पछिल्लो पुस्ताले थाहा नपाएको पत्रकार र साहित्यका योद्धा

alt
  • बैशाख ३०, २०७६
  • १२० पटक पढिएको
  • ब्लाष्ट खबर

धरान / पञ्चायती व्यवस्थाविरुद्ध कविता लेखेकै कारण राजद्रोहको मुद्दामा १२ पटक जेल परे । तत्कालीन राज्य सत्ताले उनका सयौं कविता जलायो । पटक–पटकको सफायाबाट उनी बाचेका थिए । जसले कलमकै माध्यमबाट आन्दोलनको जेहाद छेडे ।

साहित्य र पत्रकारिता मार्फत उनको आन्दोलन आजसम्म पनि जारी छ । तर विडम्बना अर्काको न्यायका लागि लेख्ने, अर्काको आवाज बुलन्द बनाउने एउटा अथक प्रजातान्त्रिक योद्धा पछिल्लो पुस्ताबाट ओझलमा परेको छ । उनी हुन राजकुमार कार्की । हाल ब्लाष्ट टाइम्स दैनिकका प्रधान सम्पादकको रुपमा पत्रकारितालाई निरन्तरता दिइरहेका छन् ।

पूर्वको पत्रकारिताको इतिहास र बामपन्थी आन्दोलनको इतिहासमा उनको नाम स्वर्निम अक्षरले लेखिएको छ । उनका योगदानको वर्तमानमा चर्चा नहुदा भावी पिडीले भने विर्सने हुनकी भन्ने चिन्ता उतिकै थपिएको छ ।

राजनीति यात्रा

हालको ऐतिहासिक महत्व बोकेको आधुनिक धरान सहरको सुरूआत १९५० तिर विजयपुर डाँडामुनिको घनाजंगल फाँड्ने क्रमबाट सुरु भएको इतिहास पाइन्छ । जंगल फँडानीका क्रममा काठ चिर्ने आरावालले तयार गर्ने गरेको ‘धरान’बाट नै आजको धरान सहरको नामकरण भएको हो । यही धरानको तत्कालीन बाँझगरा पञ्चायतमा ०१५ वैशाख १ गते आइतबार जन्मिएका कार्कीलाई मृत शहर हुन लागेको बेला धरानलाई बचाउने एउटा कुसल योद्धाको रुपमा चिनिन्छ ।

पुस्तक पढ्न रुचि राख्ने कार्कीले सानैमा माक्र्सवादलाई राम्ररी बुझेका छन् । ०३६ तिर २१ वर्षे युवा कार्कीले जीविकोपार्जन सजिलो होस भन्नका लागि उर्लाबारीमा बिस्कुट फ्याक्ट्री खोले । बिस्कुट फ्याक्ट्री चलाइरहँदा नै कोसी कोअर्डिनेट केन्द्रको सम्पर्कमा आए । पछि नेकपा मालेको सम्पर्क व्यक्तिका रूपमा काम गरे । बढि राजनीतिमा होमिए । कक्षा ८–९ पढ्दाताक नै उनले अनेरास्ववियुको कक्षा कमिटी र एकाइ कमिटीमा बसेर राजनीति गर्न सुरु गरिसकेका थिए ।

त्योभन्दा अगाडि नै उनी कक्षा ६ मा पढ्दा भरतसिंह याख्खा भन्ने किसानलाई झोडा काण्डको बेला तत्कालीन पञ्चायती सरकारले तरहराको वनविभागमा ल्याएर राजद्रोहको मुद्दामा गोली ठोकेर मारेको थियो । त्यो समयमा अखिलका विद्यार्र्थीेताहरू सूर्यप्रसाद पराजुली, विआर पोखरेल र पार्टीका नेताहरूसँगै याख्खाको लाश सेना–प्रहरीको कब्जाबाट खोसेर धरान ल्याउँदा जिन्दावाद र मूर्दावाद नारा लगाउँदै उनी अग्रभागमा हिँडेका थिए । धरानको छाताचोकमा ल्याएर लाश प्रदर्शन गरिएको थियो । त्यसताका धरानलगायत विभिन्न ठाउँमा कोणसभा गरियो । महेन्द्र बहुमुखी क्याम्पस धरानमा हुने विद्यार्थी राजनीति र अस्कल काण्डमा समेत कार्कीको प्रत्यक्ष सहभागिता थियो ।

