विराटनगर(ब्लाष्ट)÷ विराटनगर – १३ मा बसोबास गरि दैनिक ज्यालादरी गरी गुजरा चलाउँदै आएकी ४५ वर्षिय धनमाया तामाङ्गले दुवै मृगौला बिग्रिएर थला परेकी २५ वर्षीय कान्छी छोरीको उपचार सहयोग पुर्याउन सार्वजानिक रूपमा अपिल गरेकी छिन् ।

धनमायाको छोरी पार्वती तामाङको दुवै मृगौला बिग्रीएपछि उपचार गर्न पैसा नभएपछि उनले मनकारीहरूसँग सहयोगको याचना गरेकी हुन् ।
पार्वतीको दुवै मृगौला गत मंसिरबाट विग्रिएको थियो । मृगौला विग्रिएर उपचाररत पार्वतीको खर्च अभावमा उपचार प्रभावकारी बन्न नसकेको आमा धनमायाले बताइन । धनमायाकी तीन छोरी मध्ये कान्छी चोरी पार्वतीको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । अहिलेसम्म उनको उपचारमा डेढ लाख बढी खर्च भइसकेको छ । विभिन्न व्यक्तिले उपचारका लागि ४० हजार रुपैयाँ सहयोग गरेको आमा धनमायाले बताइन् ।

घरवार केही पनि नभएर सुकुम्बासी जीवन विताउँदै आएकी धनमाया छोरी मृगौला विग्रिएर थला परेपछि थप तनावमा परेकी छन् । छोरीकै उपचारका लागि अर्काकोमा दैनिक ज्यालादरीमा मजदुरी गर्न थालेको उनले बताइन । ‘अहिलेसम्म उपचारमा डेढ लाख रुपैयाँ खर्च भइसक्यो,’ उनले भनिन््, ‘अब छोरीको उपचार गर्न हामीसँग पैसा छैन ।’ नियमित डाईलासिस गर्न चिकित्सकले सुझाव दिए पनि पैसाको अभावमा राम्रोसँग उपचार हुन नसकेको धनमायाको गुनासो छ । छोरीलाई उपचार गरेर बचाउन उनले मनकारीहरूसँग आग्रह पनि गरेकी छिन् ।