खार्तुम/ सुडानको राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर धर्नामा बसेका प्रदर्शनकारीलाई हटाउनेक्रममा सेनाले गोली चलाउँदा पाँच जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

राजधानीका सबैजसो क्षेत्रमा मेसिनगन जडान गरिएका ठूलो सङ्ख्यामा सैनिक ट्रकसहितको टोलीको बाक्लो उपस्थिति रहेको छ । सैनिक शासन विरुद्ध प्रदर्शनकारीहरू सैनिक मुख्यालय बाहिर र शहरका मुख्य प्रशासनिक केन्द्र वरपर महिनौंदेखि अबरोधहरू खडा गरेर धर्नामा बसेका छन् ।

संयुक्तराज्य अमेरिका र बेलायतले प्रदर्शनकारीमाथि दमन नगर्न सुडानको सेनालाई आग्रह गरेका छन् । यी दुबै मुलुकले नागरिकलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न निरन्तर दबाव दिइरहेका छन् । सेनाको वर्तमान नेतृत्वले सेनाकै सहयोगमा ३० वर्ष शासन गरेका राष्ट्रपति ओमार अल बसिरलाई सत्ताच्यूत गरेका थिए । प्रदर्शनकारीको पक्षमा उभिएको सुडानी चिकित्सकको केन्द्रीय कमिटीले सेनाको गोली लागेर पाँच जना प्रदर्शनकारीको ज्यान गएको जनाएको छ ।

चिकित्सक टोलीले सैनिक कारबाहीबाट अरु धेरै व्यक्ति घाइते भएको जनाएको छ । प्रदर्शन स्थलमा लगातार बन्दुक पड्किएको आवाज आएको पनि एएफपीका पत्रकारले जनाएका छन् । सुडानी प्रफेसनल एसोसिएसन (एसपीए) ले सेनाले ‘रक्तपातपूर्ण आमहत्या’ गरेको आरोप लगाउँदै सैनिक शासनलाई पूर्ण रुपमा असफल तुल्याउन ‘नागरिक अवज्ञा’ गर्न आह्वान गरेको छ । सेना र प्रदर्शनकारीबीच नागरिकलाई सत्ता हस्तान्तरण गर्न शर्तसहितको सहमति भए पनि प्रदर्शन रोकिएका छैनन् ।