पार्टीमा प्रत्यक्ष रूपमा जोडिएर राजनीति गर्न सुरु गरेको बेला पार्टीले दिएको नाम सुधीर थियो । पहिलोपटक पक्राउ परेपछि पुनः नाम परिवर्तन गरी ‘रेडरोज’ राखे । ‘रेडरोज’ नाममा थुप्रै कविता लेखे । ०४२ मा अफ्रिकाको अमेरिकन कठपुतली बोथाहा सरकारले २० वर्षीय क्रान्तिकारी अश्वेत क्रान्तिकारी कवि मालेसेला बोन्जामिन मोलाइस (जसले राज्यको दमनका विरुद्धमा कलमको निबबाट आगोसरि कविता ओकल्थे)लाई राज्यको दमन र शोषणविरुद्ध कविता लेखेपछि राजद्रोहको मुद्दा लगाएर फाँसी दिने निर्णय ग¥यो । फाँसीमा चढ्नुअघि मोलाइसलाई सोधियो, ‘तेरो अन्तिम इच्छा के छ ?’ मोलाइसले आफ्नो अन्तिम इच्छा केही नरहेको बताए ।

उनले भने, ‘मैले यो २० वर्षको उमेरसम्म चाहेर पनि देश र जनताका लागि केही गर्न सकिनँ, तर क्रान्तिको झिल्को बनेर जिन्दगी सगौरव देश र जनताका लागि फाँसीमा चढेर उत्सर्ग गर्न तयार छु ।’ त्यो बेला कार्की धरानको थानामै थिए । जेलबाट नै दक्षिण अफ्रिकाले अश्वेत कान्क्रिकारी कविलाई दिएको मृत्युदण्डको सम्मानमा लेखिएको उनको कविता यस्तो थियोः

ओ मालेसेला
खुली हावा में पंख फिँजाकर उडकर तुम ने हम को दिखायी है
आजादी के लिए कुल जिन्दगी देना तुमने हम को सिकाई है
ओ मालेसेला

उनको यो कविता भारतका चारु मजुमदारले सुरु गरेको नक्सलाइट आन्दोलन समर्थित भारतको पटनाबाट आउने हिन्दी पत्रिका ‘उद्भावना’मा छापिएपछि राजकुमार कार्की चर्चित भए ।

