दमक/ शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरलले सरकारी विद्यालयमा अध्यापन गराउने शिक्षकहरूलाई आफ्ना छोराछोरी पनि  सरकारी विद्यालयमै पढाउन निर्देशन दिएका छन् ।
 
झापाको दमक–९ को सरस्वती माविको विशेष शिक्षा आवासीय विद्यालयको शिलान्यासको क्रममा  सरकारी शिक्षकहरूले आफ्ना छोराछोरी सरकारी विद्यालयमै पढाउन निर्देशन दिएका हुन् । ‘आफू चाहिँ दिनभरी सरकारी विद्यालयमा पढाउन आउने ? छोराछोरीलाई चाहिँ निजी विद्यालयमा पढाउने ?’ मन्त्री  पोखरेलले भने । उनले शिक्षकहरूलाई जागिर खान मात्र विद्यालय नआउन चेतावनी दिए । ‘जागिर खाने हो भने अन्तै जानु सरकारी विद्यालयमा शिक्षा सुधार गर्ने हो भने आउनु ।’–उनले भने । 
 
शिक्षक जिम्मेवार नभएका कारण  सरकारी विद्यालयको शिक्षाको स्तर खस्किदै गएको उनले बताए । मन्त्री पोखरेलले सातै प्रदेशमा एक –एक वटा विद्यालयमा फरक क्षमता भएका विद्यार्थीलाई समेट्न नमूना विद्यालय बनाएर  कार्यान्वयन गर्न थालिएको बताए । त्यसैगरी आइतबारनै दमक–२ स्थित हिमालय माविको  प्रशासनिक भवन उद्घाटन गरे । यस्तै झापाको बिर्तामोडको एक कार्यक्रममा मन्त्री पोखरेलले नेपालको शिक्षालाई उत्पादनसँग जोड्ने शिक्षा नीति निर्माण हुँदै गरेको बताएका छन् । 
 
प्रेस सङ्गठन झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले अबका दिनमा शिक्षालाई प्राविधिक र सीपयुक्त बनाइने जानकारी दिए । मन्त्री पोखरेलले आधारभूत शिक्षा नलिनेले राज्यको सुविधासमेत लिन नपाउने बताए ।