पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चरेमा अवस्थित सिमसार क्षेत्रको प्रवद्र्धनमा चासो देखाउँदै कोरियन टोलीले अवलोकन गरेको छ ।

कोरियाली अधिकारी मिस्टर गिलो सङको अगुवाइमा एनके प्यानलका प्रेसिडेन्ट डीएल नेम्वाङ, मेनेजिङ डाइरेक्टर भीम सम्बाहाम्फेसहितको टोलीले पथरी शनिश्चरे–१ स्थित शान्ति भुल्के सिमसारको अवलोकन गरेको हो । नगरप्रमुख दिलिपकुमार राईले नगरक्षेत्रमा दर्जन वढी सिमसार बन्ने क्रममा रहेको जनाउँदै वनसहितको सिमसार पर्यटनले नगरको चिनारी झल्काउन सहयोगीहरूसँग सहकार्यका लागि नगरपालिका तयार रहेको बताएका छन् । उनले टोलीसँग भने, ‘यहाँको यसखाले सुन्दर सम्भावनालाई कोरियाले सहयोग पु¥याइदेओस् ।’ उनले नगरपालिकाले समेत सिमसार प्रवद्र्धन गर्ने भएको बताए । वन तथा सिमसार पर्यटनको विशेषताले नगर चिनाउने योजनामा आफूहरू रहेको उनले सुनाए ।

डा.देउमान सम्बाहाम्फेको चासोमा नगरपालिकासँगको समन्वयमा कार्यक्रमको पहल गरेपछि टोली अवलोकनका लागि आएको हो । नगरमा शान्ति वनको भुल्केका साथै पशुपति वनको बाघे, श्रीजङ्घा धार्मिक वन, मनकामना वन, हरियाली वन, सुन्दर वनको सिमसारसहितका सिमसार पोखरी निर्माण भएका छन् । अन्य सिमसारसमेत निर्माणको पहल भइरहेको छ ।

कोरियाको ‘इन्चन’ बजार र पथरीशनिश्चरेबीच भगिनी सम्बन्धको पहलका क्रममा टोली आएको हो । टोलीले नगरको मनोरञ्जनसहितको पर्यटन क्षेत्रको सम्भाव्यता बारेमा अवलोकन गरी त्यहाँको सरकारसँग प्रतिवेदन पेश गर्ने टोलीका सदस्य भीम सम्बाहाम्फेले जनाए । कोरियाली सरकारको टिमले झापाको शिवसताक्षी नगरपालिकामा भने एनके प्यानलमार्फत् काम शुरु गरेको पनि उनले उल्लेख गरे ।