पहिले कवि त्यस पछि पत्रकार

राजकुमार कार्की पञ्चायतविरुद्ध कविता लेखेका कारण राजद्रोहको मुद्दामा १२ पटकसम्म जेल जीवन भोगेका कवि हन । जेलमा रहँदा पनि राज्यको दमन र पञ्चायतविरुद्ध कविता लेखी नै रहे । जेलको भित्ताभरि क्रान्तिले ओतप्रोत कविता अँगारले कोरेर राज्यको दमनविरुद्ध धावा बाल्थे । आफ्ना कविता र दैनिकी लेखिएका डायरी जलाउँदा उनलाई कुनै दुखेसो भएन । बरु त्यो बेला पञ्चायत डरको चरमोत्कर्षमा पुगेकाले त्यस्तो हर्कत गरेको ठान्थे । जलेका कविताहरूमा पञ्चायतको घिनलाग्दो अनुहार खरानी भएको देख्थे ।
यसले झन उनलाई पञ्चायत र राज्यको शोषणविरुद्ध लेख्न बल प्राप्त भएको महसुस गर्थे । ०४८ अगाडि लेखिएका ३ सयजति नछापिएका कविता र दर्जनौं छापिएका कविताहरू पञ्चायतको अनुहारसँगै जलेर खरानी भएको उनी सुनाउछन् । ऊर्जाशील समयमा लेखिएका कविताहरू अहिले नहुँदा भने उनको कविता संग्रह प्रकाशन गर्न समस्या र दस्तावेजका रूपमा नभएको बताउँछन । आफू पहिले कवि र पछि पत्रकार भएको बताउने कार्कीका पचास र साठीको दशकमा लेखिएका कविताहरूको संग्रह पुस्तकका रूपमा प्रकाशनको तयारीमा छ । किन ढिलो गर्नु भएको पुस्तक निकाल्न भन्दा उनको जवाफ छ–‘म अफै कविता लेख्न सिक्दैं छु ।परिपक्क कवि बनि सकेको छैन् । पुस्तक निकाल्ने समय आउछ ।’
राजद्रोह, राजकाज, शान्ति सुरक्षा, वाक तथा लेखन प्रकाशन स्वातन्त्रता गरी विभिन्न मुद्दामा थुनामा परेका कार्की पहिलो पटक उर्लाबारीबाट पक्राउ परेर डीएसपीको कार्यालय विराटनगरमा नौ महिना जेल बसे । पञ्चायतले रजतजयन्ती मनाउँदा पञ्चायतलाई ‘धमिराले खाएको घर’भन्दै कविता लेखेका कारण जेल परेका थिए । सुनसरीको डीएसपी कार्यालय(हालको जिल्ला प्रहरी कार्यालय)देखि मोरङको अञ्चल कारागारसम्म जेलमा बसे कार्की । धरानको छाताचोकबाटै चार पटक पक्राउ परेका थिए । मोरङको डेढ वर्षे जेलयात्रा उनको सबैभन्दा लामो जेल अनुभव हो । एक पटकमा हप्ता दिनदेखि नौ महिनासम्म गरी करिब ४ वर्ष कार्कीले जेलमा बिताए ।
कार्की ०४६ सालको पहिलो जनआन्दोलन र ०६२÷६३ सालको दोस्रो जनआन्दोलनमा पनि जेल परेका थिए । दोस्रो जनआन्दोलनको समयमा अन्तिम पटक इटहरीमा पक्राउ परेर पकलीको सशस्त्र क्याम्पमा ११ दिन थुनिएका थिए ।
धेरै पटक विराटनगर जेलमा हँुदा कार्कीलाई सफाया गर्ने हल्ला चल्थ्यो तर उनी अन्तिम साससम्म पनि प्रजातन्त्रका लागि र पञ्चायतविरुद्ध लडिरहने अठोट र आत्मविश्वास कायम गर्थे । उनी अहिले सोच्छन, ‘मेरो आत्मविश्वास नभएको भए म जेलभित्रै मरिसक्थें हुँला ।’ पाँच पटकसम्म उनलाई विराटनगरबाट काठमाडौंको नख्खु जेल लैजाने योजना बन्यो ।
कार्कीको आक्रोश र विद्रोह पञ्चायतको विरुद्धमा मात्र सिमित थिएन, त्यो राजतन्त्रको विरुद्धमा समेत थियो । पञ्चायतको चोला च्यातेर मात्र राजतन्त्रको चोला च्यात्न सकिन्छ भन्ने धारणा उनमा थिए ।
त्यही समयमा संयुक्त प्रजातान्त्रिक आन्दोलनको पक्षमा लागेका राजबन्दीहरूको पक्षमा वकालत गर्न राजनीतिक दलहरूले वकिलहरूको एउटा समूह तयार गरेको थियो । काठमाडौंबाट सुशीला कार्की र सुवासचन्द्र नेम्वाङ, भरतमोहन अधिकारीसहितका ११ वकिलहरूले तत्कालीन धरानमा रहेको अञ्चल अदालतमा कार्कीसहित अन्य राजबन्दीहरूको पक्षमा वकालत गरे । त्यो बेला कार्की २ सय धरौटीमा जेलबाट रिहा भएका थिए ।

सिक्किम मुख्यमन्त्रीको प्रेस सल्लाहाकारसम्म
जेलबाट निस्केपछि उनी काठमाडौं बस्न थाले । काठमाडौं बस्दा केही साथीसँग मिलेर बागबजारमा कार्यालय खोली अंग्रेजी म्यागजिन ‘द बुद्ध वल््र्ड’ प्रकाशन सुरुआत गरे । त्यो अंग्रेजी म्यागजिनको केही अंक दक्षिण एसियाको सबैभन्दा ठूलो बौद्ध धर्मको मोनार्गी सिक्किमको रुम्तेक गुम्बासम्म पुगेछ । त्यहाँ बज्रयानी, हीनयानीमध्येका ठूला बुद्ध धर्मगुरु ताइसुतुरिन रिम्पोछे र ग्याल्ज्याप रिम्पोछे थिए । ताइसुतुरिन अंग्रेजी, टिबटियन, हिन्दी र कामचलाउ नेपाली पनि बोल्ने गर्थे । ग्याल्ज्याप टिबेटियन भाषामात्र बोल्थे । बुद्ध धर्मसम्बन्धी महत्त्वपूर्ण कुराहरू ‘द बुद्ध वल्र्ड’मा लेखिएका थिए । तिनै लेखहरूले प्रभावित भएका रिम्पोछेहरूले कार्कीलाई अतिथिका रूपमा सिक्किम निम्त्याए । निमन्त्रणाको केही समयपछि खुद त्यहाँको प्रतिनिधि लिन नै आएपछि कार्की साथीहरू डम्बर गिरी र प्रल््हाद हुमागाईंसहित ११ दिन विशिष्ट अतिथिका रूपमा रुम्तेक गुम्बामा बसे । त्यहाँ बस्दा ताइसितुरिन्पोछेसँग त्यहाँको राजनैतिक, धार्मिक र सांस्कृतिक विषयमा कुराकानी भयो । खासगरी ताइसितुरिन्पोछे कार्कीसँग बौद्ध धर्म र राजनैतिक विचारबाट प्रभावित भए ।

त्यसबेला सिक्किममा मुख्यमन्त्री नरबहादुर भण्डारीको सरकार थियो । उनी नेपाल फर्किएपछि सिक्किममा ठूलो राजनीतिक फेरबदल भएछ । सिक्किमका मुख्यमन्त्री भण्डारीको सरकार ढालेर उनैको मन्त्रीमण्डलमा रहेका सञ्चमान लिम्बूलाई मुख्यमन्त्री बनाउने पक्कापक्की भएपछि पुनः रुम्तेक गुम्बाबाट लिम्बू सरकारको ‘प्रेस चिफ एड्भाइजर’ भएर काम गरिदिन पत्र आयो । त्रलाई बेवास्ता गरिरहेको बेला गुम्बाका प्रतिनिधि आएपछि ती प्रतिनिधिहरूसहित दिल्लीमा रहेको सिक्किम हाउसमा गएर दुई वर्षका लागि सरकारको ‘प्रेस चिफ एड्भाइजर’का लागि सहमतिपत्रमा हस्ताक्षर गरेर उतैबाट उनी सिक्किम गए ।
सिक्किममा रहँदा ‘सूर्य साप्ताहिक’ प्रकाशन गरेका थिए । त्यहाँ काम गर्दा उनले थुप्रै पटक मुख्यमन्त्री लिम्बूको भाषण लेखिदिए । त्यही समयमा भारतीय प्रधानमन्त्री पीभी नरसिंह राव सिक्किममा चुनावी प्रचारमा आएका बेला नेपालीमा रावका लागि पनि भाषण लेखिदिएका थिए ।
ब्लाष्टको जन्म र ‘धरान बचाऊ अभियान’
०४७ मा प्रजातन्त्रको पुनर्बहाली भएपछि ०४८ मा धरानको पब्लिक हाइस्कुलमा राजबन्दी अभिनन्दन समारोहको कार्यक्रम आयोजना गरिएको थियो । कार्कीलाई पनि अभिनन्दनमा निमन्त्रणा थियो । जब उनी समारोह स्थलमा पुगे र यसो हेरे, मञ्चमा आसीन धेरैजसो व्यक्ति हिजोका दिनमा कि त पञ्चायतका पक्षधरमात्र पाए कि त हिजो राज्यको दमनविरुद्ध बोल्नेमाथि ढुंगामुढा प्रहार गर्ने र प्रहरीलाई पोलझोस गर्नेहरू माला लगाएर बसेको देखे । कार्की निराश भए । उनलाई त्यतिबेला लाग्यो, “हामीजस्ता सोझासाझा जनताले राजनीति गर्ने होइन रहेछ । राजनीति त हुनेखानेहरू र तुरुन्त टीका लगाउन सक्नेहरूले गर्ने रहेछ ।”
राज्यको शोषणविरुद्ध बोलेर जेल र यातना भोग्नेहरू सम्मानित ठाउँ र राजनीतिक वृत्तमा नदेखेपछि कार्कीमा वितृष्णा पैदा भयो । खासगरी पार्टीगत राजनीतिबाट निराश बनेका कार्कीले त्यहीँ बोले, “आजको राजनीति हुनेखानेहरूको रहेछ हिजोको अफ्ठ्यारोमा हुँदा खानेहरूको ।”
त्यही वर्ष लामाको अध्यक्षतामा ‘इन्डिपेन्डेन्ट युथ अर्गनाइजेसन एक्सन ग्रुप अफ धरान’ बन्यो । यो ग्रुपको मुख्य उद्देश्य ‘धरान बचाऊ अभियान’ थियो । तत्कालीन सरकारले धरानमा भएको अञ्चल अदालत विराटनगरमा लगेर पुनरावेदन अदालत र क्षेत्रीय अस्पताल लगेर अञ्चल अस्पताल बनाएको थियो । कार्कीको अध्यक्षतामा बनेको ‘अर्गनाइजेसन’ले सरकारको त्यो कदमको विरोध गर्दै धरानमा भएका सम्पूर्ण सरकारी कार्यालय धरानमै हुनुपर्छ भन्ने कुरामा जोड दियो ।

