धनकुटा/ धनकुटामा जारी १४ औं शहीद भीमनारायण श्रेष्ठ अन्तर्राष्टिूय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत मङ्गलबारको खेलमा एपिएफ फुटबल क्लब काठमाडौं अन्तिम चारमा प्रवेश गरेको छ ।

काठमाडौंको फ्रेण्ड्स क्लब काठमाडौंलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइलनमा प्रवेश गरेको हो । प्रतिस्पर्धात्मक खेलमा फ्रेण्डस्ले पाएका अवसर सदुपयोग गर्न नसक्दा क्वार्टरबाटै घर फिर्न बाध्य बन्यो ।

शुरुवाती क्षणमा आक्रामक खेलेको फ्रेण्डस्ले गोलका अवसर गुमाउँदा पराजित बन्न पुग्यो । एपिएफका लागि रवि थिङ तामाङले खेलको ५ औं मिनेटमै गोल गर्दै अग्रता कायम गरे । खेलको शुरुवाती मिनेटमै फ्रेण्डस्लाई दबावमा राखेको एपिएफले दोस्रो गोलको अवसर दोस्रो हाफपछि मात्रै पायो ।

पहिलो हाफमा फ्रेण्डस् निकै सम्हालिएको थियो । मध्यान्तरपछिको खेलमा रवि थिङले नै व्यक्तिगत दोस्रो गोल गर्दै २-० को अन्तर सिर्जना गरे । एपिएफका कुमार दोङ्ग तामाङले दोस्रो हाफको ३० औं मिनेटमा गोल गर्दै टिमलाई जिताए । खेलको म्यान अफ दी म्याच एपिएफका रवि थिङ घोषित हुँदै नगद प्राप्त गरे ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री एवम् सांसद् रामशरण महतले नगद ५ हजार र मेडल प्रदान गरे । बुधबारको पहिलो सेमिफाइलन खेल खेल विन्ध्यावासिनी फुटबल क्लब मोरङ र डाफिन्स फुटबल क्लब क्यामरुनबीच हुने आयोजकले जनाएको छ ।