ताप्लेजुङ । लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘केसाङ्ला’को च्यारिटी शो शुक्रवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा गरिएको छ । ताप्लेजुङका प्रमुख पर्यटकिय गन्तव्यलाई अधिकतम छायाङ्कन स्थल बनाईएकोले यसको च्यारिटी शो को जिल्ला समन्वय समिति संयोजक घनेन्द्र मादेनले च्याब्रुङ बजाएर उद्घाटन गरे ।

सामुदायिक भवन सिटीहलमा शुक्रवार अपरान्ह प्रर्दशन गरिएको च्यारिटी शोको आयोजना लिम्बू साँस्कृतिक परिषद् ताप्लेजुङले गरेको हो । लिम्बू समुदायको मौलिक बाजा च्याब्रुङको देब्रेतालमा हुने समिश्रण धुनलाई केसाङ्ला भनिन्छ । यहिँ धुनमा आधारित रहेर चोक्फुङ ईन्टरटेन्मेण्टको ब्यानरमा निर्मित प्रेमकथामा आधारित चलचित्र केसाङ्ला पुर्णयता लिम्बू समुदायको संस्कृति र मौलिकता दर्शाउने प्रकृतिको रहेको निर्देशक लोकेन साँवाले जानकारी दिए ।

चलचित्रमा च्याब्रुङ नाच्न गएको केटा मान्छेले केसाङ्ला बाटैमा खसालेपछि त्यसलाई पुर्याउन गएकी केटीसंग चोरी बिबाह हुन पुगेको कथाबस्तु जोडिन्छ । निर्देशक साँवाका अनुसार लिम्बू समुदायमा चोरी, मगनी र भागी बिबाह प्रचालनमा छन् । यो चलचित्रले चोरी बिबाहको मौलिकता दर्शाउने साँवाले बताए । केसाङ्लाको धुनबाट मोहित भएर झाँङ्गिएको प्रेम बिबाहमा परिणत भएको कथाबस्तु दर्शाएर यो चलचित्रले च्याब्रुङ धुनप्रतिको आकर्षणलाई छर्लङ्ग बनाएको छ ।

ताप्लेजुङ बजार सहित पाथीभरा, फुङ्फुङ्गे झरना र सुकेटार बजार आसपासका स्थलमा छायाङ्कन गरिएको चलचित्रको पटकथा लेखन देबेन्द्र खापुङले गरेका छन् । दिनेश माङ्मुको नृत्य रहेको चलचित्रको पाश्र्व संगित आलोक राईले भरेका छन् भने श्रेयसी चेम्जोङ, मनु नेम्बाङ, यासेली योङ्हाङ र निर्मल सुब्बाको स्वरले चलचित्रका गीत भरिएका छन् । भीमकुमार संगै फिपरानी तुम्बाहाम्फे, सञ्जय तुम्बाहाम्फे र बिष्णुकुमार पन्दाक निर्माता सदस्य रहनु भएको छ । चलचित्रका माध्यमबाट ताप्लेजुङका पर्यटकिय स्थलहरुको प्रचार–प्रसार मुख्य रुपले छायाङ्कन गरिएको निर्माता भीमकुमारले जानकारी दिए ।