उक्त अर्गनाइजेसनले सञ्चालन गर्ने विभिन्न सकारात्मक अभियानमा धनकुटाबाट रकम चेम्जोङ, संखुवासभाबाट हरि वैरागी र झापाबाट द्रोणाचार्य क्षेत्रीले साथ र सहयोग दिए । तर, न त त्यो विषयलाई सरकारले सुनुवाइ र्गयो, न त कतैबाट सकरात्मक टिप्पणी नै आयो । उनलाई लाग्यो, यस्तो विषय जो समाचार बन्नुपर्ने थियो, समाचार पनि बनेन । समाचार नबनी र सञ्चार माध्यमको सहयोगबिना राज्यसँग लड्न नसकिने रहेछ भन्ने कार्कीलाई लाग्यो । कार्कीले ‘ब्लास्ट बुलेटिन’ प्रकाशित गर्न सुरु गरे । बुलेटिनको प्रधानसम्पादक स्वयम् आफैं रहे । बुलेटिन हातहातबाट बेचेर नै अर्को अंक प्रकाशन गर्ने खर्च र संगठन चलाउने खर्च जुटाउन थाले ।
भारतका तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरले अहिलेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मोरङको डायनियामा शिलान्यास गरेका थिए । प्रतिष्ठानलाई धरानमा ल्याउन ‘ब्लास्ट’ले महत्त्वपूर्ण भूमिका खेलेको थियो ।
धरानमा सामाजिक, सांस्कृतिक, राजनीतिक र शैक्षिक रूपान्तरणका लागि अहिले पनि ‘ब्लास्ट’ले महत्वपूर्ण भूमिका खेलिरहेको छ । देश १० वर्षे द्वन्द्वमा फसेका बेला राज्यपक्ष र विद्रोही पक्षको काँडा बन्दै भए पनि कार्की सिक्किमबाट फर्केपछि ०५२ सालदेखि अहिलेसम्म निरन्तर रूपमा सूचना र सञ्चारका क्षेत्रमा ‘ब्लास्ट’ले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । त्यसको नेतृत्व अभफै पनि कार्कीले गरिरहेका छन् ।
उनको योदानको कदर
२०४६ सास पछि नै उनमा राजनीतिक वितृष्णा जाग्यो । बामपंथी विचारका कार्की अर्काको गुलाम गर्ने हिक्मत गरेका भए सायद यति बेला मन्त्री हुने थिए । तर कसैको गुलाम गर्न नजान्ने क्रान्तिकारी स्वभाकका कार्की एउटा कलमजीवी भएर बाचे । जो निरन्तर कलम चलाईरहेका छन् । पार्टीले उनको योदानको अझै कदर गर्न सकेको छैन् । तर धरानलाई बचाउन आन्दोलनदेखि समाज रुपान्तरणका लागि ब्लाष्टको नेतृत्वदायी भूमिका निर्वाह गदैं आएका कार्कीलाई प्रदेश सरकारले कदर गरेको छ । गत बैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा प्रदेशकै अगुवा पत्रकारको रुपमा नगद १ लाखसहित सम्मान गरेको छ । यो सम्मानले उनले विगतमा दिएको योगदानको मुल्याङ्कन भएको महसुु गरेको छ । उनी भन्छन्–‘हामी बत्ती मुनीको अध्यारो मान्छेलाई सरकारले सम्झेछ । यो सरकारको सम्मानलाई जिवीत राख्न अफै मेरो योगदान हुने छ ।

 

भोजपुरमा विप्लव र प्

भोजपुर । भोजपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेक

धरानबाट खुकुरी र कट्

धरान  / धरानको बगरकोटबाट कट्टीसहित दुई जनालाई

नौ महीनामा छ खर्ब ५३

  काठमाडाैं /  वैदेशिक रोजगारीमा गएका

भागेर ज्यान जोगाएकी

दमक / पाचथरमा ९ जनाको हत्या हुदा भागेर ज्यान जोगाउन सफल


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved