षसम्म त घरमा एक्लै बसेर टारियो । त्यसो त घरमा काम गर्ने एउटी फुच्ची पनि नभएकी होइन । सासू भनाउँदी बूढी आमा पनि थिइन् । तर यहाँको हावापानीमा रम्न नसकेर पहाडतिरै गइन् । घरमा फुच्ची र ममात्रै छौं । फुच्चीलाई घरमा कति काममात्र लगाउने भनेर स्कुल भर्ना गरिदिएको छु । त्यसपछि भने साँच्चै एक्लै । 

निकै न्यास्रो लागेर एक दिन ‘मुड फ्रेस’ बनाउन टेलिफोनका नम्बर जथाभाबी थिचेँ जो परे पनि टाइमपास गफ गरौं भन्ने सोचाइले । अचानक प्राध्यापकको फोन नम्बरमा रिङ गयो । उताबाट निकै कर्णप्रिय पुरुष आवाज मेरो कानमा ठोक्कियो, ‘हेल्लो ? हेल्लो ?’

मैले थोरै भूमिका बाँधे, ‘नरिसाउनु होला यो ब्लफ कल हो, तैपनि एकछिन बात गर्न सकिन्छ नि ।’ (त्यसबेला कलर आइडीको व्यवस्था नेपाल टेलिकमले गरिसकेको थिएन ।) मेरो अनुनयलाई उसले किन अस्वीकार गथ्र्यो र ? शनिबारको दिन, बिदा मनाउन एक्लै कोठामा ढल्केर अल्छी लागी–लागी भोलि पढाउनु पर्ने कोर्स याद गर्दै रहेछ । 

‘केही रमाइला गफ गरौं न है ।’ मैले मेरो स्वरलाई केही आकर्षक बनाएर बोलें । 

‘ठीकै छ, बोल्दैमा त के पो जान्छ र । तर तपाईंको नाम ?’ यसरी उसले मेरो नाम सोधेको थियो । तर मैले भनिनँ । तत्कालै भन्न ठीक लागेन । नाम भन्ने काम पनि थिएन । उसले त फोन उठाउने बित्तिकै आफ्नो नाम ठेगाना बताइसकेको थियो । त्यसदिन झण्डै आधा घण्टा जति यस्तो चानचुने गफ गरेर बिताइयो । यस बीचमा मैले ऊबाट यथार्थ कुरा लिइसकेकी थिएँ । तर मैले आफ्नो परिचय दिनभने बाँकी नै थियो । क्रमशः दैनिक जसो मौका पारेर घण्टौं फोन गर्नु मेरा लागि सानोतिनो अघोषित नियम नै बनिसकेको थियो । समय काट्ने ठूलो माध्यम बन्यो टेलिफोन । 

उसले मेरो आवाज सजिलै चिन्न थाल्यो । तीन महिनापछि बल्ल मैले यथार्थ बताएँ । ऊ पहिलो पटक मेरो घरमा आएको थियो । कताकता मलाई लाज लागेको थियो । त्यसबेला कुनै अपरिचित पुरुष आएजस्तै लाग्यो । त्यसपछि ऊ महिनाको एकचोटि आउन थाल्यो । हुँदाहुँदा त हप्ताको एक चोटि । 

नजिकैबाट पुरुषगन्ध थाहा नपाएको झण्डै साढे तीन वर्ष भइसकेको थियो मैले । तर उसको आगमनले ममा नयाँ हलचल पैदा गरिदियो । दार्जिलिङमा अध्ययन गरिरहेका छोरीहरूलाई जति माया गरेर सम्झन्थें, सिङ्गापुरमा पैसा कमाउन गएका आफ्ना लोग्नेलाई दिनमा जति याद गर्थे, ती सब उसको आगमनपछि विलुप्त भएर हराउँथे । किनभने ऊ अगाडि छाएको पुरुषगन्धले ती याद र सम्झनाहरूलाई ढाकिदिन्थ्यो ।

मलाई राम्ररी थाहा छ । उसले मलाई प्रेम गर्दैन भन्ने कुरा । यो पनि थाहा छ म पनि उसलाई लैला मजनुको जस्तो प्रेम गर्दिन । तै पनि ऊतिरै तानिएर मेरो मन जान्छ । म रोक्न सक्तिन । रोक्ने प्रयास पनि गर्दिन । हामीबीच कुनै नराम्रो सम्बन्ध पनि छैन । बस्, म उसको सामिप्यमा पुरुषगन्ध पाएर मेरो कुण्ठित आकांक्षालाई पूरा गर्ने प्रयास भने गर्छु । 

आज बिहान उसले फोनमा भन्दै थियो, ‘धेरै वर्षपछि मेरो लगन खुल्दैछ । बल्ल एउटी बीए पढेकी केटीले पत्याएकी छे, अब चाँडै बिहे गरेर अर्को क्याम्पसतिर सरुवा हुने ...............।’ 

मलाई ती सबै शब्द सुन्नलाई निकै धैर्य गर्नु परेको थियो । निकै नमीठो लाग्यो । जीवनमा पहिलोचोटि भूकम्प नै आएजस्तो लागेको थियो । यति साह्रो त मेरो लोग्नेले पहिलोपटक मलाई छाडेर सिङ्गापुरका लागि बिदा हुँदा पनि भएको थिएन । म केही बोल्न सकिन । आज उसका शब्दमा कुनै आकर्षण र मिठास पनि भएजस्तो लागेन । भलै, उसले एउटा शुभचिन्तकको रूपमा सल्लाह पाउने आशाले खुसीको खबर सुनाएकै किन नहोस् । व्यर्थै मलाई, उसलाई मन पराउने त्यो केटीप्रति इष्र्या जाग्यो । मानौं, ममाथि चाँडै सौता पस्न लागिरहेकी छे त्यो । मेरो सामिप्यमा भएको पुरुषगन्धलाई खोसेर लाँदैछे । एतमासले म टोलाएँ । 

सम्झें, ऊ बेहुलो भएको छ, र उसकी नयाँ दुलहीलाई प्रेममय चुम्बन गर्दै माया पोखिरहेको छ । पहिलो सुहागरातमा मीठो अविस्मरणीय पल दुबै भएर बटुलिरहेका छन् । वास्तवमा मैले सम्झेका उनीहरूका यी पलहरू म र मेरो लोग्नेबीचको पहिलो सुहागरातका पल थिए । पहिलो पटक मैले पुरुषगन्धलाई आफूमा समेटेकी थिएँ । यही कुरा इष्र्यावस क्रमशः सम्झँदै थिएँ । 

अचानक सधैंको भन्दा बेग्लै तरिकाले गेट बजेको सुनें । हेरें, बाहिर उहाँ पो आइपुग्नु भएछ सिङ्गापुरबाट । म एकाएक सपनाबाट ब्युँझिएजस्तै थाहै नपाई उहाँलाई अँगालो मार्न पुगेछु । (सञ्चारकर्मी प्रदीप मेन्याङ्बोको ०६० सालमा प्रकाशित कथा सङ्ग्रह पुरुषगन्धबाट  । सं.)

................................................

– 

दुई परिवारका ९ जनाको

फिदिम/ पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा

प्रजातन्त्र र प्रेस

नेपालका पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले आफ्नो

हिन्दु राष्ट्र बनाउन

इटहरी/ नेपाललाई हिन्दु राष्ट्र कायम गर्न माग गर्दै इटहर

स्वागत गर्दागर्दै शि

पाँचथर/ आफ्नै स्वागतमा आयोजना गरिएको कार्यक्रममा बोल्दा


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved