भण्टावारी/ बिहार राज्य सरकारले मदिरा बिक्रीवितरण तथा सेवनमा रोक लगाएपछि सुनसरी मदिरा पिउने अखडा बन्दै आएको छ ।

बिहार सरकारले तीन वर्षअघि नै मदिरा बिक्री वितरण र सेवनामा रोक लगाएपछि त्यहाँका मदिरा सेवनकर्ताको गन्तव्य सीमावर्ती जिल्ला सुनसरी बनेको छ । भारतीयहरू मदिरा सेवन गर्न आउने क्रम बढेपछि सीमा क्षेत्रमा साना तथा ठूला होटलहरू खुल्ने क्रम बढेको छ ।

सुनसरीको कोशी ब्यारेज, भण्टावारी, कोशी कटान, लौकहीसहित सीमावर्ती गाउँहरूमा दर्जन बढी पसल खुलेका हुन् । भारतीयलाई लक्षित गरेर खोलिएका यस्ता पसलका कारण असुरक्षा बढेको गुनासोसमेत बढ्न थालेको छ । मदिरा सेवनपछि पैसा बढी भयो भन्दै झगडा गर्ने, हातपात गर्ने र शान्ति सुरक्षा खल्बलिने गरी होहल्ला गर्ने होटेल सञ्चालक भगत यादव आफै बताउँछन् । यादवले भने, ‘आम्दानी बढेको छ तर सुरक्षित हुने स्थिति छैन ।’

समूह बनाएर आउने र राति अबेरसम्म बस्दा विभिन्न खाल्का समस्या निम्तिन थालेको उनको भनाइ छ । प्रहरीले दिएको समयसीमा भित्रै होटल बन्द गर्नुपर्ने बाध्यताका कारण ग्राहकले त्यो नबुझ्दा प्रहरी बोलाउनुपर्ने बाध्यता भएको उनको भनाइ छ । मदिरा सेवन गर्न आउनेहरूमध्ये केहीले बोकेर साथमा लैजाने गरेको कोशी ब्यारेजका होटेल सञ्चालक रामबाबु कुमार बताउँछन् ।

मदिरा सेवनकै क्रममा डेढ वर्ष अगाडि भण्टाबारीमा भारतीय जड्याहाहरूले कुटपिट गर्दा स्थानीय होटेल सञ्चालक मनोज गुप्ताको हात भाँचिएको थियो । लोकसभा निर्वाचनको लागि केही समयसम्म भारतीय एसएसबीले नेपाल–भारत सीमावर्ती क्षेत्रमा चेकजाँच गरेपछि मदिरा सेवनकर्ताको सङ्ख्यामा कमी आएको थियो । अहिले फेरि सेवनकर्ताको सङ्ख्या बढेको होटल सञ्चालक बताउँछन् ।