प्रेम शब्द आफैंमा सुन्दर लाग्छ । यो शब्द सुन्ने देख्ने र अनभूत गर्नेको मनमा एक प्रकारको संवेदनशील ज्वारभाटा उत्पन्न गराउँछ । तर यो संवेदनशील ज्वारभाटामा अब सेक्स अर्थात् यौनको फिलिङ्गो सहितको ज्वारभाटाका छालहरू पनि मिसिन थालेका छन् ।

कुनै समय गोप्य राखिने प्रेम आजकल जतासुकै छताछुल्ल भएको छ । उहिले मेलापातहरूमा, लोक दोहोरीमा छताछुल्ल हुने गरे पनि सेक्सको ज्वारभाटाले उचाइ लिएको थिएन । अहिले गोप्य बेडरुम हुँदै डान्सपार्टी, डिस्कोथेक, रेल, बस, बगैंचा, सिनेमा हलदेखि सडकसम्म सेक्ससहितको प्रेम छताछुल्ल भएको छ । प्रेम गर्नुको अर्थ उसैसँग विवाह गर्नु हुँदै होइन तर प्रेमको वहानामा सेक्स गर्नुले आधुनिक प्रेमको अवस्था छताछुल्ल भएको देखाउँछ ।

सेक्ससहितको प्रेमका बारेमा यसो पनि भन्न थालिएको छ, ‘यस्तो आधुनिक प्रेमले मान्छेको मनमा सुनामी ल्याइसकेपछि शान्त हुन्छ रे ।’ अर्थात् सेक्सपछि हुने मानसिक र शारीरिक शान्तिलाई यहाँ सङ्केत गरिएको छ । यसलाई एउटा सोधबाट पुष्टि गर्न खोजिएको छ । अर्थात् क्षणिक प्रेमको बाहुपासमा आधुनिक युवायुवतीहरू बाँधिएका छन् । एउटा अनुसन्धानले भन्छ, ‘६२ प्रतिशत युवक र ३८ प्रतिशत युवतीहरू विवाह पूर्व नै प्रेमको नाममा सेक्स गर्छन् ।’

एकापसमा गरिने प्रेमको सम्बन्ध र वासनाको सिर्जना मानवीय जीवनका दुई पाटा हुन् । अचेल प्रेमको मापदण्डमा व्यापक परिवर्तन आएको छ । उहिलेको प्रेममा त्याग, बलिदान, निश्छलता, एक अर्का बीचको आदर, समझदारी, पारदर्शिता, एकापसको विश्वास, अगाध स्नेहको साझा रूप मानिन्थ्यो । तर पछिल्लो समयमा सांस्कृतिक भूमण्डलीकरण, उपभोक्तावादी समाजको निर्माण, अति स्वतन्त्रताका कारण यी मापदण्डमा सेक्स पनि एउटा मापदण्ड बनेर समावेश भएको बिर्सनु नुहने अवस्थाको सिर्जना भएको छ । प्रेमको रथमा सारथी बनेको छ सेक्स ।

सारथी बनेको सेक्सले नै अचेल प्रेमको स्वरुप, दिशा र निरन्तरता दिने–नदिने भन्ने पक्षको निर्धारण गर्न थालेको छ । शुल्क तिरेर यौन कर्मीसँग गरिने सेक्स बाहेक प्रेमको आडमा नै पछिल्लो समयमा अनेकौं जोडीहरू सेक्स गर्दै आएका छन् । यसर्थ भन्नै पर्ने भएको छ, आधुनिक प्रेमको भाव पक्ष अस्ताउँदै छ रूप पक्षमात्र देखिएको छ । प्रेमको नदी सुक्दैछ र योसँग जोडिएको सेक्सको चाहनाको समुद्रमा अग्ला–अग्ला छालहरू लगातार छचल्किरहेका छन् ।

हुन त साँचो प्रेममा खेलाँची गर्नु ठूलो अपराध भन्दा कम होइन । प्रेमले मानिसको वास्तविक धरातलसहितको अस्तित्व बोध गराउँछ । यसैको शक्तिले मान्छेमा उत्साह, उमङ्ग, आशा र विश्वासका साथ जीवनको सप्तरङ्गी आकास सिर्जना गराएर मानवताको सागरमा पौडी खेलाउन सिकाउँछ । यति हुँदाहुँदै पनि प्रेमको अस्तित्वमाथि सेक्सले कब्जा जमाएको छ । सेक्सको कब्जाबाट अब प्रेमलाई मुक्त गर्न कसैले नसक्ने अवस्था छ । कतिपयले यस्तो अवस्था उत्पन्न हुनुलाई आधुनिक सूचना प्रविधि, मल्टी च्यानल युगले निम्ताएको विकृत मानसिकता र संस्कृतिमा आएको परिवर्तन जिम्मेवार ठानेका छन् । अचेल मनको भोकले भन्दा तनको भोकले मानिस बारबार तड्पिने गरेका छन् । प्रेम पनि मनको भन्दा तनको बढी हुने गरेको छ । प्रेम दिन दिनै क्षणिक हुँदै आएको छ । क्षणिक हुनुको कारण सेक्सलाई मानिएको छ ।

शास्त्रीय परिभाषाले पैसाले प्रेम किन्न सकिन्न भन्छ । तर अहिले पैसाले प्रेम किन्न सकिने जमानमा हामी बाँचिरहेका छौं । अर्थात् प्रेमलाई एक प्रकारको व्यापार बनाइएको छ । चाहे त्यो प्रेमको नाममा महँगो उपहार दिएर मनसँगै तन नै किन नसाटिएको होस् । पैसाको चमक दमक देखाउने हो भने मन पराएको युवती वा युवकले प्रेमी खोजिरहन लामो समय पर्खिनु पर्दैन । ‘पैसा खर्च गर, प्रेमीप्रेमिका फेला पार’ को जमाना आएको छ ।

सेक्स मिसिएको आधुनिक प्रेममा ‘डेटिङ’ अर्थात् एकान्तमा भेटघाट गर्ने चलनले ठूलो भूमिका खेलेको छ । अधिकांश युवायुवतीहरू डेटिङ जानुलाई स्वाभाविक मान्छन् । यो आजकल प्रत्येक युवायुवतीका लागि गर्व गर्ने विषय बनेको छ । आफ्ना साथीलाई सुनाउँदा पनि गर्वकासाथ सुनाउने विषय नै डेटिङ बनेको छ । लभ अफेयर अगाडि गरिने एकान्त भेटको प्रेममा आफ्नै अर्थ छ । युवकले युवतीमा र युवतीले युवकमा पूर्ण भरोसा, विश्वास राखेकै कारणले डेटिङमा जाने गरेका हुन् ।

अब कसैले नदेख्ने, थाहा नपाउने स्थलमा पूर्व नियोजित, पूर्व निर्धारित रूपमा पुगेका अधिकांश युवायुवतीले प्रेमिल गफगाफका बीच स्पर्श, चुम्बन, आलिङ्गनसँगै शारीरिक सम्बन्धलाई निरन्तरता दिनुलाई काउकुती लाग्दो जीवनको रोमान्स मान्ने गरेका छन् । डेटिङमा जानु र प्रेमको नाममा सबथोक गर्नु भनेको विवाहपूर्व सन्बन्धलाई सेक्समा रुपान्तरण गरिसक्नु हो । यसको अर्थ विवाह पूर्वको सेक्स सम्बन्ध हुनु भनेको निकट भविष्यमा आफ्नो हुनेवाला जीवन साथीलाई पहिले नै प्रेमको नाममा शरीर सुम्पनु पनि हो ।
– एजेन्सीको सहयोगबाट