विराटनगर / समयमै रासायनिक मल नपाएर कृषकहरूले सास्ती खेप्नुपरिरहेको बेला विराटनगरस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड कोशी कार्यालयमा भण्डारण गरी राखिएको मल हराएको छ । 
 
सरकारले अनुदानमा उपलब्ध गराउँदै आएको २ हजार १ सय ६७ बोरा रासायनिक मल साल्ट टे«डिङमा भण्डारण गरी राखिएको गोदामबाटै हराएको हो । गोदामबाट १ हजार ८ सय ८२ बोरा युरिया, २ सय ४७ बोरा डिएपी र ३८ बोरा पोटास गरी २ हजार १ सय ६७ बोरा रासायनिक मल हराएको कर्पोरेशन केन्द्रीय कार्यालयले जनाएको छ । हराएको मलको मूल्य १९ लाख ७ हजार ३ सय ५० रुपैयाँ हुन आउँछ । युरिया १ हजार ८ सय ८२ बोरा ७ सयको दरले १३ लाख १७ हजार ४ सय, डिएपी २ सय ४७ बोराको २ हजार १ सय ५० रुपैयाँका दरले ५ लाख ३१ हजार ५० र पोटास ३८ बोरा १ हजार ५ सय ५० रुपैयाँका दरले ५८ हजार ९० रुपैयाँ गरी १९ लाख ७ हजार ३ सय ५० रुपैयाँ मूल्य बराबरको रसायनिक मल हराएको हो । 
 
भण्डारण गरी राखिएको मल हराएपछि साल्ट ट्रेडिङ कर्पोरेसनको केन्द्रीय कार्यालय काठमाडौंका प्रबन्ध निर्देशक राधेश्याम चौधरीको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो । चौधरीको नेतृत्वमा आएको समितिले छानबिन प्रक्रिया पूरा गरेर काठमाडौं फर्किएको छ । चौधरीको नेतृत्वमा आएको टोलीको प्रतिवेदन भने सार्वजनिक भएको छैन । 
 
साल्ट ट्रेडिङ कर्पोरेसनको कोशी अञ्चलको रासायनिक मल हेर्ने जिम्मेवारी पाएका इञ्चार्ज दिलचन्द्र राईलाई स्पष्टीकरण सोधिएपछि केन्द्रीय कार्यालयले २ वैशाखमा निलम्बन गरेको छ । रासायनिक मल राखिएको १० वटा गोदाम हेर्न जिम्मेवारी पाएका राईकै गोदामबाट मल हराएपछि उनलाई फागुनमा केन्द्रीय कार्यालयले स्पष्टीकरण सोधिएपछि निलम्बन गरेको हो । रासायनिक मल हराएपछि स्पष्टीकरण सोधिएको डेढ महिनापछि १२ वैशाखमा केन्द्रीय कार्यालयले उनलाई निलम्बन गरेको पत्र पठाएको थियो  । 
 
मल गायब प्रकरणमा मुछिएका राईले भने कर्पोरेसनको उच्च तहका हाकिमको मिलेमतोमा मल गायब पारिएको दाबी गरेका छन् । उनले मल ढुवानी गर्ने पशुपति रोडवेजसँगको मिलेमतोमा बाटोबाटै मल गायब पारिएको बताएका छन् । हराएकोमध्ये १२ सय ३३ बोरा मलको जिम्मेवारी कार्यालय प्रमुख झाले लिनुपर्ने उनको जिकिर छ । उनी २ वैशाखदेखि कार्यालय आउन छोडेका छन् । 
 
भण्डारण गरिएको गोदामबाट ठूलो परिमाणमा रासायनिक मल हराएपछि साल्ट टे«डिङ कर्पोरेसन लि. अञ्चल कार्यालय विराटनगरका प्रमुख नवीनचन्द्र झा, भण्डारण शाखाका असिष्टेण्ट खगेन्द्रप्रसाद बस्नेतसहित अन्य कर्मचारीसँग पनि छानबिन टोलीले लिखित बयान लिएको छ । भण्डारण गरिएको ठाउँदेखि रासायनिक मल हराएपछि कर्मचारीहरूकै मिलेमतोमा मोटो रकममा व्यापारीहरूलाई अनुदानको मल बिक्री गरेको आशङ्का गरिएको छ । केन्द्रीय कार्यालयले इञ्चार्ज राईलाई निलम्बन गरेको छ भने कार्यालय प्रमुख झालाई जोगाउन चलखेल शुरु भएको बुझिएको छ । 
 
मल हराएको भोलिपल्ट इञ्चार्ज राईले कार्यालय प्रमुख झालाई जानकारी गराउँदा पनि उनले केन्द्रीय कार्यालयलाई पनि जानकारी नदिई बसेको आरोप छ । यता कार्यालय प्रमुख झाले भने मल हराएपछि आफूले केन्द्रीय कार्यालयमा जानकारी गराएको दाबी गरे । ‘भण्डारण गरिएको मल गोदामबाटै एकाएक हराउनुमा विभागका इञ्चार्ज जिम्मेवार हुनुपर्दछ’ –उनले भने । त्यस्तै छानबिन टोलीले मल ल्याउने फर्म पशुपति रोडवेजका प्रतिनिधि सुशील जोशीलाई लिखित जवाफ माग गरेको छ । मुकेश राठी प्रोप्राइटर रहेको ट्रान्स ग्लोबलले अहिले मल आयात गरिरहेको छ । 
 
सरकारी अनुदानको मल बिक्री वितरणको जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेसन विराटनगरको लागि गतवर्ष ४ लाख बोरा रासायनिक मल आएको अभिलेखमा देखिन्छ । भण्डारण गरेर राखिएको मल विभिन्न मितिमा हराएको देखिएको छ । साल्ट टे«डिङ अन्तर्गत विभिन्न ठाउँमा रासायनिक मल राख्ने गोदाम रहेका छन् । युरिया मल मोरङको बूढीगङ्गा गाउँपालिकाको निमुवास्थित गोदाममा भण्डारण गरिएको ठाउँबाटै हराएको भन्दै गत कार्तिकमा इञ्चार्ज राईले कर्पोरेसन विराटनगरका प्रमुख झालाई जानकारी गराएका थिए । त्यस्तै पोटास र डिएपी सोनापुरस्थित गोदामबाट गत जेठ २२ गते हराएको बताइएको छ । 
 
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट ४ सय सहकारीलाई अनुदानको मल बिक्रीवितरण गरिँर्दै आएको छ । अहिले हुर्किंदै गरेका धान, मकैका लागि युरिया मलको उच्च माग छ । साल्ट टे«डिङ र कृषि सामग्री कम्पनी लिमिटेडबाट सहकारीमार्फत् किसानहरूले मल खरिद गर्दछन् । समयमा मल नपाउँदा कृषकहरूले महङ्गो मूल्यमा तस्करी गरेको युरिया मल खरिद गरेका थिए । 
 
कार्यालय प्रमुख झाले सहकारीहरूलाई मनपरी तरिकाले रासायनिक मल वितरण गर्ने गरेको आरोप लागेको छ । आफूनिकटका सहकारीलाई पाउनेभन्दा बढी र अन्यलाई सहकारी भने कृषकलाई बिक्रीवितरण गरेअनुसार वडा कार्यालयबाट आएको सिफारिसको आधारमा दिने गरेको बताइएको छ ।