धरान । प्रमुख प्रतिपक्षी नेपाली काङ्गेसले छाया सरकार गठन गरेको छ । संसदीय दलको विधानको धारा ९ को उपधार ५ कअनुसार छाया सरकार गठन गरिएको पार्टी सभापति शेरबहादुर देउवाले जानकारी दिएका छन् ।

छाया सरकारमा मन्त्रालय स्तरीय समन्वय समितिसमेत गठन गरिएको छ । छाया सरकारको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्र मन्त्रालयमा नारायण खड्का, अर्थमा मिनेन्द्र रिजाल, गृह मन्त्रालयमा दिलेन्द्रप्रसाद बडू छन् । त्यस्तै शहरी विकासमा उमाकान्त चौधरी, खेलकुदमा किशोरसिंह राठौर, उद्योगमा मीन विश्वकर्मालाई संयोजक तोकिएको छ ।

त्यस्तै शिक्षामा गगन थापा, खानेपानीमा सुजाता परियार, स्वास्थ्यमा पार्वती डिसी चौधरी, पर्यटनमा देवेन्द्र कँडेल, श्रममा डिला संग्रौला, सञ्चार समितिमा बहादुर सिंह लामालाई संयोजक तोकिएको छ । नेपाली कांग्रेसले यसअघि नै जागरण अभियानसमेत चलाइरहेको छ । पार्टीले छाया सरकार बनाउने विषयमा यसअघिदेखि नै बताउँदै आए पनि हालसम्म बनाएको थिएन ।

घोषणा भने यसअघि नै गरिएको थियो । त्यस्तै भूमिसुधारमा लक्ष्मी परियार, संघीय मामिलामा अतहर कमाल मुसलमान, कृषिमा पद्मनारायण चौधरी, महिलामा उमा रेग्मी, रक्षामा भीमसेनदास प्रधान, भौतिक पूर्वाधारमा सञ्जयकुमार गौतम, वनमा राजेन्द्र केसी र कानुन मन्त्रालयको समितिको संयोजकमा राधेश्याम अधिकारी रहेका छन् । सरकारले काम शुरु गरिहाल्ने बताएको छ ।