धरान / धरानस्थित इलाका प्रहरी कार्यालयले बालबालिकाहरुलाई प्रहरीले गर्ने काम कर्तव्य र अधिकारबारे बुझाउन अभियान थालेको छ । विहीबार धरान–१३ स्थित दीपेन्द्र आवसायी माविका ४० जना विद्यार्थीहरुलाई इलाका प्रहरी कार्यालयले गर्ने काम र कानुनी प्रक्रियाबारे कार्यालय मै भेला गरि प्रशिक्षण दिएको थियो । अव नियमित धरानका सबै विद्यालयका विद्यार्थीहरुलाई प्रशिक्षण दिने अभियान संचालन गरेको इप्रका धरानका डिएसपी ढुन्डीराज न्यौपानेले जानकारी दिए ।
प्रहरीले गर्ने काम, कानुनी प्रक्रियाबारे विद्यार्थी तहबाट जानकार हुन भनेर अभियान संचालन गरिएको डिएसपी न्यौपानेले जानकारी दिए ।
प्रहरीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी–विद्यायल सम्पर्क कार्यक्रम अभियान संचालन गरेको हो । प्रहरी कार्यालयहरुका महिला बालबालिका शाखा, अपराध अनुसन्धान शाखा, जनसम्पर्क शाखा, हिरासतबारे जानकारी गराउन यस्तो कार्यक्रम शुरु गरिएको डिएसपी न्यौपानेले जानकारी दिए ।
धरानका सबै विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुलाई प्रहरीले कसरी काम गर्छ । अपराध गरे के सजाय हुन्छ जस्ता कुराको विद्यार्थी उमेरमै जानकारी गराउन यस्तो अभियान संचालन गरिएको डिएसपी न्यौपानेले बताएका छन् । विद्यार्थीहरुलाई प्रहरीको सबै शाखाहरुसमेत अवलोकन गराइएको छ ।
भरखरै धरान आएका डिएसपी न्यौपानेले धरानमा कलेजका विद्यार्थीहरु कलेज नगई कलेज पोशाकमै हिड्ने गरेको गुनासो पाए पछि निगरानी समेत बढाएका छन् । सिनेमा हल पार्क, पुल क्षेत्रमा सिभिल प्रहरी खटाइएको डिएसपी ढुन्डीराज न्यौपानेले जानकारी दिए । सिनेमा हल, पार्कलगायतका स्थानमा कलेज समयमा कलेज पोशाकमा भेटिए अभिभावकको जिम्मा लगाइने उनले बताए ।