धरान । धरान–१५ स्थित चुम्लुङहिम परिसरमा धरान–१९ निवासी स्वर्गीय देउबहादुर कन्दङ्वाको परिवारले ट्रष्ट निर्माण गरिदिएको छ ।

देउबहादुरको अर्धकदको शालिकसहितको ट्रष्टका लागि परिवारले ४० लाख रुपैयाँ खर्चिएको हो । करिब ३ कठ्ठा क्षेत्रफलमा फैलिएको चुम्लुङहिम परिसरको खाली क्षेत्रमा ‘स्वर्गीय देउबहादुर कन्दङ्वा लिम्बू स्मृति ट्रष्ट भवन’ निर्माण गरिदिएको हो । फागुनबाट निर्माण शुरु भएको ट्रष्ट भवनको शनिबार किरात याक्थुम चुम्लुङका केन्द्रीय अध्यक्ष योगराज वनेमले उद्घाटन गरे । उनले देउबहादुरको अर्धकदको शालिकसमेत अनावरण गरेका छन् ।

ट्रष्ट उनको धर्मपत्नी नन्दकुमारी निङ्लेकू कन्दङ्वाले निर्माण गरिदिएकी हुन् । भवनको संरक्षकत्वको जिम्मेवारी किरात याक्थुम चुम्लुङ धरान नगर समितिलाई दिइएको छ । ट्रष्ट निर्माणमा ३६ लाख ५० हजार रुपैयाँ खर्च भएको देउबहादुर कन्दङ्वा लिम्बू स्मृति ट्रष्ट भवन निर्माण समितिका संयोजक सुवास हुक्पा चोङबाङले बताए । त्यस्तै शालिकका लागि थप ३ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।

यसबीचमा परिवार र संरक्षणको जिम्मेवारी लिएको कियाचु नगरबीच निर्माण सम्पन्न कागज आदानप्रदान गरिएको छ । २००३ जेठ ११ गते जन्मिएका देउबहादुर १६ वर्ष ब्रिटिस गोर्खामा रहेर काम गरेका थिए भने उनको २०७३ साउन २६ गते निधन भएको थियो । परिवारका अन्य सदस्य दलबहादुर कन्दङ्वा, डिल्ली कन्दङ्वाको पहलमा भवन निर्माण गरिएको हो । भवन निर्माणमा सहयोग गर्ने तथा दातालाई दोसल्लासहित सम्मान पत्रले सम्मानित गरिएको छ ।

संयोजक सुवास हुक्पा चोङबाङले लिम्बू जातिको लागि मात्रै नभएर यहाँ सबै जातजातिले कार्यक्रम गर्न सक्ने बताए । उक्त ठाउँमा विवाह, पार्टी, ब्रतवन्धलगायतका सामाजिक कार्य गर्न सकिने जनाइएको छ ।