उदयपुर/ गाडी गुडेको वर्षौं बितिसक्दा पनि उदयपुरको पहाडीभेगका स्थानीयवासीहरूको समस्या भने उस्तै छ ।

सदरमुकाम आवत–जावत गर्न गाउँमै गाडी पुगेको भए पनि समयमा गाडी नआउँदा स्थानीयवासीलाई समस्या परेको हो । सदरमुकाम गाईघाटबाट रौता–सल्ले– पोखरी,   मुर्कुची–भुट्टार–लाफागउँ,  मुर्कुची–बारा–बाँसबोटे,  गाईघाट– पोखरी–फोक्सिङ्टार– रसुवा–चन्ढौटे–बलम्ता–बारा–बाँसबोटे, कटारी–रूपाटार, कटारी–ताप्ली,  बेल्टार–रानीटारलगायतका पहाडीभेगका सडकमा पानी परेपछि समस्या आउने गरेको छ ।

सडकको नाली निर्माण र स्तरोन्नति नभएकाले पानी पर्दा कच्ची बाटो भत्कने, माथिबाट पुर्ने, हिलो हुने, गाडी फस्ने जस्ता समस्याले समयमा सदरमुकाम आउन र घर पुग्न अप्ठ्यारो भएको स्थानीयवासी बताउँछन् । गाईघाटबाट पहाडीभेगका लागि गाडीहरू समयमै हिँडे पनि कच्ची सडकका कारण समयमा आवत–जावत गर्न समस्या भएको स्थानीय कुमार कार्कीले बताए ।कतिपय पहाडीभेगका सडकहरूमा दशैँ तिहारदेखि वर्षायाम नलागुन्जेलसम्म मात्रै गाडी गुड्ने गरेको स्थानीय कार्कीले बताए ।

नाली र सडक फराकिलो नबनाउँदा पानी पर्ने बित्तिकै बाटो भत्काउने, हिलो हुने र आवत–जावतमा समस्या आउने गरको स्थानीय कार्कीले बताए । उनले भने, ‘वर्षासँगै सडकको बेहाल हुन्छ । गाउँबाट सदरमुकाम फर्कने गाडी समयअनुसार नहिँड्ने, यात्रु पर्खन अबेरसम्म बस्ने गरेकाले समस्या हुन्छ ।’ पानी परेपछि गाउँबाट सदरमुकाम आउन दुई दिनसम्म लाग्छ ।

बाटो भत्कने, माथिबाट पुर्ने र गाडी फस्ने हुँदा पहिले हिँडेर आउँदा जति नै समय लाग्ने गरेको स्थानीय मनिषा राईले बताइन् । हिउँद शुरु भएपछि मात्र सडक मर्मत गरेर गाडी चलाउनाले वर्षामा बन्द हुने गरेको उनले बताइन् । पहिलाभन्दा यातायातको सुविधाले धेरै सहुलियत भए पनि वर्षा शुरु भएपछि पुरानै समस्या आउने गरेको छ । हिउँदमा धुलाम्य बाटो वर्षामा हिलाम्य हुन्छ । कतिपय ठाउँमा भत्केर बाटोको नाम निसानासमेत नरहने राईले बताइन् ।

पहाडीभेगका गाउँघरका बासिन्दाले केही वर्षदेखि हिउँदयाममा पैदल यात्रा गर्नु पर्दैन तर वर्षात शुरु भएसँगै पुरानै समस्या सिर्जना हुन्छ । बाबुबाजे हिँड्ने पुरानो गोरेटो तथा गाडी पुग्ने ठाउँसम्म पैदल हिँड्नु पर्ने बाध्यता रहेको स्थानीयवासीले बताए । सरकारले नयाँ तथा पुराना सडकको स्तरोन्नति र नालीको निर्माण गर्न नसक्दा जिल्लाकै प्रमुख पर्यटकीय स्थल रौतापोखरी अवलोकन तथा पूजा आराधना गर्न आउने पर्यटकहरूको आगमनमा बाधा पुगेको स्थानीयले बताए ।

पहाडीभेगमा दैनिक ४ वटा यात्रुवाहक बस र आधा दर्जनको हाराहारीमा बोलेरो सञ्चालनमा रहेको गाईघाट बस काउण्टरका कर्मचारी प्रेम लिम्बूले बताए । सडकको ट्रयाक मात्रै खन्ने र स्तरोन्नति नगर्ने हो भने ग्रामीणभेगका जनताले सडक विकासको आभास गर्न नसक्ने भएकाले सम्बन्धित निकायले समयमै चासो दिनुपर्ने स्थानीय बताउँछन् ।