सिरहा/ प्रदेश नं.२ का ८ जिल्लामा दाइजोप्रथा क्यान्सर बन्दै आएको छ । सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, रौतहट, बारा, पर्सालगायतका जिल्लाको दाइजोप्रथा क्यान्सर बन्दै आएको छ । तराईको जिल्लाहरूमा दाइजोप्रथाले अशान्त छ । मधेसी महिलाहरू घरेलु हिंसाका सिकार बनिरहेका छन् ।

प्रदेश २ सरकारले ल्याएको बेटी पढाऊ, बेटी बचाऊ अभियान नारामा मात्र सीमित रहेको देखिन्छ । यसले खासै तराईबासीहरूको चेतनाको विकास भएको देखिएको छैन । सिरहा जिल्लालगायत ८ जिल्लामा दिन प्रतिदिन बुहारीलाई काटेको, मट्टीतेल खन्याएर आगो लगाएको दर्जनौं अमानवीय घटना घटिरहेका छन् । कैयौं सङ्घ–संस्थाले चेतनामूलक कार्यक्रम चलाए पनि वर्तमान अवस्था खासै सन्तोषजनक छैन । केटापक्षको मागअनुसार केटी पक्षले तयारी गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।

बिहे नहुञ्जेलसम्म केटीपक्षमा एउटा त्रासको माहौल हुन्छ । समयले फड्को मारेसँगै लेनदेनमा कमी आउला भनेर धेरैले अनुमान गरेका थिए तर परिस्थिति भने झन् उल्टिएको छ । सामानहरू जस्तैः फर्निचर, लत्ताकपडा पनि दाइजोमा दिने चलन छ । सुन–चाँदीका महँगा गरगहनाहरू पनि दाइजोमा पर्छन् । 

समयसँगै आधुनिक सुविधाका सामग्रीहरू जस्तैः टिभी, मोटरसाइकल, कम्प्युटर, कारजस्ता सामग्रीहरू पनि दाइजोको रूपमा दिइने गरेको पाइन्छ । करिब ४ वर्षअगाडि एउटा साधारण प्रवीणता प्रमाण–पत्र तहसम्म पढेकाले २ लाख माग गर्ने गर्थे भने सोही तहसम्म पढेकाले अहिले ८ देखि १० लाखसम्म माग्ने गरेका छन् । मधेसमा प्रायः बेहुलाको घर र शैक्षिकस्तर हेरेर दाइजोको रकम तोकिने गरिन्छ । वैदेशिक रोजगारीमा छन् भने ४ देखि ६ लाख, डाक्टर, इञ्जिनियरिङ हो भने १० लाखदेखि ५० लाखसम्मको रकम लेनदेन हुन्छ ।

एक दिनमा सम्पन्न हुने बिहेको तयारी महिनौंसम्म हुने गर्छ । दुवै बेहुला र बेहुली पक्षले महिनौं मोलमोलाइमा बिताउँछन् । रोचक कुरा के हो भने दुवै पक्षलाई समझदारीको धारमा ल्याउन कोही एकजना एजेण्ट हुन्छ, जसलाई मधेसमा अगुवा पनि भनिन्छ । अगुवाको काम हो दुवै पक्षलाई एउटा निश्चित बिन्दुमा गएर सहमतिमा ल्याउनु । अगुवा चाहिँ दुवै परिवारसँग उत्तिकै नजिक हुन्छ । सहमतिपश्चात् बेहुला र बेहुलीपक्ष ‘छेका’ (आधुनिक भाषामा ‘इन्गेजमेण्ट’ पनि भनिन्छ) का लागि तयार हुन्छन् ।

छेकामा केटापक्षभन्दा केटीपक्षले बढी तयारी गर्नुपर्ने हुन्छ । कारण त्यसै दिन उनले केटापक्षलाई सहमति भएको दाइजो को पहिलो किस्ता तिर्नुपर्ने हुन्छ । बिहेको दिन केटीपक्षले बाँकीको किस्ता तिर्नुपर्छ । यदि चुकेमा बिहे अनिश्चिततातिर धकेलिने बढी सम्भावना हुन्छ । प्रायः छेका एक पक्षीय हुने गरेको छ । छेका नहुञ्जेलसम्म बिहे निश्चित हुँदैन । यसको अर्थ नै केटा ‘बुक’ गर्नु हो टिकट बुक गरे जस्तै । त्यसै दिन बेहुला र बेहुलीको साथसाथै दुवैतिरको परिवारको कपडा किन्ने सहमति हुन्छ । केटीपक्षले दिने हरेक भौतिक सामग्री उच्च कोटीको हुनुपर्छ । अन्यथा बेहुलीले बिहेपछि नानाथरीका आलोचनात्मक कुरा सुन्नु पर्ने हुन्छ । कति ठाउँमा त दाइजोमा सामान नराम्रो ल्यायो भन्ने निहुँमा बेहुली महिला हिंसाको समेत सिकार हुने गर्छिन् ।

अर्को चाखलाग्दो विषय के हो भने यिनीहरूमा जन्ती अर्थात् बरातीको विषयमा पनि धेरै छलफल हुन्छ । केटीपक्षले प्रायः थोरै आओस् भन्ने चाहन्छन् भने केटापक्षले धेरैजना जन्ती लगे आफ्नो शान बढ्नेमा विश्वास गर्छन् । बिहेको करिब १० दिन अगाडिदेखि छरछिमेक महिलाद्वारा मैथिली लोकगीत गाइन्छ, जसबापत घरमालिकले सुपारी, सुकमेल, शृङ्गारका सामान आदि दिनुपर्ने हुन्छ । यसरी मधेसमा बिहे हुने गरेको छ, जुन आफैमा बडो दुःखद् हो ।

दाइजो त शदियौँदेखि हाम्रो समाजमा कुप्रथाको रूपमै जरा गाडेर बसेको छ । यसले समाजमा असमानता, उत्पीडन, हत्या तथा हिंसाजस्ता जघन्य सामाजिक अपराधहरूलाई मलजल गरिरहेको छ । दिनहुँजस्तो हाम्रो समाजमा घट्ने महिला हिंसा, हत्या, आत्महत्याजस्ता घटनाहरू यसका ज्वलन्त प्रमाणहरू हुन् ।

यसप्रथाका आर्थिकभन्दा पनि सामाजिक र मनोवैज्ञानिक पाटो अझ विकराल छन् । छोरा जन्मदा खुशी हुने परिवारमा छोरीको आगमन हुँदा दुःखी हुन्छन् । दाइजोको लागि अब जोहो गर्नुपर्ने पनि छोरी जन्मिएकै दिनबाट शुरु हुन्छ । अर्को शब्दमा भन्नुपर्दा छोरीमाथिको लैङ्गिक विभेद गर्भबाटै शुरु हुन्छ । त्यसैले कानूनका पानाहरूमा मात्र सीमित नभई व्यवहारमै हामीले दाइजोजस्तो कुप्रथालाई समाजबाट निराकरण गर्नुपर्ने आजको आवश्यकता हो ।