केही न केही विषय पढिरहन रुचाउने हरिप्रसाद दाहाल इतिहास विषयमा स्नातकोत्तर गरेका छन् । अहिले इतिहास विषय पढाइ हुन छाडेको छ त्रिभुवन विश्वविद्यालय तथा अन्य विश्वविद्यालयमा पनि । तर, यसको महत्त्व अहिले थप बढिरहेको अनुभव गर्छन् उनी । यसपटकको सानो छदामा उनको कथालाई समेट्ने प्रयास गरेका छौंः

उनी शान्त छन् तलाउ झैं । बालपनमा पनि यस्तै, युवावस्था पनि, अहिले पनि । यो उनको अर्थात् हरि दाहालको गुण हो । आमाको छत्रछायामा हुर्किएका दाहाल सिन्धुलीको झागाझोली गाउँपञ्चायत–८ मुलकोटमा २०१३ सालमा जन्मिए, जेठो सुपुत्रका रूपमा । ब्राह्मण कूलमा जन्मिएका दाहालको शैक्षिक वातावरण नै यस्तो बन्यो कि, हरेक साँझबिहान रुद्री, चण्डी पाठ कानमा परेकै हुन्थ्यो ।

त्यो वातावरणले उनमा पनि पढाइप्रतिको लगाव बढेर गयो । ६ वर्षको पुग्दानपुग्दै उनले घरमै बाह्रखरीलाई छिचोलिसकेका थिए । त्यो बेला गाउँमै अर्थात् एक घण्टा पैदल दूरीमा थियो, सहस्रधारा राष्ट्रिय प्रावि स्कुल । गाउँले मिलेर बनाएको ढुङ्गामाटोको गारो र साधारण काठको झ्याल–ढोका भएको त्यही स्कुल शिक्षाको प्रारम्भ गर्ने ढोका बन्यो । जहाँ कक्षा ५ सम्म पढे । घरको जेठो छोरो भएकाले धेरै जिम्मेवारी उनमा थियो । ६ वर्षको पुग्दानपुग्दै बुबा गाउँ छाडेर सुनसरीको मधुवन हिँडेका थिए । त्यो धेरै पनि मात्रै ज्ञान भयो । आमाको काखमै हुँदा छाडेको उति ज्ञान छैन, उनलाई । घर नागीडाँडा, खेती सुनकोशीको किनारमा पथ्र्यो । ऊबेलै धान फल्ने खेत । घरबाट झण्डै डेढघण्टाको दूरी । ‘भारी बोकेर हिँड्दा त अढाइ घण्टै लाग्थ्यो होला,’ उनी सम्झन्छन्, ‘हातमा घडी हुँदैनथ्यो । अन्दाजका भरमा ।’

त्यो बेला समयको आँकलन गर्न दिनमा घाम (सूर्य) लाई नियाल्ने चलन थियो भने रातमा चन्द्रमा । औशीका बेला त त्यो पनि सम्भव थिएन । पढ्न जाने बेला पनि त्यही घामै साहारा । ‘कहिलेकाहीँ त यतिसम्म हुन्थ्यो कि, बिहानको स्कुल पढ्न जाँदा १–२ बजेनै हिँडिदोरहेछ’–उनी भन्छन् । त्यो अनुभव गाउँकै स्कुलमा भन्दा पनि निमावि र मावि तहमा पढ्दा धेरै छ उनलाई । प्राथमिक स्कुलमा पढ्दा कालो पाटी बोक्ने चलन थियो । घरबाटै गुद्री बोकेर जानुपर्ने । दुई कक्षासम्म कालोपाटी बोकेको याद छ । कसैको कालोपाटीमा डोरी लगाएको हुन्थ्यो भने कसैको चाहिँ मुग्रोजस्तो एकापट्टि पक्रिने हुन्थ्यो । दूधेखरीले पाटीमा लेख्ने चलन थियो । तर, कक्षा तीनदेखि भने उनले कापी र पेन्सिल चलाउन थाले । कक्षा १ देखि उनी कक्षाको प्रथम विद्यार्थी । हरेक वर्ष पुरस्कार स्वरूप कापी र पेन्सिल पाउँथे । ‘त्यसैले लामो समयसम्म कालोपाटीको साहारा लिनुपरेन,’–उनी भन्छन् । कक्षा ५ मा पढ्दै गर्दा सामान्य डेस्कबेञ्चको व्यवस्था भएको स्मरण छ उनलाई ।

