गौरादह/ झापाको गौरादहका एक व्यवसायी आमरण अनसनमा छन् । गत वैशाख २७ गतेदेखि यामबहादुर दाहाल गौरादह बजारको खुल्ला स्थानमा आमरण अनसनमा बसेका हुन् ।
 
दाहालले  २०७३ साल चैत्र १७ गते गौरादहकै सिर्जना दाहाललाई दिएको १६ लाख ७५ हजार र त्यसपछिका अन्य कारोबारसहित गरेर ३७ लाखभन्दा बढी रकम लिन बाँकी रहेको सो रकम अहिलेसम्म नपाएको भन्दै उनी न्यायका लागि आमरण अनसन बसेका हुन् । सिर्जना र यामबहादुर बीच भएको कारोबारका बारेमा गौरादह नगरपालिकाको न्यायिक समितिमा निवेदन दिएको भए पनि न्यायिक समितिले न्याय नदिएको भन्दै उनले आमरण अनसन शुरु गरेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जनाए ।
 
बैङ्कमार्फत् घर धरौटी राखेर दिएको नगद १६ लाख ७५ हजार, २०७४ साल  साउन १९ गते गोविन्द तिवारीमार्फत् सुन राखेर ८२ हजार ५ सय, सोही वर्षको साउन २५ गते कमला नेम्वाङको जग्गा  धरौटी राखेर ५० हजार, त्यसपछि दाहालले पुनः नगद ९५ हजार र दाहालको किनारा पसलबाटसमेत २१ हजार ४ सय ६५ सहित जम्मा सावाँ मात्र २६ लाख ७२ हजार ९ सय ६५ रुपैयाँ घिमिरेले तिर्न बाँकी रहेको दाहालले बताए । आफ्नो घर नै घरौटीमा राखेर ऋण दिएको तर अहिलेसम्म कुनै रकम नतिरेपछि आफ्नो घर बिक्री गरेर तिर्दा अहिले सडकको बास भएको दाहालको भनाइ छ ।
 
पटक–पटक गरी दिएको सावाँँ–ब्याजसहित बढेर ३७ लाख रुपैयाँ तिर्ने माग गर्दा दिन नमानेपछि आफ्नो घर नै लिलाम हुने अवस्थामा पुगेकोले घर बिक्री गरेर बैङ्कको ऋण तिरेको उनले बताए । करिब ४० लाख मूल्याङ्कन भएको ९ धुर  जग्गासहितको घर बैङ्कमा २० लाख रुपैयाँमा धितो राखिएको र पछि २४ लाखमा घर बिक्री गर्दा बैङ्कको ब्याजसहितको ऋण चुक्ता गरेको उनले बताए । यसरी आफ्नो घर नै बेचेर  सिर्जनालाई पैसा दिँदा अहिलेसम्म कुनै पनि रकम फिर्ता नगरेको र आफ्नो रकम फिर्ता गराइपाउन नगरपालिकाको न्यायिक समितिमा निवेदन दिएको उनले बताए । तर न्यायिक समितिले सिर्जनालाई एकपटक पनि छलफलमा बोलाउन नसकेको र दोहोरो वार्ता नै नभएपछि न्याय पाउनका लागि अनसन बस्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
 
दाहालले नगरपालिकाको न्यायिक समितिबाट न्याय नपाएपछि आफू सदस्य रहेको पेशागत सङ्घमा निवेदन दिएपछि गौरादह उद्योग वाणिज्य सङ्घले नगरपालिकामा दोहोरो छलफल गराउन पटक–पटक माग गरेको पत्रकार सम्मेलनमा जनाइएको छ । सङ्घका अध्यक्ष जीवन राईले न्यायिक समितिमा यस विषयमा छलफल भएको तर निकास ननिस्केपछि अनसन बस्न बाध्य दाहाललाई न्याय दिलाउन चरणबद्ध आन्दोलनका कार्यक्रम सर्वजनिक गरे । सार्वजनिक गरिएको कार्यक्रमअनुसार सोमबार २ घण्टा गौरादह बजार बन्द गराइएको थियो भने आज(मङ्गलबार) बिहान १० बजेदेखि ३ बजेसम्म नगरपालिकामा शान्तिपूर्वक धर्ना दिने कार्यक्रम रहेको छ । त्यसैगरी जेठ १ गते गौरादहको डिपु चोकमा एकघण्टा चक्काजाम गर्ने र २ गते गौरादहका सबै सङ्घ–संस्था र यातायात अनिश्चितकालका लागि ठप्प पार्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।
 
अदालत जान न्यायिक समितिको निर्देशन
नगरपालिकाको न्यायिक समितिले पटक–पटक दोहोरो छलफल गराएको दाबी गरेको छ । ‘तर छलफल दुवैपक्षलाई चित्त नबुझ्दो भएपछि  हामीले जिल्ला अदालतमा गएर मुद्दा दर्ता गराउनू भनेका छौं’ न्यायिक समिति संयोजक गीता भेट्वालले भनिन्, ‘दाहालपक्षबाट घिमिरेको जग्गा रोक गर्न माग गरिएको छ । तर यो काम हाम्रो अधिकारभित्र नरहेकोले अदालत जान हामीले दुवै पक्षलाई भनेका छौं ।’