बिर्तामोड /  इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुवास खड्काको कुर्सीमा अर्कै मान्छे बसेको तस्विर समाजिक सञ्जालमा भाइरल भएको छ ।
तस्विर सार्वजनिक भएपछि उनीमाथि छानविन शुरु भएको छ । चैत्र २९ गते पक्राउ परेका बालक किरण कार्कीडोलीको हिरासतमा भएको संकास्पद मृत्युपछि बिवादमा आएका डिएसपी खड्का फेरी तस्विर काण्डमा कारवाहीका लागि छानविनमा परेका हुन् । बालकको मृत्युपछि डिएसपीमाथि कारवाहीको माग भएपनि जोगिएका खड्का एउटा फोटोका कारण छानविनमा परेका छन् ।
उनको कार्यकक्षमा रहेको कुर्सीमा बसेर एकजना बिवादित मान्छेले फोटो खिचाएर सामाजिक सञ्जालमा पोस्ट गरेपछि डिएसपी कारबाहीमा परेका हुन् । कार्यकक्ष बाहिर र भित्रको नेमप्लेटमा डिएसपी खड्काकै नाम रहेको कुसीमा हर्क गुरुङ नाम गरेका व्यक्तिले तस्वीर खिचेर एक दिनको लागि म पुलिस डिएसपी भन्दै सामाजिक सञ्जालमा फोटो पोस्ट गरेका थिए ।

घटनामा डिएसपी खड्काको संलग्नता देखिएमा आन्तरिक कारबाही हुने बताइएको छ । गुरुङ भने आफूलाई पुलिसको मान्छे भन्दै सर्वसाधारण र व्यापारीलाई थर्काउँदै हिँड्ने व्यक्ति भएको पीडितहरुले यसअघि प्रहरीलाई जानकारी गराएका थिए । पछिल्लो एक घटनामा गुरुङले एक होटल सञ्चालकलाई कुटपिट गरेपछि प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको प्ररहीले जनाएको छ । त्यो भन्दा अघि नै गुरुङले सामाजिक सञ्जालमा फोटो पोस्ट गरिसकेका थिए ।
फोटो काण्डपछि खड्कालाई इलाका प्रहरी प्रमुखबाट हटाएर आन्तरिक कारबाही शुरु गरिएको प्रहरीले जनाएको छ । डिएसपी खड्कालाई आइतबार नै प्रदेश प्रहरी कार्यालयमा झिकाइएको प्रहरी स्रोतले जनाएको छ ।
डिएसपी खड्का नभएको मौका पारेर उनकै कार्यकक्षको कुर्सीमा नेम प्लेट र प्रहरीको झण्डा टेवलमा राखेर तस्विर खिच्ने झापाको दमक घर भएका गुरुङलाई अभद्र व्यवहार तथा साइबर क्राइम अन्तर्गत कारवाही गरिने प्रहरीले जनाएको छ । डिएसपी खड्का काठमाडौंबाट सरुवा भएर चार महिना अघि इलाका प्रहरी कार्यालय अनारमनी आएका थिए ।