भोजपुर । भोजपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच दोहोरो मुठभेड भएको छ । मंगलबार भएको मुठभेडमा प्रहरीको गोली लागी षडानन्द नगरपालिका वडा नं. २ कुदाककाउले घर भएका विप्लव कार्यकर्ता तीर्थराज घिमिरे घाइते भएका छन् ।

सुरक्षा स्रोतका अनुसार घिमिरेको खुट्टामा गोली लागेको छ । उनलाई उपचारका लागि एम्बुलेन्सबाट बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान पठाइएको छ । उनको साथमा हतियारसमेत फेला परेको बताइएको छ । प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल , पाँच राउन्ड गोली , एक थान वाइनाकुलर र चार थान डेटोनटर बरामद गरेको इन्सपेक्टर पाण्डव राजवंशीले बताए । धोद्रेमा गोली चलेको आवाज सुनेको स्थानीयले बताएका छन् ।