पाँचथर । हिलिहाङ गाउँपालिका–४ पञ्चमीकी एक किशोरीको आफ्नै प्रेमीले हत्या गरेको खुलेको छ । १५ वर्षीया शितल योङ्हाङ आइतबार विद्यालयबाट घर फर्केपछि घरको काम गरेर बाहिर निस्केकी थिइन् । उनलाई सोही दिन बेलुकी घरनजिकै धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा मृत भेटिएको थियो । 
 
उनको आफ्नै प्रेमी फाल्गुनन्द–२ पात्लेभञ्ज्याङका अन्दाजी २० वर्षीय पदम तामाङले साथी भगिरथ बाँस्तोलाको सहयोगमा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 
पाँचथरका प्रहरी प्रवक्ता इन्स्पेक्टर अनिलकुमार पौडेलका अनुसार शितलको हत्या गर्न सहयोग गर्ने बाँस्तोललाई पक्राउ गरिसकिएको छ । फिदिम–२ पल्लोटारबाट सोमबार पक्राउ गरिएका भगिरथले पदमकै योजनामा दुईजना मिलेर शितलको घाँटी रेटी हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।
 
मृतक शितलका प्रेमी पदम भने फरार छन् । उनको खोजीकार्य भइरहेको प्रहरी प्रवक्ता पौडेलले बताए । शितल र पदमबीच एक वर्ष अघिदेखि प्रेमसम्बन्ध रहेको र एक महिनादेखि सम्बन्धमा खट्पट सिर्जना भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । 
 
पक्राउ परेका भगिरथले प्रहरीलाई दिएको बयानअनुसार पदम र भगिरथ फिदिमबाट शितलको हत्या गर्ने योजना बनाएरै शितलको गाउँ पञ्चमी पुगेका थिए । उनीहरूले आइतबार बिहान शितललाई भेटे र सोही दिन साँझ पुनः भेट्न आग्रह गरेका थिए । सल्लाहअनुसार शितल स्कुलबाट फर्केर घरको काम गरी नजिकैको मानिस नबस्ने खाली घरमा भेट्न आइन् ।
 
त्यतिबेला पदमले जबरजस्ती गर्न खोजेको र शितलले प्रतिवाद गर्दा दुवै मिली घाँटी रेटी हत्या गरेर सडकछेउमा फालेका थिए । शितलको सोमबार जिल्ला अस्पतालमा पोष्टमार्टमपछि आफन्तले शव बुझेर लगेको प्रहरीले जनाएको छ । शितल स्थानीय सिद्ध माध्यमिक विद्यालय पञ्चमीमा कक्षा १० मा अध्ययनरत थिइन् । 
 
padma1