काठमाडाैं / सरकारले एक वर्षभित्र चतरादेखि दोलालघाटसम्म (सुनकोसी नदी) जलमार्ग सञ्चालनमा ल्याउने भएको छ । जलमार्गको तयारीस्वरूप आगामी आर्थिक वर्ष (आव) २०७६/७७ का लागि आवश्यक बजेट प्रस्ताव गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुुसूदन अधिकारले जानकारी दिए । ‘यति नै बजेट विनयोजन हुन्छ भन्नलाई बजेट नै आउनुपर्छ, तर आगामी आवभित्रै डुंगा सञ्चालनका लागि आवश्यक बजेट आउनेछ,’ उनले भने । यो जलमार्गको लम्बाइ करिब २ सय ७० किलोमिटर हुनेछ । चतरादेखि दोलालघाटसम्म यात्रु र मालबाहक मध्यम आकारको डुंगा (पानीजहाजभन्दा सानो, तर स्टिमरभन्दा ठूलो) सञ्चालनमा ल्याउने तयारी छ । 

डुंगा सञ्चालनका लागि ठूलो अध्ययन आवश्यक नपर्ने र केही ठाउँमा पानीको सतहलाई मिलाउने काम गरिने सचिव अधिकारीले जानकारी दिए । आर्थिक वर्ष ०७६/७७ भित्रै डुंगा सञ्चालनमा ल्याउने र त्यसले ढुवानी/आवतजावतमा पनि ठूलो सहयोग पुग्ने उनको भनाइ छ । उनका अनुसार कत्रो डुंगा र कुन परिमाणको तौल बोक्ने क्षमता हुने भन्ने विषय भने पछि निर्धारण गरिनेछ । 

पूर्वाधार मन्त्रालयलाई १३७ अर्बको बजेट

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी वर्ष ०७६/७७ मा १ खर्ब ३७ अर्ब रुपैयाँको बजेट प्राप्त गर्ने सम्भावना छ । राष्ट्रिय योजना आयोगले १ खर्ब ३० अर्बको बजेट सीमा तोकेको भए पनि केही नयाँ कार्यक्रमसमेत समावेश गर्नुपर्ने भएकाले बजेटको आकार बढ्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीले जानकारी दिए । ‘अहिले मन्त्रालयको बजेट १ खर्ब ३७ अर्ब रुपैयाँ रहने गरी छलफल भइरहेको छ,’ उनले भने । आगामी आर्थिक वर्षमा मन्त्रालयको बजेट १ सय ३७ अर्ब पुगे त्यो चालू आर्थिक वर्षको भन्दा ३९ प्रतिशतले बढी हुनेछ । चालू आर्थिक वर्षमा ९८ अर्ब रुपैयाँको बजेट तोकिएको थियो ।

रेलमार्गको अध्ययन वैदेशिक सहयोगमा गर्ने तयारी 

भौतिक पूर्वाधार मन्त्रालयले चीन जोड्ने केरुङ–काठमाडौं र भारत जोड्ने रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) वैदेशिक सहयोगमा गर्ने गरी बजेट ल्याउने तयारी गरेको छ । तर, अझै कुन देशको सहयोगमा अध्ययन हुने भन्ने स्पष्ट छैन । यसअघि मन्त्रालयले आगामी वर्षका लागि तोकिएको बजेट सिलिङबाट ती रेलमार्ग अध्ययन सम्भव नहुने भनाइ सार्वजनिक गरेको थियो । ‘रेलमार्ग अध्ययनका लागि वैदेशिक सहयोगबाट गर्ने गरी बजेटमा मिलाइने भएको छ,’ सचिव अधिकारीले भने । यसअघि उनले केरुङ–काठमाडौं र रक्सौल–काठमाडौं रेलमार्गको डिपिआर अध्ययन गर्न अहिलेको सिलिङमा थप २० अर्ब रुपैयाँ आवश्यक पर्ने बताएका थिए । 

