भद्रपुर/ झापाको सदरमुकाम भद्रपुर नगरको सामाजिक, बौद्धिक तथा राजनीतिक ऐतिहासिकता बोकेको झण्डै ७० वर्ष पुरानो भद्रपुर पुस्तकालय वर्षौंदेखि बन्द भएको छ । 

संरक्षण र सञ्चालनको पर्खाइमा रहेको पुस्तकालय बन्द हुँदा त्यसतर्फ कसैको ध्यान जान सकेको छैन । पुस्तकालय सञ्चालक समितिले चासो नराखेका कारणले पनि पुस्तकालय बन्द भएको हो । समितिले आफू पनि केही नगर्ने र अरूलाई पनि जिम्मा नदिएकै कारण पुस्तकालय थन्को लागेको जानकारहरू बताउँछन् । कर्मचारी संयन्त्रले झण्डै २ दशक स्थानीय निकाय सञ्चालन गर्दा पुस्तकालयलाई कुनै वास्ता नगरे पनि २ वर्षदेखि स्थानीय तहमा जनप्रतिनिधि आएपछि समेत पुस्तकालयले अभिभावकत्व पाउन सकेको छैन ।

वि.सं.२००७ सालको जनक्रान्तिको सफलतापछि र झापामा स्वायत्त सरकार बनेपछि सोही सरकारका शिक्षा मन्त्री महानन्द सापकोटाकै पहल र आग्रहमा तत्कालीन भैरवप्रसाद आचार्यको स्वीकृतिले भद्रपुर पुस्तकालय स्थापना भएको थियो । वि.सं.२०५७ सालबाट पुस्तकालयको कार्यसमितिको लापरबाहीका कारण  पुस्तकालय खण्डहरका रूपमा परिणत हुँदै हाट बजारका व्यापारीको शौचालय बन्न पुगेको स्थानीय बताउँछन् ।

शुरुमा मोहपाल धर्मशालामा पुस्तकालय सञ्चालन गरिएको थियो । पुस्तकालयको स्थापना समयमा राष्ट्रकै दिग्गज व्यक्तिहरूको पुस्तकालयप्रति सक्रियता रहेको थियो । तत्कालीन अवस्थामा दान खालिङ, नरेन्द्रनाथ बास्तोला, एस.एल. शर्मा, महानन्द सापकोटा, देवीप्रसाद उप्रेती, धर्मप्रसाद ढकाल, रामप्रताप मोहपाल, द्विजराज शर्मा, पुण्यप्रसाद भूर्तेल, सुरजमल सरावगी, गङ्गाधर उपाध्याय, रणधर शर्मा, तुलसीप्रसाद आचार्य, भैरवप्रसाद आचार्यलगायतका व्यक्तित्वहरूको पुस्तकालयप्रति क्रियाशीलता रहेको थियो । वि.सं. ०५७-५८ सालमा रामकृष्ण खड्काको अध्यक्षतामा गठित पुस्तकालय सञ्चालक समितिको निष्क्रियताका कारण पुस्तकालयमा ताला लाग्न पुगेको थियो ।

हाल खडकाको मृत्यु भइसकेको छ । पुस्तकालयमा ताला लाग्नुको कारण तत्कालीन पुस्तकालयको कार्यसमितिले वास्ता नगर्नु नै रहेको स्थानीय बताउँछन् । पुस्तकालयको अवस्थालाई पुनर्जागरण गराउन तत्कालीन प्रेस क्लब, भद्रपुरका अध्यक्ष दीपक अधिकारीको सक्रियतामा २०६६ चैत्र ५ गते भद्रपुर नगरपालिकामा नगरस्तरीय राजनीतिक दल, सामाजिक व्यक्तित्व, सञ्चारकर्मी, उद्योगी–व्यवसायी, साहित्यप्रेमी, शिक्षाविद्, नागरिक समाजलगायतको भेला बसेको थियो ।

भेलाले अधिकारीको संयोजकत्वमा शैलेश ढुङ्गाना, काजीलाल डङ्गोल, दुर्गा खरेल, लक्ष्मी रसाइली, भद्रपुर नगरपालिकाका प्रतिनिधि र वडा प्रहरी कार्यालय भद्रपुरका प्रतिनिधिसहित ७ जनाको समिति बनाएको थियो । समितिले पुस्तकालयको बन्द ताला खोली अध्ययन गरी प्रतिवेदन सहित २०६७ भदौमा नगरपालिकामा बुझाएको थियो । सोही भेलाले ओमप्रकाश सरावगीको अध्यक्षतामा छत्रप्रसाद अधिकारी, दीपक अधिकारी, राजेन्द्र घिमिरे, शिला खड्का, लक्ष्मी रसाइली र सफिउर रहमान रहेको तदर्थ समिति गठन गरेपछि पुस्तकालयको मर्मत सम्भार तथा  व्यवस्थापन कार्यलाई अगाडि बढाइएको थियो ।  

समितिले भवनको तल्लो तलामा साग–सब्जी व्यापारीलाई भाडामा राखेको र पछि हटाउन खोज्दा विभिन्न विवाद, असमझदारीका कारण कोठा खाली गर्न समय लागेकाले पनि पुस्तकालय सञ्चालनमा ढिलाइ भएको समिति सदस्य दीपक अधिकारी बताउँछन् । विभिन्न सामाजिक, राजनीतिक, युवा समूहहरूसँगको विवाद, छलफल र अन्तरक्रिया तथा प्रहरी–प्रशासनको सहयोगमा झन्डै दुई वर्ष लगाएर पुस्तकालयको कोठामा बस्नेहरूलाई हटाएको उनले बताए ।

आर्थिक वर्ष २०६८-६९मा भद्रपुर नगरपालिकाको सहयोगमा पुस्तकालय भवनको सामान्य मर्मत सम्भार, रङरोगन तथा गेटसम्म हालेर भवनको सामान्य संरक्षण गरिएको थियो । पुस्तकालयलाई भौतिक पूर्वाधारसहित व्यवस्थित रूपमा सञ्चालन गर्न सरावगीको नेतृत्वको समितिले १ करोड १९ लाख २ हजार ४ सय ७३ रुपैयाँ १६ पैसाको प्रस्ताव तयार गरी २०६९ माघ ९ गते तत्कालीन नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादसमक्ष पेस गरेका थिए । राजदूत जयन्त पनि सरुवा भएर गइसकेकाले सो प्रस्तावसम्बन्धी कुनै सकारात्मक सङ्केत नदेखिएको अधिकारी बताउँछन् ।

२०७० साल चैत १५ गते भएको एक भेलाले हुलासचन्द्र सरियाको नेतृत्वमा १५ सदस्यीय नयाँ पुस्तकालय समितिको गठन गरेको थियो । सोही समितिमा केही युवा व्यवसायीहरूलाई समेटेर पुस्तकालयको समितिलाई १९ सदस्यीय बनाइएको थियो । सरावगी नेतृत्वको समितिले पहल र प्रयासमा तत्कालीन जिल्ला विकासबाट प्राप्त ३७ हजार ५ सय रकमबाट पुस्तकालयको समामान्य मर्मत सम्भार गरी २०७१ वैशाख १ गतेबाट पुस्तकालय एक कार्यक्रमकाबीच पुनः सञ्चालनमा ल्याइएको थियो । पुस्तकालयको नियमित आयस्रोत नहुँदा र पुस्तकालय समयअनुसारको व्यवस्थापन गर्न नसक्दा केही समयपछि पुस्तकालय पुनःबन्द हुन पुग्यो । 
अध्ययन गर्ने मान्छे नै नआएर पुस्तकालय बन्द भएको सञ्चालन समितिका अध्यक्ष सरिया बताउँछन् । भवन जीर्ण भएकाले नयाँ भवन निर्माण गरी नयाँ व्यवस्थापनका साथ पुस्तकालयलाई सञ्चालनमा ल्याउन पहल भइरहेको उनले जनाए । प्रविधिको विकाससँगै पुस्तकालयमा गएर पुस्तक पढ्ने मानिस कम हुने भएकाले विगतको पुस्तकालयअनुसार चल्न नसक्ने नगर प्रमुख जीवनकुमार श्रेष्ठले बताए । व्यापार चल्ने स्थानमा पुस्तकालय भएकाले स्थान्तरण गरी इ–लाइब्रेरीमा रूपान्तरण गर्न सकिने भए पनि यो विषयमा नगरले कुनै योजना नबनाएको उनले बताए ।  भद्रपुर नगरपालिका साविक वडा नम्बर १२ हाल ५ नम्बर वडामा रहेको छ । शिवप्रसाद गुप्ताबाट प्राप्त दशधुर जग्गामा बनेको दुई तला पक्की भवनमा माथिल्लो तल्लामा पुस्तकालयको कोठा रहेको छ ।

भवन जीर्ण भई छत चुहिने भएको छ । झ्याल–ढोका काम लाग्ने अवस्थामा छैनन् । पुस्तकालयमा बसेर पढ्न सक्ने अवस्था छैन । बन्द भएका कारण पुस्तकहरू अधिकांश कीरा र मुसाले खाएर काम नलाग्ने भएका छन् भने पुस्तक राख्ने दराजहरू समेत उपयोगी देखिँदैनन् । बत्तीको लाइन काटिएको छ । पुस्तकालयमा शौचालय पनि छैन । नेपालकै पुरानो नगरपालिका मध्येको एक भद्रपुर नगरपालिकामा एउटा सार्वजनिक पुस्तकालय अति आवश्यक रहेको स्थानीय बताउँछन् । बौद्धिक वर्गको चासो र खोजीको विषय बनेको भद्रपुर पुस्तकालयलाई भौतिक पूर्वाधारसहितको व्यवस्थित रूपमा सञ्चालनको खाँचो महसुस गरिएको पुस्तकप्रेमीको भनाइ  छ । पुस्तकालयलाई समयसापेक्ष रूपमा आधुनिकीकरणसँगै व्यवस्थित भौतिक, प्राविधिक रूपमा पूर्ण नयाँ संरचना तयार गर्नको निम्ति तथा भौतिक जीर्णोद्धार गरी पुस्तकालयलाई व्यवस्थित रूपमा सञ्चालनका लागि स्थानीय तहले नेतृत्वदायी भूमिका निर्वाह गर्नु जरुरी रहेको नगरबासी बताउँछन् ।