धरान । धरान जेसीज वर्ष २०१९ टेष्टीटेष्टी मिस एसईईको उपाधि लोटस विद्या विहारकी प्रज्ञा भण्डारीले जितेकी छन् ।

शनिबार राति सभागृहमा सम्पन्न फाइनलमा २९ प्रतिस्पर्धीलाई पछि पार्दै ताज पहिरिएकी हुन् । ताजसँगै नगद ४० हजार रुपैयाँ, धरान आर्दश कलेजमा प्लस टुको छात्रवृति पनि प्राप्त गरेकी छन् । उनले मिस व्युटिफूलको टाइटल पनि जितेकी थिइन् । फस्ट रनरअप विष्णु मेमोरियल स्कुलकी सिम्रन हलुवाइ बनेकी छन् ।

उनले नगद ३५ हजार रुपैयाँसहित धरान आर्दशमा ५० प्रतिशत छुटमा प्सस टु पढ्ने अवसर प्राप्त गरिन् । सेकेण्ड रनरअप दिल्ली पब्लिक स्कुलकी सिम्रन खड्गीले जितेकी छन् । उनले नगद ३० हजार रुपैयाँसहित धरान आर्दशमा ५० प्रतिशत छुटमा प्लस टु पढ्ने अवसर प्राप्त गरेकी छन् । टप ६ मा मिस नेपाल २००० की उशा खड्गीले सोधेको प्रश्नको सटिक जवाफ दिँदै उनीहरू ताजका दाबेदार बनेका हुन् ।

टाइटलतर्फ बेष्ट ड्रेस पनि सेकेण्ड रनरअप सिम्रन खड्गीले नै जितिन् । त्यस्तै बेष्ट क्याटवकमा लोजी लिम्बू, मिस इन्टलेक्चुअलमा रजनी लिम्बू, मिस एक्टिभ दीपशिखा लिम्बू, मिस फोटोजेनिक मिङ्सो लिम्बू, बेष्ट पर्सनालिटी नमलिङ्मा लिम्बू, मिस फिटनेस अन्सु कार्की, मिस ट्यालेन्ट सोनिया बजाज, मिस हस्पिटालिटी अनिशा श्रेष्ठ, मिस डिसिप्लिन अलिस्का रत्ना नेपालीले जितेका छन् ।

उनीहरूलाई मुख्य प्रायोजक काब्रा ग्रुपका मेनेजिङ डाइरेक्टर श्याम काब्रा, धरान जेसीजका अध्यक्ष मनिस शाही, मुख्य निर्णायक उशा खड्गीलगायतले पुरस्कार वितरण गरेका छन् । वैशाखको पहिलो साताबाट शुरु भएको मिस एसईई सन् २०१३ देखि शुरु भएको हो ।