बिर्तामोड/ सवारी साधनले धुलो उडाएको भन्दै झापाको अर्जुनधारा नगरपालिका ५ र ७ का स्थानीयले चारपाने–अर्जुनधारा सडक अवरुद्ध गरेका छन् ।

स्थानीयले जेसिभी लगाएर ठूला–ठूला खाडल खनेर सोमबारदेखि सडक बन्द गरेका हुन् । दातृ निकायको आर्थिक सहयोगमा चारपानेदेखि अर्जुनधारासम्मको ६ किलोमिटर सडक कालोपत्रे गर्नका लागि निर्माण कम्पनीले बेस हालेको थियो । सप्तरीकोे साह इञ्जिनियरिङ कन्स्ट्रक्सनले ५ करोडमा लिएको ठेक्का यो आर्थिक वर्षको असार मसान्तमा सम्पन्न हुनुपर्ने थियो ।

तर, काम सम्पन्न भएको बिलको रकम नपाएपछि ठेकेदार कम्पनीले काम छाडेको छ । दातृ संस्था ‘ट्रिपल आर’ को लगानीमा निर्माण हुँदै गरेको सो सडकमा लामो समयदेखि ठेकेदार संस्थाले काम छाडेपछि धुलो उड्न शुरु भएको हो । निर्माणाधीन सडकमा सवारी साधन चलेर धुलो उडाएपछि प्रभावित स्थानीयले सडक बन्द गरेका हुन् । उनीहरूले सडक निर्माण गर्न शुरु नगरेसम्म सडकका खाडल पुर्न नदिने अडान लिएका छन् ।

‘ट्रिपल आर’ को कार्यक्रम यही आर्थिक वर्षको अन्तदेखि फेजआउट हुँदैछ, अर्जुनधारा नगरपालिकाका जनप्रतिनिधिसमेत रहेका स्थानीय अगुवा कुन्दन भट्टराईले भने– ‘यो वर्ष पूरा गर्न सकिएन भने अर्काे योजनामा पारेपछि मात्र निर्माण हुन्छ ।’ ठेकेदार संस्थाले माग गरेबमोजिमको भुक्तानी नपाएपछि निर्माण अलपत्र परेको भट्टराईले बताए ।

‘शुरुमा गरेको कामको मेजरमेन्ट नै रहेनछ, कर्मचारी सरुवा भएका कारणले पुरानो रेकर्ड नपाएपछि भौतिक पूर्वाधार कार्यालय झापाले स्थानीयलाई सोधेर प्रतिवेदन तयार गर्दाेरहेछ, भट्टराईले भने– ‘कालोपत्रे गर्न तयार गरेपछि पहिलेको कार्य विवरण नपाएर भुक्तानी नभएको हो ।’ उनले बिलबमोजिम रकम भुक्तानी दिएर सडक निर्माण गर्नुको विकल्प नभएको बताए ।

निर्माण कम्पनीका सञ्चालक सञ्जीव शाहले काम गर्न खोज्ने व्यवसायीलाई राज्यपक्षबाट अवरोध भइरहेको आरोप लगाए । ‘रनिङ बिलबमोजिम रकम भुक्तानी हुनुपर्ने हो, पैसा नपाएर काम रोकेका हौं, छाडेका होइनौं, साहले भने– ‘खर्च भएबमोजिमको रकम निकासा भए जेठ महिनाभित्र काम सक्छौं ।’ उनले मोबिलाइजेसनबाहेक थप रकम नपाएको गुनासो गरे ।

भौतिक पूर्वाधार कार्यालयका इञ्जिनियर रामलखन माझीले रकम निकासा भए पनि अबको दुई महिनामा योजना सम्पन्न नहुने दावी गरे । उनले निर्माण कम्पनीलाई सम्झौताबमोजिमको सब वेस थप्न लगाउँदा आनाकानी गरेको आरोप लगाए । गुणस्तरहीन काम हुन लागेपछि सुधार गर्न लगाउँदा ठेकेदार संस्थाले रकम नपाएको भन्दै प्रचार गरेको आरोप उनको थियो । यद्यपि काम सक्ने शर्तमा छलफल गरेर रकम निकासा गर्न सकिने सम्भावना रहेको उनले बताए ।