बिर्तामोड / बिप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शुक्रवार झापा बन्दको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली झापा आउने भए पछि बिप्लब नेतृत्वको नेकपाले झापा बन्दको घोषणा गरेको हो । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता पछि आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा ओली उपस्थित हुन लागेका हुन् ।
सरकारले नेकपा माथि प्रतिबन्ध लगाए पछि सो पार्टीले पनि प्रधानमन्त्री ओली जाने कार्यक्रमलाई प्रतिबन्ध लगाउने जनाएको थियो । नेकपा झापाका सेक्रेटरी सुमनसिंहले बिज्ञप्ति जारी गरी पार्टीको केन्द्रीय निर्णय अनुसार नै झापा बन्दको आह्वान गरिएकाले बताए । बिज्ञप्तिमा भनिएको छ, ‘केपी–बादल सरकारको जनदमन, जनहत्या र हाम्रो पार्टीमाथिको प्रतिबन्धको बिरोध स्वरुप एक दिने झापा जिल्लाका सबै उद्योग, कलकारखाना, शिक्षण संस्था, बिभिन्न कर्यालय र संस्थानहरु बन्द गरिदिन र ओली सहभागि कार्यक्रम बहिस्कार गरि सामाजिक फासिवादी सरकारलाई प्रतिबन्ध लगाउन अपिल गर्दछौ ।’
नेकपामाथि गत फागुन २८ गते सरकारले प्रतिबन्ध लगाएपछि सो पार्टीका महासचिव विप्लवले पनि प्रधानमन्त्री ओली जाने सबै कार्यक्रममाथि अवरोध गर्ने घोषणासहित कार्यकर्तालाई निर्देशन दिएका थिए । साथै झापा सेक्रेटरी सुमनले भोजपुरका जिल्ला स्तरीय नेता तीर्थराज घिमिरेलेको प्रहरीले हत्या गरेको भन्दै भत्र्सना समेत गरेका छन् ।