त्यसो त, उनले आफूपढ्नुअघि गाउँकै भीमसेन थानमा ठूलो आँपको रुखलाई पाठशालाको रूपमा विकास गरेको राम्रोसँग याद छ । आफ्नै कान्छा हजुरबुबाले गाउँका केटाकेटीलाई भेला पारेर कखरा पढाउँथे । त्योबेला धनीमानीका छोराछोरी काठमाडौंसम्म पढ्न पुग्थे । तर उनलाई त्यो पनि सम्भव थिएन । बुबा शिक्षित थिए । तर घरमा नबसेकाले उनलाई बुबाको लाडप्यारको अनुभूति भएन । संस्कृतका श्लोकहरू भन्न असाध्यै रुचाउथे उनी । तर, अप्ठ्यारो भएकाले पढ्न सक्ने कुरै थिएन । त्यै पनि सुन्दासुन्दा उनले केहीकेही लाइनचाहिँ कठस्थै पारेका थिए । उनी कक्षा ४–५ मा पढ्दा त छरछिमेकमा गएर स्वस्थानी ब्रतकथा भन्न सक्ने भइसकेका थिए । ‘५ कक्षा पढ्दा ताका स्वस्थानी पनि भन्न थालेको थिएँ । गाउँ छरछिमेकमा बोलाउथे । त्यहाँ गएर स्वस्थानी पढ्थे,’–उनी भन्छन् ।

सहस्रधारामा दुई जना गुरु राखिएका थिए । सरकारबाट उनीहरूलाई वार्षिक २२ सय रुपैयाँ आउथ्यो । स्कुलमा नाममा आउने अनुदान युवराज दाहाल र चेतप्रसाद दाहाललाई पढाएवापत्को शुल्क दिइन्थ्यो । तीमध्ये एकजनाले एसएलसी पास गरेका थिए भने अर्काले सामान्य पढाउने तालिम लिएका थिए । त्योबाहेक ऐतिहासिक मान्छे ईश्वरीप्रसाद दाहालले पनि पढाएको उनी स्मरण गर्छन् । जोपछि माओवादी क्रान्तिमा होमिएका थिए । काठमाडौं पढ्न जाने मान्छे आफूभन्दा फरक मान्छे हुन् कि भन्ने जस्तो उनलाई लाग्थ्यो । कक्षा ५ सम्म त उनका लागि सहज थियो । कक्षा ६ बाट भने उनका लागि पढाइ सहज थिएन । बिहान सखारै हिँड्नुपर्ने । बाटोमा लामो पहिरो छिचालेर जानुपर्ने । असाध्यै कठिन । एकपटक उनी नराम्ररी लडेको याद छ त्यही पहिरोबाट ।
जसले गर्दा लगाएको सर्ट च्यातियो । सल्लाको खोटोले च्यातिएको सर्ट टाँसे । हातखुट्टामा पनि सामान्य चोट लाग्यो । तर, घरमा थाहा दिएनन् । ‘पछि आमाले लुगा धुने बेलामा भने सर्ट च्यातिएको बारे थाहापाइहाल्नुभयो,’–उनी भन्छन् । जुन पहिरोबाट लडेका थिए । त्यो पहिरो एकदमै गाह्रो थियो । भित्तो समातेर जानुपर्ने । कहिलेकाहीँ घाँस, दाउरा गरेर आउने टोली भेटिएमा भने समयमा पनि स्कुल पुग्न सक्दैनथे । अढाइघण्टा भन्दा लामो दूरीमा पर्ने झागाझोली गाउँपञ्चायतको रातमाटा बजारमा पथ्र्यो त्यो स्कुल । दार्जिलिङबाट आएका बाबुराम राईले स्थापना गरेको प्रगतिशील मावि । पढाइ असाध्यै राम्रो । त्यति लामो यात्राका कारणले पनि होला उनले त्यो स्कुलमा प्रथम हुने अवसर कहिल्यै पाएनन् । ५ रोल नम्बरभन्दा मुनी कहिल्यै गएनन् । तर, प्रथम कहिल्यै भएनन् एसएलसी दिउञ्जेल । रातमाटामा नेवारको बस्ती । काठमाडौंबाट व्यवसाय गर्न पूर्व आएका । त्यहाँका रैथाने । नेवारका छोराछोरी गणितमा असाध्यै निपुण । ‘मचाहिँ गणितमा सबैभन्दा कमजोर । अङ्ग्रेजी र नेपालीमा म तगडा,’ उनी भन्छन्, ‘म्याथमा जसोतसो पास गरिथ्यो । नेवारका छोराछोरी गणितमा जान्ने थिएँ । त्यो कारणले म कहिल्यै प्रथम भइन् ।’