७० प्रतिशत बजेट निर्माणाधीन आयोजनालाई

भौतिक पूर्वाधार मन्त्रालयका अनुसार आगामी बजेटमा विनियोजन हुने मन्त्रालयको कुल बजेटमध्ये ७० प्रतिशत निर्माणाधीन आयोजनालाई छुट्याइनेछ । करिब ९५ अर्ब रुपैयाँ बजेट चालू कार्यक्रममै जाने सचिव अधिकारीले जानकारी दिए । ‘त्यसबाहेकको रकम भने नयाँ कार्यक्रम र अध्ययनमा खर्च हुनेछ’ उनले भने । 

सुरुङमार्ग अध्ययन र पूर्व–पश्चिम जोड्ने राजमार्ग प्राथमिकता

भौतिक पूर्वाधार मन्त्रालयका अनुसार पूर्व–पश्चिम जोड्ने ४ वटा राजमार्ग बजेटको प्राथमिकतामा छन् । तिनीहरूमा मध्यपहाडी राजमार्ग, पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग विस्तार, हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्ग छन् । त्यस्तै, पृथ्वी राजमार्गको नागढुंगादेखि सिस्नेखोला जोड्ने सुरुङमार्ग निर्माण कार्य आरम्भ गरिनेछ । त्यस्तै, टोखा–खहरे–गुर्जुभञ्याङ, सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकको सिद्धबाबा खण्ड, अरनिको राजमार्गको कोटेश्वर जडीबुटी खण्ड, बिपी राजमार्गको खुर्कोट चियाबारी, बिपीनगर खुटीया दीपायल खण्ड र गणेशमान सिंह मार्गको थानकोट चित्लाङ खण्डमा पनि अध्ययन पूरा गरिने तयारी छ । 

जलमार्ग सञ्चालनलाई जोड दिइएको छ : सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

सुनकोसी नदीमा जलयातायात सञ्चालनमा आउने गरी काम गरिनेछ । सरकारको प्राथमिकतामा रहेको विषय भएकाले पनि जलयातायात  सञ्चालन पानीजहाज नै तत्काल सम्भव नभए पनि सम्भव हुने काम थालनी गरिनेछ । त्यस्तै,  अन्य नदीमा पनि अध्ययनलाई प्राथमिकता दिइनेछ । 

जलमार्गको अध्ययन : सञ्चालन गर्दा व्यावसायिक मुनाफा हुँदैन  

सुनकोसी नदीमा पछिल्लोपटक सन् २०१२ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जलमार्ग सञ्चालनबारे अध्ययन गरेको थियो । अध्ययन टोलीले चतरादेखि दोलालघाटसम्म व्यावसायिक मुनाफा हुने गरी पानीजहाज सञ्चालन गर्न नसकिने निष्कर्ष निकालेको थियो । त्यसको सट्टा पर्यटन प्रयोजनका लागि प्रयोग गर्न सकिने बताएको थियो । टोलीले कुन प्रयोजनको जल यातायात सञ्चालन गर्ने हो, त्यसलाई कार्यक्षेत्र तोकेर थप अध्ययन गर्नुपर्ने सुझाब दिएको थियो ।

सञ्चालनमा छ ‘जेट बोट’ 
यसअघि नै कोसी नदीमा जेट बोट (डुंगा) सञ्चालनमा आइसकेको छ । यो उदयपुरको बेलका र सुनसरीको बराह क्षेत्र नगरपालिकाको सहकार्यमा सञ्चालनमा आएको हो । सो डुंगाले भोजपुर, उदयपुर र धनकुटाका विभिन्न ठाउँबाट बराहक्षेत्र दर्शन गर्न जानका लागि सहज बनाइरहेको छ । जेट बोटले ३० जना मानिस एकपटकमा बोक्न सक्छ । नयाँ पत्रिकाबाट