गाउँबाट १२–१४ जना विद्यार्थीहरू प्रगतिशील स्कुल पढ्थे । निरन्तर अढाइ घण्टा हिँडेपछि मात्रै पुगिने स्कुल भएकाले उनी रातिमात्रै पढ्ने अवसर पाउँथे । टुँकी बत्तीको साहाराले रातभर पढ्थे । कहिलेकाहीँ आमाले सुत्नुपर्छ भन्दै कराएको पनि याद छ । तर उनीसँग विकल्प थिएन । उनलाई सिकाउने अन्य पनि थिएनन्, आफै जान्नुपर्ने, आफैले होमवर्क गर्नुपर्ने बाध्यता जो थियो । ‘आमाका कुरा पनि सुन्दिनथे, किनकी आफ्नो होमवर्क सक्नुपर्ने हुन्थ्यो,’–उनी भन्छन् । त्यही मेहनत २०३१ सालमा उनीसहित ९ जना दोस्रो श्रेणीमा उर्तीण भए । १४ विद्यार्थीले एसएलसी दिएकोमा सतप्रतिशत पास भएका थिए । ९ जना दोस्रो श्रेणी, अन्य तेस्रो श्रेणीमा । स्कुलले पनि पहिलो पटक रेकर्ड राखेको स्मरण उनलाई छ । त्यो बेला दोस्रो श्रेणी अहिलेको विशिष्ट श्रेणीभन्दा कम हुँदनथ्यो । जुनसुकै कलेजमा पनि भर्नाका लागि ढोका खुल्ला । अहिले विशिष्ट श्रेणी ल्याउँदा पनि ‘इन्ट्रान्स’ मा नाम ननिकाले भर्नाको अवसरबाट बञ्चित ।

ग्रामीण परिवेशमा हुर्किएकाले उनले गाउँले जीवनमा गर्नुपर्ने सबै काम गरे । १७–१८ वर्षसम्म आमाकै छत्रछायामा हुर्किएका उनले एसएलसीपछि मात्रै बुबासँगको यात्रा प्रारम्भ भयो । बुबा सुनसरीको मधुवन भएकाले उनी मोरङ विराटनगरको महेन्द्र मोरङ कलेजमा भर्ना भए । इतिहास, राजनीति शास्त्र र नेपाली विषय लिएर । २०३३ सालमा उर्तीण गरे, आइए । बिएमा इतिहास र नेपाली लिएर पढे । २०३५ सालमा बिए पनि निरन्तर नै उर्तीण गरे । त्यसपछि भने उनी काठमाडौं हान्निए । श्री चण्डी विद्याश्रममा पुननपुग एक वर्ष पढाए । त्यसपछि उनले कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालयमा इतिहास विषय लिएर पढे । सेमेस्टरमा पढेकाले जागिरलाई थाति राखे । २०३९ को अन्त्यतिर स्नातकोत्तर पनि पूरा गरे । २०३६ को अन्त्यतिर शुरु गरेका उनले स्नातकोत्तर पूरा गरेपछि भने सिधै धरानको महेन्द्र बहुमुखी क्याम्पसमा अध्यापक बने । हालसम्म उनी अध्यापकका रूपमा कार्यरत छन् ।

त्यो बेला धरानबाट डीनलाई भेट गर्नका लागि क्याम्पस प्रमुख कुमारबहादुर कार्की कीर्तिपुर गएका थिए । महेशकुमार उपाध्याय डिन थिए । उनैको आग्रहमा धरान आए । विद्यावारिधिको रहर पनि नपलाएको होइन, काम शुरु पनि गरे । तर परिस्थितिले उनलाई साथ दिएन । जसले गर्दा अहिले उनलाई पछुतो लाग्छ । ‘त्योबेला धरानमा घर थिएन, डेरा गरी बस्नुपर्ने, केटाकेटीलाई पढाउनुपर्ने, आफू पनि कीर्तिपुर गएर डेरा लिएर पढ्नुपर्दा सम्भव भएन, परिस्थितिले साथ दिएन,’–उनी भन्छन् । तर, उनले विद्यावारिधिको आधाउधी काम भने सकेको बताउँछन् ।

पढाइलेखाइका कारण उनी कहिल्यै शिक्षकहरूबाट पिटाइ खानु परेन । तर, एकपटक भकुण्डो खेल्ने क्रममा एकपक्ष र अर्को पक्षबीचको विवादका कारण कुटाइ खाएको स्मरणमा छ । उनी भन्छन्, ‘हाम्रो पक्षका साथीहरूले कुटे, मैले कुटेको याद छैन । त्यही निहुँमा तात्कालीन प्रधानाध्यापक श्रीसकान्त चौधरीले छडीले कुटेको याद छ ।’ बाह्मणको छोरो संस्कृततर्फ चाहिँ ध्यान गएन भन्ने जिज्ञासामा उनी भन्छन्, ‘संस्कृततिर ध्यान गएको हो । कतिपय कुराहरू स्वअध्ययनबाटै पढेँ । डिग्री मैले लिइन ।’ संस्कृत धेरै अर्थमा राम्रो भएको उनको बुझाइ छ । अहिलेका विद्यार्थीहरूलाई उनको सुझाव छ, ‘नियमित अध्ययन, टेस्कबुक पढ्नुपर्छ । इतिहास, राजनीति शास्त्र भूगोलजस्ता विषय पनि खोजीखोजी पढ्नुपर्छ । नैतिक शिक्षा हराएर गएको छ । यस्ता विषयमा पनि विद्यार्थीको ध्यान हुनुपर्छ ।’